बीमा कम्पनीहरूद्वारा जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा पौने ३ अर्ब भुक्तानी
१२ कार्तिक, काठमाडौं । जेनजी आन्दोलनमा भएको क्षतिको दाबीमा बीमा कम्पनीहरूले पौने ३ अर्ब भुक्तानी दिएका छन् ।
बीमा प्राधिकरणले जेनजी आन्दोलको क्षतिमा बिमितलाई दाबीको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी गर्न निर्देशन दिएपछि बिमकहरूले उक्त रकम भुक्तानी दिएका हुन् ।
२३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा आगजनी, तोडफोडका कारण भएको क्षतिमा दाबी परेको रकमको ५० प्रतिशतसम्म अग्रिम भुक्तानी दिने व्यवस्था गर्न प्राधिकरणलाई सरकारले निर्देशन दिएको थियो ।
सरकारको निर्देशनपछि प्राधिकरणले पनि बीमा बिमितलाई सहजताका लागि अग्रिम भुक्तानी दिन भन्यो । सोही अनुसार बीमा कम्पनीले आवश्यक मूल्यांकन गरी २ अर्ब ७९ करोड ७४ लाख रुपैयाँ अग्रिम दाबी भुक्तानी दिएका हुन् ।
तर, प्राधिकरणका अनुसार हालसम्म उक्त आन्दोलनमा आफ्नो सम्पत्तिमा क्षति पुगेको भन्दै बिमितले २३ अर्ब २३ करोड ३७ लाख रुपैयाँ बराबर दाबी गरेका छन् । प्राधिकरणका अनुसार उक्त अग्रिम दाबी भुक्तानी १५ बीमा कम्पनीले मात्र गरेका छन् । सञ्चालनमा रहेका १८ निर्जीवन बीमा कम्पनीमा कुल ३ हजार १ सय ८७ बिमितले दाबी भुक्तानी माग गरेका छन् ।