✍उर्मीला घिमिरे (इटहरी, सुनसरी
उत्तरमा उन्नत अन्नपूर्णा र माछापुच्छे हिमशंखला बीचमा सुन्दर हरियालीले शोभयमान होचा-अग्ला डाँडा, दक्षिणतिर कलकल निनाद गर्दै प्रवाहित श्वेत अतराशीले समुद्ध सेती गण्डकी एवं बेगनास, खाष्टे, मैदी, दीपांग, मुद्दे, रूपा लगायतका तालहरूले सजिएको मनमोहक इश्यले भरिभराउ कास्कीको अर्घौअर्चले । यस्तो प्राकृतिक छटाले सम्पन्न लोकमा साहित्यिक चेत भएको कसैको पनि मन काव्य रचनाका लागि लालायित नहुने कुरै भएन । प्रकृतिको यही सुन्दर काखलाई आफ्नो गुरुतर व्यक्तित्वले सुसज्जित तुल्याउन जन्म भएको थियो लेखनाथ पौड्यालको । १९४१ साल पुस १५ गतेको त्यो शुभदिन, आफूले सहेको प्रसव वेदनालाई पनि सुखद् ठानेकी हुनुपर्छ आमा बसुन्धरादेवीले । 'कुलं पवित्र जननी कृर्ताथा'को बोध भएका पं. दुर्गादत्तले आफूमात्र नभएर आफ्नो समग्र वंशकै शिर सगर्व उन्नत भएको अनुभव गरेको हुनुपर्छ। नेपाली साहित्यका कविशिरोमणिको शैशवकाल त्यही अर्घौअर्चलेमा बितेको थियो, जुन आज उनकै नामले चिनिने लेखनाथ नगरपालिका बनेको छ ।
शिक्षा
पाँच वर्षको उमेरमा अक्षराम्भ गरेका लेखनाथले त्यही बेलादेखि नै गङ्गा-गणेशस्तोत्र, अमरकोश, दुर्गासप्तशतीलगायतका शास्त्रहरूका संस्कृत श्लोकहरू पढ्न थालेका थिए । त्यस कालखण्डमा गाउँघरमै बसेर अनौपचारिक रूपमा अध्ययन गर्ने चलन थियो। औपचारिक शिक्षा लिने विद्यालयहरू थिएनन्। प्रारम्भिक तहको औपचारिक शिक्षा लिनका पनि काठमाडौं पुग्नुपर्ने हुन्थ्यो भने उच्च शिक्षा हासिल गर्न त नेपालबाहिर बनारस, कलकत्ता, पटनालगायतका ठाउँसम्म पुग्नुपर्ने हुन्थ्यो ।
लेखनाथ पौड्यालले प्रारम्भिक तहको औपचारिक शिक्षा तीनधारा पाठशाला, काठमाडौबाट प्राप्त गरेका थिए। उच्च शिक्षाको लागि भारतको बनारस नै पुगेका उनले बनारसबाट मध्यमा तहको शिक्षा पूरा गरेका थिए । साहित्य र व्याकरणको राम्रो अध्ययन उनमा थियो तापनि न्यायमुक्तावलीको दर्शनपत्रको राम्रो अध्ययन हुन नपाउँदा सो परीक्षामा उनले सफलता पाउन सकेनन् । यसरी उनको विद्यार्थी जीवन टुङ्गिएको भए पनि उनी एक कुशल अध्येता हुनाले निजी अध्ययन र लेखन दिनप्रतिदिन बढ्दै गयो। फलतः सस्कृत र नेपाली दुवै भाषामा उनले कविता लेख्दै गए। कवि शिरोमणिको बौद्धिक प्रखरता एवम् संस्कृत भाषाको विशिष्टता भने औपचारिक डिग्रीको तुलनामा निकै उच्च थियो ।
साहित्य यात्रा
लेखनाथलाई नौ वर्षको उमेरदेखि कविता लेख्ने प्रेरणा मिलेको थियो। उनका काका पर्ने पितृप्रसादका हप्काइबाट उनी इखिएका थिए, त्यसैले उनको बालमस्तिष्कमा कवि बन्ने विद्रोही चेतको उदय भएको थियो । कदाचित् त्यसै बेलादेखि उनले काव्यरचनाप्रति उन्मुख बन्ने अस्पष्ट सङ्कल्प गरेका थिए । त्यसमाथि दधिराम मरासिनीको स्नेह, सहयोग र सद्भावनाले उनलाई काव्य सिर्जनाको लेखनविन्दुसम्म पु¥याएको थियो ।
