SamwadKhabar logo

               

विचार

तिहार–एकात्मताको प्रतीक पर्व

विजयप्रसाद मिश्र

विजयप्रसाद मिश्र

तिहार–एकात्मताको प्रतीक पर्व

✍🏻विजयप्रसाद मिश्र

तिहार, नेपाली समाजको प्रमुख पर्व, सांस्कृतिक रङ्गहरूको बेजोड उत्सव हो, जहाँ प्रकृति, पशुपक्षी, मानव र दिव्य शक्तिहरू एकसाथ सम्मानित हुन्छन् । यो पर्व केवल धार्मिक वा सांस्कृतिक मात्र होइन, एकात्मताको जीवन्त प्रतीक हो । एकात्म मानवदर्शनले सम्पूर्ण जीवनलाई एकात्मक रूपले हेर्ने दृष्टिकोण प्रदान गर्छ, जहाँ व्यक्ति, समाज, प्रकृति, समग्र सृष्टि र परमात्मा एक–अर्कासँग गहिरो सम्बन्धमा बाँधिएका हुन्छन् । यस दृष्टिकोणअनुसार, तिहार कुनै साधारण उत्सव मात्र होइन; यो मानव जीवन र प्रकृतिको सन्तुलन, सहअस्तित्व, सम्मान र परस्पर सहयोगको एक उत्कृष्ट अभिव्यक्ति हो ।

तिहारको हरेक दिन, हामीलाई भौतिक, आध्यात्मिक र सामाजिक दृष्टिकोणमा जीवनलाई गहिरोसँग बुझ्न र अनुशासित रहन प्रेरित गर्दछ । यस पर्वको सार्थकता केवल हर्षोल्लासमा सीमित छैन, यसले जीवनको गहिरो सत्य, मानवता र प्रकृतिको सन्तुलनलाई मनाउने सुअवसर दिन्छ । यदि हामी एकात्म मानवदर्शनको दृष्टिकोणलाई आत्मसात् गर्छौं भने, तिहार मात्र एक पर्व होइन, जीवनको सार्थक यात्रामा प्रकाशस्तम्भझैँ एक मार्गदर्शक बनेर उभिनेछ 

 १. पशु–पंक्षी र मानवको सहअस्तित्व

हिन्दू संस्कृतिले सबै प्राणीबीचको सहअस्तित्वलाई आत्मसात् गरेको छ । यसैको प्रतीकका रूपमा हामी तिहारको पहिलो दिन कागको पूजा गर्छौँ । कागलाई यमराजको दूत मानिन्छ । र कार्तिक त्रयोदशीका दिन कागको पूजा गरिनु त्यसको भूमिकालाई सम्मान गर्नु हो । कागलाई हाम्रो दैनिक जीवनमा सूचना वाहक र सम्पर्ककर्ताका रूपमा हेर्नु, त्यसको महŒवलाई बुझ्न र स्वीकार्न‘ समग्र जीवप्रति एकात्मताको भावलाई अनुमोदन गर्नु हो । कागबाट आफ्नो उद्देश्य प्राप्तिका लागि ‘चेष्टा’ सिक्नु भनी हितोपदेशमा हामीले पढेका छौँ । कागमा सामुहिकता हुन्छ । कुनै पनि कागले एक्लै खाऊँ भन्दैन, आफ्नो समूहलाई डाक्छ । कागले सडेगलेको पनि खान्छन् । एक प्रकारले प्रकृतिलाई स्वच्छ पार्ने काम गर्छन् । यसदृष्टिले काग पर्यावरणलाई हित गर्ने पक्षी हो । हामीले सिक्न खोजे कति हो कति रहेछ कागबाट । पूजा गर्नु भनेको गुणको सम्मान गर्नु हो, र त्यो गुणलाई आत्मसात् गर्न तत्पर हुनु पनि हो । मानव गुणग्राही बन्नुपर्छ ।

