काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनपछि गठन हुने नयाँ संसद्ले वर्तमान संविधानको पुनरावलोकन गर्नुपर्नेमा कानुनविद् तथा बुद्धिजीवीहरूले जोड दिएका छन्। लोकतन्त्र संवाद अभियानद्वारा शनिबार राजधानीको राष्ट्रिय सभागृहमा आयोजित ‘बृहत् लोकतन्त्र संवाद’ कार्यक्रममा बोल्दै वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण र शासकीय सुधारका लागि संविधान संशोधन अपरिहार्य रहेको औंल्याएका हुन्।
कार्यक्रममा बोल्दै सर्वोच्च अदालतका पूर्वन्यायाधीश डा. आनन्दमोहन भट्टराईले २०७२ सालको संविधान २०४७ सालको जस्तो असंशोधनीय नरहेको स्पष्ट पारे। उनले भने, "अहिलेको संविधानमा नमिलेका विषयलाई संशोधन गरेर अघि बढ्नुपर्छ। वर्तमान शासकीय स्वरूप अत्यन्त खर्चिलो भएकाले यसलाई परिमार्जन गरी मितव्ययी बनाउनु आवश्यक छ।" अदालतको भूमिकाबारे चर्चा गर्दै डा. भट्टराईले अदालतले क्रान्ति नगर्ने तर भएको परिवर्तनलाई आत्मसात् गर्ने बताए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै वरिष्ठ राजनीतिक विश्लेषक एवं लेखक श्रीकृष्ण अनिरुद्ध गौतमले लोकतन्त्रलाई राष्ट्रिय संस्कृतिद्वारा संरक्षित गर्नुपर्नेमा जोड दिए। "केवल संविधान र व्यवस्था परिवर्तन भइरहने क्रम रोकिनुपर्छ," गौतमले भने, "जनतासँगको सम्झौता नतोड्ने नेतृत्वलाई चुनेर पठाउनु नै अहिलेको मुख्य आवश्यकता हो। आगामी निर्वाचन मतदाताको विवेकको परीक्षा हुनेछ।"
अर्का वक्ता डा. चन्द्रदेव भट्टले लोकतन्त्रले निर्वाचन मार्फत नै कानुनी वैधता प्राप्त गर्ने बताए। दोस्रो विश्वयुद्धपछि विश्वव्यापी रूपमा स्वीकार गरिएको लोकतान्त्रिक शासन व्यवस्थालाई नेपालमा संस्थागत गर्न आगामी फागुन २१ गतेको निर्वाचन सफल बनाउनुपर्नेमा उनले जोड दिए।
त्यस्तै, भारतका राजनीतिशास्त्रका प्राध्यापक डा. सञ्जीवकुमार शर्माले लोकतन्त्रलाई केवल राजनीतिक उपकरण वा आवधिक निर्वाचनका रूपमा मात्र बुझ्न नहुने बताए। आफ्नो धारणा राख्दै उनले सनातन परम्परामा लोकतन्त्र एक 'जीवन पद्धति' र 'आचरणको स्वरूप' रहेको उल्लेख गरे। 'अत्रिस्मृति' लाई उद्धृत गर्दै प्रा.डा. शर्माले शासकमा सुशासनप्रति दृढ प्रतिबद्धता हुनुपर्नेमा जोड दिए। उनका अनुसार लोकतन्त्र, राष्ट्रियता र सुशासन एकअर्काका पूरक हुन्। यी तीन तत्वको सन्तुलनबिना कुनै पनि मुलुकले सही दिशा लिन नसक्ने उनको तर्क थियो। पश्चिमा जगतमा प्रचलित 'वाद र प्रतिवाद'को धारणाभन्दा सनातन परम्पराको लोकतन्त्र भिन्न रहेको उनले प्रस्ट पारे। "पश्चिमा अवधारणामा विरोधी विचारलाई शत्रु ठानेर नष्ट गर्ने प्रवृत्ति देखिन्छ, तर हाम्रो सनातन परम्परा सत्यको खोजीका लागि गरिने 'संवाद' मा आधारित छ," उनले भने। साँचो लोकतन्त्रले विविध विचारहरूको सहअस्तित्वलाई स्विकार्ने र असहमतिका बीच पनि मिलेर बस्ने संस्कार सिकाउने उनको भनाइ थियो।
निकेशकुमार लम्सालले सञ्चालन गरेको उक्त कार्यक्रममा लोकतन्त्र, संस्कृति र समृद्धिलाई मूल मन्त्र बनाएर अभियान अघि बढाइएको जानकारी दिइयो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो।