जाइफल

जाइफल सधैं हरियो रहिरहने वृक्ष हो । यसबाट प्राप्त हुने सुगन्धित द्रव्यलाई पनि जाइफल नै भनिन्छ । संस्कृतमा जातिफल, मालतीफल आदि नामले परिचित छ यो वनस्पति ।
जाइफल एउटा सुगन्धित द्रव्य हो । यसको प्रकृति गरम खाले हुने भएकाले यसलाई गरम मसालाका रूपमा प्रयोगमा ल्याइन्छ । जाइफल प्राचीन समयदेखि नै पाकशालामा प्रयोग हुँदै आएको पदार्थ हो, तर पाकशालामा स्वादका लागि मात्र नभएर यसलाई हाम्रा पुर्वजले स्वास्थ्यका लागि पनि प्रयोग गर्ने गर्दथे। स्वाद मात्रका लागि प्रयोग गरिनु स्वास्थ्यका दृष्टिले अनुपयुक्त पनि हुन सक्छ ।
जाइफलको गुण :
अग्निदीपक :
जाइफलले पेटको अग्निलाई प्रदीप्त गर्दछ। जबसम्म अग्निले ठीकसँग कार्य गर्दछ तबसम्म व्यक्तिको शरीरमा कुनै पनि प्रकारको रोग लाग्ने भय रहँदैन। हाम्रो शरीरमा १३ प्रकारका अग्नि हुन्छन् जसले खाएको अन्न एवं तीबाट निर्मित हुने सप्त धातुहरूलाई ठीकसित पचाएर शरीरलाई सुस्वास्थ्य प्रदान गर्दछ। जुनबेला जठराग्नि मन्द हुन्छ त्यसबेला खानाप्रति अरुचि हुन्छ र मन अप्रसन्न रहन्छ । पञ्चतत्वका रूपमा अग्नि मानव शरीरको आधार पनि हो । मन्दाग्नि अर्थात् शरीरभित्रको अग्नि मन्द भयो भने शरीरमा रोगहरूको थुप्रो लाग्न थाल्दछ। जाइफलको चूर्ण महसँग मिसाएर गरियो भने मन्दाग्नि समाप्त भइ व्यवस्थित रूपमा कार्य गर्न थाल्नेछ र शरीरमा आइलागेका रोगहरू शान्त हुनेछन् । महसित जाइफल चूर्णको प्रयोगले हृदयलाई पनि शक्ति प्रदान गर्दछ ।
वात-कफ नाशक :
जाइफलले शरीरमा हुने वात-कफजन्य रोगहरू नाश गरी सुस्वास्थ्य प्रदान गर्दछ । आमाशयमा बढेको वायु (ग्यास) लाई शान्त पार्दछ। यसको गुणले आमाशयमा पाचक रसहरू बढाएर बिग्रिएको वायुलाई मलद्वाराबाट बाहिर निकाल्दछ। गरम प्रकृतिको हुनाले कफ प्रकृतिका मानिसका लागि यो अमृततुल्य कार्य गर्ने हुन्छ । कफ प्रकृति भएका मानिसले यसको प्रयोग महका साथ गर्नुपर्छ । एक ग्राम जाइफल चूर्णलाई बिहान साँझ एक चम्चा महसित प्रयोग गरेमा केही समयमै कफका रोग शान्त हुनेछन्। यसरी गरिएको प्रयोगबाट श्वास, खोकी, पिनास आदिमा पनि लाभ प्राप्त हुनेछ । यसले पेटका किरा पनि नष्ट हुन्छन् ।
जाइफललाई स्नायुप्रणालीका लागि पनि उपयोगी एवं लाभदायक मानिएको छ। जाइफल घोटेर अथवा पिसेर दुधमा मिसाई पिउनाले अनिद्राको समस्या भएकालाई सहज हुन्छ, अर्थात् निद्रा लाग्दछ । तर यसो गर्दा मात्रामा ध्यान पुऱ्याउन आवश्यक हुन्छ, किनकि यो बढी मिसाएमा बढी नशाकारक एवम् हानिकारक हुन सक्छ । जीउ दुखेमा, हातगोडा गलेमा जाइफललाई पानी वा दूधमा पकाइ पिउने गर्दा त्यो समस्या केही क्षणमै सुधार हुन्छ। जाइफलबाट तेल पनि निकालिन्छ। जाइफलको तेल पनि औषधीय प्रयोगमा ल्याइन्छ । जाइफलको मालिसले शरीरमा गर्मी आउँछ, चुस्ती, फूर्ति आउँछ र पसिनाको रूपमा विकार शरीरबाहिर निस्किन्छ। 3 शूल, बाडुली, शीघ्रपतन शुक्रको कमजोरी (नपुंसकता) जस्ता समस्या हटाउन पनि यो उपयोगी मानिन्छ। - हिमालदृष्टि मासिक पत्रिका २०७७ माघ