६ पौष, काठमाडौं । शहरी विकास मन्त्रालय अन्तर्गत रहेको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौंका नदीहरूमा तैरिने फोहोर पदार्थ संकलन गर्न ट्रास बेरियर जडान गरेको छ । फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समितिले बागमती नदीका गोकर्ण ब्यारेज, गुह्वेश्वरी, तिलगंगा आँखा अस्पताल, बागमती मनहरा दोभान, यूएन पार्क र मनोहरा नदीको कर्मनाशा दोभानमा १–१ गरी जम्मा ६ स्थानमा ट्रास बेरियर राख्न लागिएको हो ।
हाल गुह्वेश्वरीमा ट्रास बेरियर जडान कार्य सम्पन्न भएको छ ।
करिब ६५ लाखमा ठेक्का सम्झौता भएको ट्रास बेरियरले नदीको सतहमा तैरिने प्लास्टिक, पोलिथिन, बोतल, काठका टुक्रालगायत फोहोर वस्तुहरूलाई रोक्ने र एक निश्चित स्थानमा जम्मा गराउने काम गर्दछ ।
काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा र धोबीखोलाजस्ता नदीहरूमा शहरीकरण, अव्यवस्थित फोहोर व्यवस्थापनका कारण ठूलो मात्रामा तैरिने फोहोर बग्ने गरेको पाइएकाले यस्ता नदीहरूमा ट्रास बेरियर जडान गर्दा नदीको बहावलाई अवरुद्ध नगरी फोहोर मात्र निकाल्न सकिन्छ । जसले गर्दा नदी प्रदुषण न्यूनीकरण गर्न सहयोग पुग्दछ ।
ट्रास बेरियरबाट संकलित फोहोरलाई नियमित रूपमा निकालेर वर्गीकरण, पुनःप्रयोग तथा सुरक्षित रूपमा व्यवस्थापन गर्न समेत सकिन्छ । यसले नदी प्रदुषण न्यूनीकरण गर्नुका साथै नदीको सौन्दर्य, जलजीवको संरक्षण र सार्वजनिक स्वास्थ्यमा सकारात्मक योगदान पुग्ने देखिन्छ ।