त्यस्तै, नरक चतुर्दशीका दिन मनाइने कुकुर तिहारले पशु र मानवबीचको सहअस्तित्वलाई समेत उजागर गर्दछ । कुकुरबाट हामीले निष्ठावान हुन सिक्छौँ । श्वानको झैँ निद्रा होस्, अर्थात् चनाखो भइ सुत्नु भनी हितोपदेशले भनेको छ । कुकुरलाई रक्षकका रूपमा पनि पालिन्छ । यस दृष्टिले यो मानवको सच्चा साथी हो । हिन्दू परम्परामा कुकुरलाई भैरवको वाहनका तथा दत्तात्रेयका साथीका रूपमा पनि पूजा गरिन्छ । यसरी तिहारले हामीलाई प्रकृतिका सबै प्राणीप्रति कृतज्ञता व्यक्त गर्न सिकाउँछ । यद्यपि पञ्चयज्ञलाई आत्मसात् गरेका परिवारका लागि यो दैनिक जीवनकै एउटा पाटो हो । एकात्म मानवदर्शनको आधारभूत मान्यता भनेकै हामी सबै सजीव प्राणीहरू एकै सृष्टिका अङ्ग हौं, एउटै परमेष्टिका अंश हौँ र यी सबैप्रति आदर भाव राख्नुपर्छ ।

हिन्दू संस्कृति तेजोमय छ । यहाँ हामी प्रत्येक प्रणी परम ज्योतिर्मय परमात्मारूपी तेजका साना–साना फिलुङ्गा हौँ भन्ने भाव अन्तर्निहित छ । यसैले यहाँ यज्ञलाई, यज्ञको दिव्य अग्निशिखालाई पुरोहित अर्थात् शरीर र समाजरूपी पुरको हित गर्नेका पुरोधाका रूपमा स्वीकारिन्छ ।

 २. यमपञ्चक र समयको महŒव

यमपञ्चकको अवधिमा समयको महŒवलाई पनि गहन बोधका साथ मनाइन्छ । यमराज, मृत्युका देवता, काल हुन् । तिनै मृत्यु, जसबाट उपनिषद्का जिज्ञासु बालक नचिकेताले जीवनको मर्म बुझेका थिए । योगदर्शनमा ‘यम’ जीवनलाई सुन्दर बनाउने साधना हो । यमदीपदान, त्यस साधनालाई पनि उज्यालो पार्नु हो । काल समयको द्योतक हो । यमलाई सूर्यको पुत्रका रूपमा चित्रण गरिनुका पछाडि यही अर्थ लुकेको छ । स्पष्ट छ, सूर्यकै कारण समय निर्धारण गरिन्छ पनि । ‘यमदीपदान’ मार्फत् यमराजलाई दीप बालेर पूजा गर्न‘, आफूले जीवनका रूपमा पाएको समयलाई उज्यालो र सदुपयोगी बनाउनुपर्छ भन्ने जीवनदर्शनको विम्ब हो । समयलाई सृष्टिको महŒवपूर्ण आधार मानिन्छ । जीवनको प्रत्येक पललाई सदुपयोग गर्न‘पर्छ भन्ने कुरा छर्लङ्ग पार्ने तिहारको यो पक्षले जीवनका हरेक क्षणलाई सार्थक बनाउन प्रेरित गर्दछ ।