अध्ययनकालको गर्जो टार्न उनले बनारसबाट निस्कने सुक्तिसुधा र कविताकल्पद्रुममा संस्कृत र नेपालीका कविता पठाउने गर्दथे। कविताकल्पद्रुममा लेखनाथ पौड्यालका दुई कविता 'श्रृङ्गारपच्चीसी' र 'मानसाकषिर्णी' पाइन्छन्, जुन वि.सं. २०६१–६२ तिर प्रकाशित भएका थिए । वि.सं. १९६९ मा पाँचवटा कविता ‘लालित्य’ नामक कवि शिरोमणिको र चक्रपाणि चालिसेका कवितासहितको संयुक्त किवता सङ्ग्रहमा प्रकाशित भएका थिए । कविशरोमणिले चक्रपाणि चालिसेसँग मिलेर ‘शिशुबोधिनी’ नामक बाल साहित्यको पाठ्यपुस्तकको पनि निर्माण गरेका थिए ।
नेपाली भाषामा स्तरीय कविता लेख्न सकिदैन भन्ने भ्रम चिर्न 'वर्षा विचार' उनको नेपालीमा लेखिएको पहिलो कविता थियो। दसै, तिहार, ईश्वरस्तुति, हिउँदका दिन, पिंजराको सुगा, जीवन चंगा, मुरलीमोह, कालमहिमा, गौंथलीको चिरिविरी आदि फुटकर कविता र शोकप्रवाह खण्डकाव्यको रचना गरी भाव एवं कला दुवै पक्षबाट परिस्कारोन्मुख बन्दै उनले १९७३ सालमा 'ऋतुविचार' खण्डकाव्य नै प्रकाशित गरेका थिए । यसमा नेपालको प्रकृतिमा देखिने ६ वटा ऋतुचक्रको चित्रण गरिएको छ। यस काव्यमा कविले प्रकृति र मानवजीवनको कालचक्रलाई समानान्तर रूपमा उतारेका छन् । यो आख्यान तथा पात्रविहीन खण्डकाव्यका श्लोकमा एक पंक्तिले प्रकृतिको सजीव चित्र उतार्छ भने अर्को पक्तिले जीवनजगत्को चित्रण गर्छ। जस्तै-
हिलैमा भ्यागुतो बस्छ हिलैमा कमलस्थिति ।
स्थानले मात्र के गर्नु भिन्नै छ गुणको गति ॥ (वसन्त विचार।
गर्छन् विश्राम निर्धक्क बटुवा वृक्षका मनि ।
आडमा योग्य नेताको दुनियाँ झै सुखी बनी (ग्रीष्म विचार)
संसार यो हिलो सारा पद्मको रस मुक्ति हो।
जीव छन् भ्यागुतातुल्य पद्म ईश्वरभक्ति हो ॥
गुणका भारले नम्र गुणीतुल्य अली तल ।
झुके दारीमका हाँगा लागनाले ठुला फल ॥ (वर्षा विचार)
यसरी प्रकृति र जीवनजगत, दवै पक्षको भावपूर्ण संयोजन खण्डकाव्यको गहना हो भने वेदान्त दर्शन र आध्यात्मिक चेतनाले पृष्ट यो खण्डकाव्य नेपाली साहित्यको उत्कृष्टतम् आभूषणहरूमध्ये एक हो ।
