बसन्तपुरमा ठड्याइयो चीर, सुरु भयो होली
२३ फागुन, काठमाडौं । काठमाडौंको बसन्तपुरमा रङ्गीचङ्गी ध्वजाले सजाइएको तीनतले चीर ठड्याइएको छ । हनुमानढोका दरबारको दक्षिण पटाङ्गिनी, ऐतिहासिक मोहनकाजी चोक तथा दाखचोकमा ३२ फुट उचाइको तीन खण्डे गजुर जस्तो देखिने रङ्गीबिरङ्गी होली चीर ठड्याइएको हो।
फागुन शुक्ल अष्टमीका दिन काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याएपछि देशभर फागु अर्थात् रङ्गहरुको पर्व होली सुरु भएको मानिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले चीर ठड्याउनको लागि आज उत्तम साइत रहेको निर्णयसँगै आज चिर ठडाइएको हो। होली पर्वको शुभारम्भ भएको जनाऊ दिन वसन्तपुरमा चीर ठड्याउने गरिएको छ ।
पौराणिक कालदेखि सुरु भएको होलीको विशेष महत्त्व रहिआएको छ । होली पर्वलाई वसन्त ऋतुको आगमनको खुसीयालीमा रङसहित मनाउने पर्वको रूपमा लिने गरिन्छ। धार्मिक ग्रन्थहरुमा उल्लेख भएअनुसार हिरण्यकश्यपुले भगवान विष्णुका भक्त भएका कारण आफ्नै छोरा प्रह्लादलाई मार्न आफ्नी बहिनी होलिकाको काखमा बसाली आगो लगाइदिएका थिए। तर, आगोले विष्णुका भक्त मार्न प्रयास गर्ने होलिका नै भष्म भएकी थिइन्। आगोले प्रह्लादलाई कुनै पनि असर नगरेको धार्मिक विश्वास छ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन २९ गते र चैत १ गते परेको छ । फागुन २९ गते हिमाली तथा पहाडी जिल्लामा र चैत १ गते तराईरमधेशका जिल्लामा होलीको सार्वजनिक बिदा दिइएको छ ।