 ३. आयुर्वेदका जनकको जन्मदिन

यमपञ्चकभित्रै हामी आयुर्वेदका जनक धनवन्तरीको उपासना पनि गर्दछौँ । आयुर्वेद पूर्णतः प्रकृतिमैत्री रहेर जीवन जिउन उत्साहित गर्ने पावन जीवनशैली हो । यो आयुलाई सार्थक बनाउने वेदज्ञान हो । यसका जन्मदाता धन्वन्तरीको नाउँमा रहेको धन शब्दले स्वास्थ्य नै धन हो भन्नेतिर सङ्केत गरेको होला भनी बुझ्नु आफैमा हाम्रो बुद्धिमता हुनेछ । त्यस्तै, स्वास्थ्यरूपी धन पर्यावरण र प्रकृतिरूपी धनको प्रसन्नतामा निर्भर हुन्छ भन्ने कुरा प्रकृतिनिकट रहेको आयुर्वेद शास्त्रले बताउँछ । यहाँ पनि हामी एक्लो छैनौँ, पर्यावरण, परिवेश सबैसित हाम्रो आत्मा गाँसिएको छ भन्ने भाव लिनसक्छौँ । मानवले सुन्दर समुन्नत जीवनका लागि एकात्मताको भावलाई आत्मसात् गर्नैपर्छ भन्ने कुरा बुझ्न अपरिहार्य छ ।

 ४. गाई र गोवर्धन पूजाः अर्थतन्त्र र प्रकृतिप्रति कृतज्ञता

तिहारको तेस्रो दिन गाईको पूजा गरिन्छ । गाईले संसारलाई बनाएको त होइन, तर गाईमा सबैको पालनपोषण गर्ने शक्ति अवश्य छ । त्यसैले हाम्रो संस्कृतिमा “गावो विश्वस्य मातरः” —गाई विश्वकी आमा हुन् भनिएको छ । गाईले न केवल मानिसको, अपितु जनावर, चराचुरुङ्गी, नदी, ताल, खेत, वन, हावा, पानी, आकाश सबैको पालनपोषण गर्दछिन् । उनले यी सबैलाई शुद्ध र पवित्र राख्नमा सहयोग पु¥याउँछिन् । मान्यता के छ भने मानिसका धेरै रोग त गाईसँग समय बिताउँदा, उनलाई स्नेहपूर्वक सुम्सुम्याउदैमा नष्ट हुन्छन् । गोमूत्र नियमित सेवन गर्दा धेरैजसो रोग नष्ट हुन्छन् । गोबर उर्वरक मल हो जसले धर्तीलाई उन्नत बनाउँछ, कृषकलाई सुफल दिन्छ । उनले दिने प्रत्येक पदार्थ अमृतका गुणहरूले भरिपूर्ण हुन्छन् र जीवनदायी छन् । त्यसैले गाई र गोरुलाई कृषि अर्थतन्त्रको धुरीका रूपमा पनि लिइन्छ । गाईको गोबर र गहुँतलाई पवित्र मान्नु, त्यसको मानव स्वास्थ्यका लागि त्यसको महŒवलाई मान्यता दिनु हो । गाईबाट बिनाभेदभाव सबैका निम्ति उपकारी बन्नु भन्ने प्रेरणा पनि हामीले लिन सक्छौँ । यो त हिन्दू संस्कृतिको सर्वकल्याणकारी स्वरूपकै एउटा बिम्ब हो । एकात्मताको सजीव सूत्र हो । भगवान् श्रीकृष्णले मानव र प्रकृतिको सह–अस्तित्वलाई सम्मान गर्दै, गोवर्धन पर्वतको पूजा गरेर कृषिप्रधान संस्कृतिको अभिनन्दन गर्न‘भएको थियो । एकात्म मानवदर्शनले पनि अर्थतन्त्रलाई केवल भौतिक सम्पत्ति नभई, प्रकृतिप्रतिको सम्मान र सन्तुलनको रूपमा हेर्छ । उन्नतिको आकांक्षा गर्ने हामी सबैको ध्यान यतातिर जान आवश्यक छ ।

