भाद्र १५, काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित कागेश्वरी महादेव मन्दिरमा भक्तजनहरूको घुँइचो लागेको छ । हरेक वर्ष भाद्र शुक्ल अष्टमी(कागे अष्टमी)को दिन लाग्ने धार्मिक मेला भर्नका लागि सोही मन्दिर परिसरमा भक्तजनहरूको भीड लागेको हो ।
कागेश्वरीलाई प्राचीनकालदेखि नै हिन्दु, बोन परम्परा, बौद्ध धर्म र तान्त्रिक साधनाको संगमस्थल मानिन्छ ।
आजको दिन कागले छोएको वा स्पर्श गरेको मानिसले यस मन्दिरमा गएर पूजा-आराधना र दर्शन गरेमा पापबाट मुक्ति पाइन्छ भन्ने विश्वास छ । यो मान्यताको कारण कागे अष्टमीको दिन यहाँ ठूलो मेला लाग्छ र हजारौँ भक्तजनहरूको भीड लाग्ने गर्दछ । गोसाइँकुण्डको यात्रा गर्ने भक्तजनले त्यहाँबाट ल्याएको जल कागेश्वरी महादेवलाई चढाएपछि मात्र उनीहरूको धार्मिक यात्रा पूरा हुने विश्वासले गोसाइँकुण्ड जाने भक्तजनहरू पनि यहाँ आउने गर्छन्।
यस मन्दिरमा हरियो मकै चढाउँदा कागले बारीमा लगाएको मकै नखाने धार्मिक विश्वास पनि छ।
ऐतिहासिक धार्मिक स्थल कागेश्वरी महादेव मन्दिरको नाम ‘काग’ र ‘ईश्वर’ मिलेर बनेको हो ।
पौराणिक कथाअनुसार, एक कागले गाईको दूध पहरामा रहेको शिवलिंगमा चढाएको देखेपछि त्यस ठाउँमा खोजी गर्दा महादेवको मूर्ति फेला परेको थियो। यसैले कागलाई यस मन्दिरमा विशेष महत्व दिइन्छ र मन्दिर परिसरमा अष्टधातुबाट बनेको ठूलो कागको मूर्ति पनि राखिएको छ।
कागेश्वर महादेवको मन्दिरमुनि र माथिसमेत आकर्षक छहरा एवम् झर्नाले यहाँ आउने जोसुकैको मन लोभ्याउने गरेको छ । यस क्षेत्रबाट राजधानी काठमाडौंको दृष्यावलोकन समेत गर्न सकिन्छ ।


















