२२ असार, काठमाडौं । नेपालका चार धाममध्ये एक मानिने महाकाली नदी किनारस्थित ‘परशुराम धाम’ नेपालको सुदूरपश्चिम प्रदेशको डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका–५ परिगाउँमा अवस्थित एक प्रख्यात धार्मिक स्थल हो । यस स्थानलाई भृगुवंशी महर्षि जगदग्नी र रेणुका पुत्र भगवान परशुरामको तपस्या स्थलका रूपमा लिइन्छ ।
यहाँ प्राचीनकालदेखि नै परशुरामले तपस्या गर्नुभएको भन्ने जनविश्वास छ । यस कारण यो धाम हिन्दू धर्मावलम्बीहरूका लागि एक प्रमुख तीर्थस्थल हो । ‘सबै तीर्थ पटक–पटक, परशुराम एकपटक’ स्कन्दपुराणको मानसखण्डमा उल्लिखित यो भनाइले परशुरामधामको धार्मिक महत्व अझ बढाउँछ ।
डडेलधुरा जिल्लाको दक्षिण–पश्चिम, डडेलधुरा तथा कञ्चनपुर जिल्लाको सिमानामा अवस्थित परशुराम धाम डडेलधुरा बजारदेखि करिब १०० कि.मि. टाढा रहेको छ । परशुरामधामको गुरुयोजना अनुसार परशुरामधाममा परशुरामको ५४ फिट अग्लो मूर्ति स्थापना गरिएको छ । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो पवित्र तीर्थस्थल क्षेत्र एला र श्यामा नदीको सङ्गममा अवस्थित छ । यहाँ विशेष दिनहरूमा धार्मिक मेला पनि लाग्ने गर्दछ ।
प्राचीन समयमा भगवान विष्णुको छैटौँ अवतारका रूपमा परशुराम जन्मनुभएको थियो । उहांले संसारभर फैलिएको अधर्म र अन्याय नष्ट गर्न अनेक क्षत्रिय राजाहरूलाई पराजित गर्नुभयो । धेरै युद्धपछि, परशुरामलाई आफूले अत्यधिक रक्तपात गरेको महसुस भयो । पाप बोधले उहाँले हिमालयतिर प्रस्थान गर्नुभयो र अहिलेको डडेल्धुरामा रहेको परशुराम धाममा तपस्या गर्न थाल्नुभयो । उहाँ लामो समयसम्म कठोर तपस्या गरेर आफ्नो मन र शरीरलाई शुद्ध पार्नुभयो । अन्ततः भगवान शिव प्रसन्न भएर उहाँलाई दर्शन र आशीर्वाद दिनुभयो । त्यसैले यो स्थानलाई पवित्र मानिन्छ र हजारौं भक्तजन यहाँ आएर आफ्नो पाप क्षमाका लागि समेत प्रार्थना गर्छन् ।
परशुराम तीर्थमा स्नानको निकै ठूलो महत्व रहेको छ । गंगास्नानको समान पुण्य प्राप्त हुने पौराणिक मान्यता छ । स्नानसँगै पितृ कार्य, देव पूजन, यज्ञयज्ञादि विधिपूर्वक गर्ने गरिन्छ । यज्ञादिसँगै विवाह, व्रतबन्ध आदि संस्कार र अनुष्ठान गर्ने गरिन्छ । रथ पूजनको विशेष महत्व रहेको छ । विष्णु कुण्डमा विष्णु, वामदेव, कुण्डमा शिव, परशुराम कुण्डमा परशुराम भगवानको पूजा र नदीतटमा रहेको शिवलिंगमा शिवपूजनको विशेष महत्व रहेको छ । पवित्र वामघाटमा अन्तेष्टि संस्कारको पनि उत्तिकै महत्व रहेको छ ।
विशेषगरी माघ १ गते र श्रावण महिनामा यहाँ धार्मिक मेला लाग्ने गर्दछ । पाप क्षमाका लागि यहाँ ठूलो संख्यामा भक्तजनहरूको भीड लाग्ने गर्छ । त्यसबाहेक साउने सोमवाार, अक्षय तृतीया र शिवरात्रि, ग्रहणका बेला मेला लाग्छ । यो ठाउँ हरियाली, शान्त वातावरण र रमणीय प्राकृतिक दृश्यले पनि निकै आकर्षक छ ।