 ५. भाइटीका ः पारिवारिक सम्बन्ध र सामाजिक जिम्मेवारी

तिहारको पाँचौं दिन, भाइटीका मनाइन्छ । यो दिदी–बहिनी र दाजु–भाइको पवित्र सम्बन्धको सम्मान र आदरको प्रतीक हो । यो पर्व मात्र एक संस्कार होइन, यसले समाजमा नारीको सम्मान, सुरक्षाको जिम्मेवारी र भाइबहिनीको आपसी प्रेमलाई गहिरो अर्थमा प्रकट गर्दछ । एकात्म मानवदर्शनको प्रमुख लक्ष्य भनेको समाजका हरेक सदस्यलाई परस्पर सहयोग र सम्मानको भावनामा बाँध्नु हो । सप्तरङ्गी टीकाले जीवनलाई उल्लासमय र यशस्वी बनाउनतर्फ प्रेरित गर्छ । त्यस्तै, जीवन सधैँ फक्रिएको होस्, ओइलाउनु पर्ने अवस्था नआओस् भन्ने कामनालाई मूर्तरूप दिने बिम्ब बन्दछ मखमली फूलको माला । यस दिन भाइहरूले दिदी–बहिनीलाई उपहार दिन्छन् । त्यो उपहार केवल भौतिक होइन, भावनात्मक सुरक्षाको वाचा पनि हो । यो स्वतः सबैले आत्मसात् गर्नुपर्ने सामाजिक दायित्व हो ।

 ६. तेजोपासक हिन्दू संस्कृति

हिन्दू संस्कृति तेजोमय छ । यहाँ हामी प्रत्येक प्रणी परम ज्योतिर्मय परमात्मारूपी तेजका साना–साना फिलुङ्गा हौँ भन्ने भाव अन्तर्निहित छ । यसैले यहाँ यज्ञलाई, यज्ञको दिव्य अग्निशिखालाई पुरोहित अर्थात् शरीर र समाजरूपी पुरको हित गर्नेका पुरोधाका रूपमा स्वीकारिन्छ । तेजस्वीतालाई जीवनको अभिन्न पाटोका रूपमा आत्मसात् गरिन्छ । प्रत्येक मङ्गलमय प्रसङ्गमा दीपोत्सव गरिन्छ । दीपोत्सव तिहारको एउटा अभिन्न पाटो हो । यसले चेतनाको दियो बालेर अज्ञान, निर्धनता र विभेदका अन्धकार पञ्छाउन प्रेरित गर्दछ । दीप्यते दीपयति वा स्वं परं चेति, जसले आफूलाई प्रकाश दिन्छ र अरूलाई पनि उज्यालो पार्छ, त्यही दीप हो । एउटा देदीप्य दीपद्वारा अगणित दियो बाल्न सकिन्छ भन्ने भाव–ज्योति यसले दिन्छ । एकात्मताको भावना लिएर अघिबढ्न यस्तो दीपावली प्रत्येक पल भइरहनुपर्दछ । अनि मात्र धर्मको जय हुनेछ, अधर्मको नाश हुनेछ, प्राणीबीच सद्भावना बढ्नेछ र विश्वको कल्याण हुने सुनिश्चित् छ ।

हामी हाम्रो राष्ट्रलाई हाम्रो समाजको समृद्धशाली सम्पत्तिको स्वामी बनाउन चाहन्छौं भने, हामी सबैले एकजुट भएर गरीबी र दरिद्रताको कारणहरूलाई जरैदेखि उखेल्नुपर्छ । जब देशको आर्थिक स्थिति सबल हुनेछ, हाम्रो व्यापार र उद्योगहरूको विकास हुनेछ, अन्य स्थानबाट सम्पत्तिको प्रवाह हाम्रो देशतर्फ हुनेछ, तब मात्रै हामी सबैले समृद्धि र वैभवसहितको जीवन बिताउन सक्नेछौं । यही हो लक्ष्मीको वास । यसैमा छ दिव्यताको  सुवास । दीपावलीको वास्तविक सन्देश यही हो ।

