२६ चैत, काठमाडौं । चैत्राष्टमी सुरु भएपछि नवरात्र पर्वमा दुर्गा भवानीको विशेष पूजा हुने बागलुङ कालिका मन्दिरमा ४२ लाखभन्दा बढी भेटी संकलन भएको छ। गण्डकी प्रदेशको प्रसिद्ध ऐतिहासिक शक्तिपीठ बाग्लुङ कालिका मन्दिरमा चैते दशैंको अवसरमा आएका करिब ७ लाख दर्शनार्थीहरूले चढाएका भेटी ४२ लाखभन्दा बढी संकलन भएको हो ।
बागलुङ कालिका मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काका अनुसार नवरात्रको अवधिभर ४२ लाख ६३ हजार एक सय ५५ रुपैयाँ भेटी संकलन भएको छ। नवरात्रको पहिलो दिन चैत १७ गते तीन लाख ४९ हजार ८ सय ६ रुपैयाँ भेटी संकलन भएको, दोस्रो दिन दुई लाख ३१ हजार चार सय ७०, तेस्रो दिन ५ लाख २० हजार एक सय ६५, चौथो दिन दुई लाख ८१ हजार ७ सय ५९ रुपैयाँ , पाँचौं दिन चार लाख ८२ हजार तीन सय ३५, छैठौं दिन ५ लाख ६८ हजार ७५० रुपैयाँ संकलन भएको अध्यक्ष खड्काले बताउनुभयो । मन्दिरमा सबैभन्दा धेरै भेटी महाअष्टमीको दिन चैत २३ गते ११ लाख ८१ हजार ५ सय ९० संलकन भएको अध्यक्ष खड्काले जानकारी दिनुभयो ।
‘अष्टमीको दिनमा अहिलेसम्मकै धेरै भेटी संकलन भएको छ, विगतका वर्षहरूको तुलनामा पनि यो वर्ष धेरै संकलन भएको उहाँले बताउनुभयो । उहाँका अनुसार चैत २४ गते चार लाख ११ हजार ५ सय १० र २५ गते दुई लाख ३५ हजार ७ सय ७० रुपैयाँ संकलन भएको छ।
बागलुङ कालिका मन्दिरमा शनिवार र मंगलवार विशेष पूजा हुन्छ। चैते दसैँ र बडा दसैँको नवदुर्गामा बली चढाउने र दर्शन गर्न आउनेहरूको ठूलो भीड लाग्छ।
चैते दसैँमा विशेष मेला लाग्ने भएका कारण पनि यो समयमा यहाँ आउनेहरूको संख्या हरेक वर्ष बढ्दै गएको पाइन्छ। बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिको आयोजना चैते दसैँ मेला चैत २० बाट सुरु भएर सोमवार मात्रै समापन भएको छ।