१९७५ सालमा प्रकाशित चक्रपाणि चालिसेको नेपाली संक्षिप्त भारतभित्र 'गीतासार' कविशिरोमणिले लेखेका थिए जुन २०६१ सालमा छुट्टे पुस्तकका रूपमा पनि प्रकाशित भएको छ । १९७६ सालमा उनको अर्को पुस्तक 'सत्यकलिसंवाद' प्रकाशित भएको थियो । 'सत्यकलिसंवाद' बारे एउटा यस्तो प्रसंग पनि सुन्न पाइन्छ- राणाकालीन ऐतिहासिक त्यस कालखण्डमा राजनीतिक दमनले गर्दा कृतिहरू छाप्न छपाउन निकै कठिन थियो । उनको 'सत्यकलिसंवाद'मा राजनीतिक प्रसंगहरू आएको हुनाले राजद्रोही भनेर दुई-तीन पटक पोल हालिएको र थुन्न खोजिएको तर चन्द्रशमशेरले निर्दोष ठहऱ्याएका कारण थुनिनु नपरेको प्रसंग प्रचलित छ। उनले १९९४ सालमा 'लक्ष्मीपूजा' नाटक, २००४ सालमा 'पञ्चतन्त्र'का मित्रभेदको अनुवाद, १९९४ सालमा नै सप्तप्रश्नात्मक बुद्धिविनोदको पहिलो विनोद, २००८ सालमा अमर ज्योतिको सत्यस्मृति प्रकाशित गरेका थिए । २०१० सालमा कविता संग्रह 'लालित्य' प्रथम भाग र विशिष्ट काव्य 'तरुणतपसी' प्रकाशित भएको थियो। 'मेरो राम', 'रामायण सार' २०११ सालमा प्रकाशित भयो भने कालिदासको 'अभिज्ञान शाकुन्तलम्' नाटकको अनुवाद २०१५ सालमा प्रकाशित भएको थियो । २०२० सालमा 'भर्तृहरिनिर्वेद' नामक संस्कृत नाटक र २०२५ सालमा 'लालित्य' भाग-२ प्रकाशित भएको थियो ।
माध्यमिककालीन मूलधारमा रहेका लेखनाथ १९७४ पूर्व पुरानामध्येका नयाँ कवि मानिन्छन् । तथापि आधुनिक नेपाली कविताको प्रवर्तन गर्ने श्रेय लेखनाथलाई जान्छ । यसर्थ कविशिरोमणिलाई नेपाली कविताको माध्यमिक काल र आधुनिक कालको सेतुका रुपमा हेरिन्छ । यस कालखण्डमा उनले नीति-चेतना, हिन्दू पुनर्जागरणको स्वर, समाज सुधार, प्रकृतिको वस्तुपरक चित्रण, आध्यात्मिक चेतना तथा शब्दालंकार र अर्थालंकारको चामत्कृत प्रयोग गर्दै भावी नेपाली कवितालाई दिशानिर्देश गरेको पाइन्छ ।
आधुनिक नेपाली कविताको परिस्कारवादी शास्त्रीय धारा (१९७५-१९९०)का प्रवर्तक पौड्यालले 'सत्यकलिसंवाद' कृतिमार्फत आधुनिकताको उद्घाटन गरेका हुन् । यस काव्यमा सामाजिक व्यंग्य र हिन्दू पुनर्जागरणलाई सँगै लिएर उनले सुन्दर, सभ्य र स्वस्थ समाज निर्माण गर्न उद्घोष गरेका छन् । आर्य सभ्यताको प्राचीन महिमा, आर्य सभ्यताको रूढिग्रस्त पतन एवं आधुनिक युग र आर्य सभ्यताको पुनर्जागरण यस काव्यको मूल विषयवस्तु बन्न पुगेको छ। यसरी लेखनाथ कविका रूपमा 'समाज दृष्टा' पनि बन्न पुगेका छन्। काव्य, रस र शृंगारको साधन मात्र पनि त होइन । जसले समाजलाई बुझ्न, बुझाउन र चेतनाको स्वर दिएर अभिप्रेरित गर्नतर्फ आफ्नो कलम चलाउँदैन, ऊ समयले बनाएको कवि मात्र हुन सक्छ, कविशिरोमणि अथवा महाकवि बन्न सक्दैन ।
उनका रचनामध्ये मरणोपरान्त २०६१ सालमा 'गंगा गौरी' अपूर्ण (चक्रपाणि चालिसेको 'नेपाली संक्षिप्त भारत भित्र' रहेको गीतासार र 'कविता' पत्रिकामा छापिएका १ देखि ५ सर्गसम्मको) महाकाव्य प्रकाशित भएको छ ।
