सुजन बाग श्रेष्ठले छेडाए तेश्रो पटक जिब्रो
२ वैशाख, काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकास्थीत बोडेमा जिब्रो छेड्ने जात्रा मंगलवार मनाइएको छ।
बोडेको जात्रामा यसवर्ष २८ वर्षीय सुजन बाग श्रेष्ठले जिब्रो छेडेका छन् । बिस्काः जात्राको अवसरमा मध्यपुरथिमिको बोडेमा आयोजना हुने मौलिक शैलीको जात्रामा उनले जिब्रो छेडेका हुन् ।
जात्रामा जिब्रो छेड्ने स्थानीय श्रेष्ठ थरको पुरुष हुनुपर्ने परम्परा छ । यही परम्पराअनुसार यसवर्ष तेस्रो पटक सुजनले जिब्रो छेडेर जात्रालाई निरन्तरता दिएका हुन् ।
सुजन नौ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदैआएका स्थानीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा हुन् । बुद्धकृष्णले पहिलोपटक २०६२ सालमा जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका थिए । त्यसपछि उनले २०६५ सालसम्म लगातार चार पटक जिब्रो छेडाएका थिए ।
वि.सं २०६६ मा बुद्धकृष्णले जिब्रो नछेड्ने बताएपछि जात्रालाई निरन्तरता दिन जुजुभाइ बास श्रेष्ठले जिब्रो छेडाए । जुजुभाइले २०६५ देखि २०७२ सालसम्म आठ पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिए । विसं २०७३ मा जुजुभाइका श्रीमती र भाउजु दुवै बिरामी भएकाले जिब्रो नछेड्ने घोषणा गरे । त्यसयता पुनः बुद्धकृष्णले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिँदै आएका थिए ।