 निष्कर्ष

तिहारमा काग, कुकुर, गाई र गोरुजस्ता प्राणीहरूलाई पूजा गर्न‘, उनीहरूलाई आदर दिनु एकात्म मानवदर्शनको व्यावहारिक उदाहरण हो । ‘आत्मवत् सर्वभूतेषु’ भन्ने सनातन धारणा यहाँ चरितार्थ हुन्छ । यस दर्शनअनुसार, सबै प्राणीहरूमा आत्मा रहेकोले उनीहरूप्रति आदर, सम्मान र करुणा प्रकट गर्न‘पर्छ । तिहारले हामीलाई के सिकाउँछ भने मानव मात्र होइन, हरेक सजीव प्राणीका साथ सह–अस्तित्वमा बाँच्नुपर्छ, उनीहरूको भूमिका जीवनमा महŒवपूर्ण छ । तमसले आच्छादित आजको समयलाई पुनः ज्योतिर्मय बनाउनमा एकात्म मानवदर्शनले झैँ तिहार पर्वले पनि जीवनका विभिन्न आयामहरूलाई एकसाथ जोडेर हेर्न हामीलाई प्रेरित गर्दछ । तिहारको हरेक दिन, हामीलाई भौतिक, आध्यात्मिक र सामाजिक दृष्टिकोणमा जीवनलाई गहिरोसँग बुझ्न र अनुशासित रहन प्रेरित गर्दछ । यस पर्वको सार्थकता केवल हर्षोल्लासमा सीमित छैन, यसले जीवनको गहिरो सत्य, मानवता र प्रकृतिको सन्तुलनलाई मनाउने सुअवसर दिन्छ । यदि हामी एकात्म मानवदर्शनको दृष्टिकोणलाई आत्मसात् गर्छौं भने, तिहार मात्र एक पर्व होइन, जीवनको सार्थक यात्रामा प्रकाशस्तम्भझैँ एक मार्गदर्शक बनेर उभिनेछ ।

 

ताजा

सबै

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

स्वास्थ्यमा जाइफलको महत्व

जाइफल जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि ज…

निर्वाचन प्रहरीको छनोट प्रक्रिया आजदेखि सुरु

५ माघ, काठमाडौं ।सशस्त्र प्रहरी बल नेपालअन्तर्गत काठमाडौंस्थित कार्यालयमा दरखास्त दिएका…

लोकप्रिय

सबै

जनक छात्रावासको ११औँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

३ माघ, जनकपुरधाम ।जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित जनक छात्रावासको एघारौँ वा…

भक्तपुरको सूर्यमढीमा ‘ङालाकेगु जात्रा’

२ माघ, काठमाडौं । सूर्यमढीमा आज धार्मिक महत्त्वको तान्त्रिक विधियुक्त प्रसिद्ध नवदुर्गा द…

हिन्दू स्वयंसेवक संघ नेपालद्वारा मकर सङ्क्रान्ति उत्सव सम्पन्न

हिन्दू स्वयंसेवक संघ नेपाल, काठमाडौंले साँखुस्थित शालिनदी किनारमा भव्यताका साथ मकर …

नागरिक लगानी कोषद्वारा पुनर्निर्माण कोषमा ५१ लाख रुपैयाँ सहयोग

२ माघ, काठमाडौं ।नागरिक लगानी कोषले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा ५१ लाख रुपै…

यो पनि

भोजन संस्कार

भोजन संस्कार

भोजन हाम्रो व्यक्तिगत परिश्रमबाट मात्र प्राप्त भएको होइन । यो एउटा लामो समयको प्रक्रियाब…

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह: अखण्ड नेपालका सूत्रधार

राष्ट्रनिर्माता पृथ्वीनारायण शाह एक दूरदर्शी चिन्तक, कुशल रणनीतिकार र अजेय योद्धा थिए।…

जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

जन्मजयन्ती विशेष: कविशिरोमणि लेखनाथ पौड्‌याल

✍उर्मीला घिमिरे (इटहरी, सुनसरी उत्तरमा उन्नत अन्नपूर्णा र माछापुच्छे हिमशंखला बीचमा स…

तिहार–एकात्मताको प्रतीक पर्व

तिहार–एकात्मताको प्रतीक पर्व

✍🏻विजयप्रसाद मिश्र तिहार, नेपाली समाजको प्रमुख पर्व, सांस्कृतिक रङ्गहरूको बेजोड उत्सव …