उनका रचनाहरूमा आधुनिक जीवन जगतको मूल्यांकन, विश्व बन्धुत्वको भाव एवं मानवतावादी सिद्धान्त प्रशस्त रूपमा पाइन्छ । आध्यात्मिक चेतना र राष्ट्रियताको भावनाले ओतप्रोत पौड्यालका काव्य रचना मार्मिक र हृदयस्पर्शी छन् ।
जहानिया राणाकालको दुष्कर राजनीतिक परिवेश र जीवनले निम्त्याएका कठिन परिस्थितिमा पनि यी तपस्वी जीवनपर्यन्त नेपाली साहित्यको सेवामा साधनारत रहे । त्यही साधानाको उच्च सम्मान गर्दै तत्कालीन सरकारले २००८ सालमा कविशिरोमणिको उपाधि प्रदान गर्यो । कविशिरोमणिको सम्मान पाएपछि पौड्यालले आफ्नो शिर उठेको ठाने । त्यसपछि उनी कविता लेखनमा मात्रै आबद्ध हुन थाले । साहित्यिक संघसंस्थाहरूले पनि उनैलाई प्रमुख अतिथि बनाएर कार्यक्रमहरू गर्न थाले।
२००९ सालमा बालकृष्ण सम र लक्ष्मीप्रसाद देवकोटाका साथ इलामको कर्फोक पुग्दा त्यहाँ उनीहरूको भव्य स्वागत भएको थियो। त्यसैताका उनीहरू दार्जीलिङ जाँदा त्यहांका त्रिमूर्ति 'सूधपा' अर्थात् सूर्यविक्रम ज्ञावाली, धरणीधर शर्मा र पारसमणिप्रधानले यिनीहरूलाई पनि 'त्रिमूर्ति' भनी सम्बोधन गरेका थिए । त्यसपछि नेपाली भाषा साहित्यमा 'त्रिमूर्ति' भन्ने वित्तिक्कै पौड्याल, सम र देवकोटालाई चिनिन थालियो। काठमाडौंको त्रिमूर्ति निकेतनमा यिनै तीन मूर्धन्य साहित्यकारको शालिक उभ्याइएको छ ।
२०११ सालमा पौड्यालको शुभजन्मोत्सवको उपलक्ष्यमा काठमाडौंमा उनको अभिनन्दन गर्दै रथयात्रा गरियो । यो काम गर्ने प्रमुख हस्ती थिए गोपाल पाण्डे असीम । साथै यस कार्यमा छाता ओढाउने काम महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए। त्यस बेला देवकोटा र समले नै पौड्याललाई रथारोहण गराएका थिए । त्यस दिन पौड्यालका हातमा जनअभिनन्दनपत्रका साथमा पाँच हजार रुपियाँको थैली पनि राखिएको थियो अनि पौड्यालको आँखामा हर्षाश्रु ।
२०२२ सालमा बनारस जाँदा बिरामी परेपछि 'मर्ने बेला विदेश जान्नं, म आफ्नै देशमा मर्छु, नेपालकै माटोमा मर्छु' भनी फर्किएर देवघाट आइबसेको पाइन्छ । जगत्-कल्याणको कामना गर्ने, साहित्यद्वारा आर्य संस्कृतिका पोषक कविशिरोमणि अन्ततः वि.सं. २०२२ फागुन ७ गते शिवरात्रीका दिन नश्वर देह त्यागी शिवमा विलिन हुन पुगे। उनका कृतिहरू नेपाली आधुनिक भाषा-साहित्यका अनुपम नमुना मानिन्छन् । आध्यात्मिकता, मानवतावाद, प्रकृति प्रेम, संस्कृति, राष्ट्रियता, सामाजिकतालगायतका भावले समृद्ध काव्यकृतिका सर्जक उनका कृतिगत योगदानले समग्र नेपाली परिवेशमा कविशिरोमणिका रुपमा सर्वत्र फैलिए। उनको त्यस विशिष्ट योगदानको कदर स्वरूप उनलाई मरणोपरान्त २०२६ सालमा त्रिभुवन प्रज्ञापुरस्कार पनि प्रदान गरियो । -हिमाल दृष्टि (मासिक पत्रिका) २०७४, पौष ।