वैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई अक्षयतृतीय भनिन्छ । अक्षयको शाब्दिक अर्थ हो जसको कहिल्यै क्षय (नाश) नुहुन जुन सधैं स्थायी सनातन हुनु हो । सबै बाह्र महिनाका शुक्ल पक्षीय तृतीया शुभ छन् तर वैशाख महिनाको तिथि स्वयंसिद्ध मुहूर्त मानिन्छ । त्यसैले भविष्य पुराण तथा धर्मशास्त्र अनुसार आजको दिनमा गरिएको दान अक्षय हुन्छ । थोरै वा धेरै जति दान गरिन्छ त्यो दान अक्षय हुन्छ अर्थात् कहिल्यै नाश हुँदैन । यस दिनमा गरिएका सबै सत्कर्महरूको अक्षय पुण्य प्राप्त हुन्छ । वर्षको सबैभन्दा पवित्र दिन हुनाले अक्षय तृतीयालाई ‘बिघ्नविनाशक दिन’ पनि भनिन्छ ।
यस तिथिको अर्को विशेषता, चारयुगमध्येको एक त्रेतायुगको आरम्भ पनि यसै तिथिबाट भएको मानिन्छ, त्यसैले यस तिथिलाई ‘युगाद्वीतिथि’ पनि भनिन्छ ।
वैशाखशुक्लपक्षस्य तृतीयायां च धीमता ।
गोभूहिरण्यरत्नादि तत्र दत्वा क् क्षयो भवेत् ।।
दानं घर्मघटादीनां मधुसूदनपूजनम् ।
तत्र जप्तं हुतं दत्तं सर्वमक्षय्यमुच्यते ।।
यत्किञ्चिद्दीयते दानं स्वल्पं वा यदि वा बहु ।
तत्सर्वमक्षयं यस्मात्तेनेयमक्षया स्मृता ।।
उदकुम्भान् सकनकान् सान्नान् सर्वरसैः सह ।
यवगोधूमचणकान् सक्तुदध्योदनं तथा।।
ग्रैष्मिकं सर्वमेवात्र सस्यं दाने प्रशस्यते ।। भविष्यपुराण ।।
यसै दिन कैलाशपति भगवान् शिवजी र हिमालयपुत्री पार्वतीको विवाह भएको शास्त्रवचन पाइन्छ । महर्षि वेदव्यासले आजकै तिथिमा महाभारतको रचना प्रारम्भ गरेको विश्वास गरिन्छ । भारतका प्रसिद्ध चार धाममध्ये बद्रिनाथको ढोका आजकै तिथिमा खोल्ने परम्परा रहेको छ । जौको सातुमा सखर, चिनी, घिउ, दही मिसाएर एवम् सक्खर हाली सर्वत बनाएर खुवाएमा भगवान् विष्णु खुशी हुनुहुने विश्वाससमेत छ । यस दिन बिहानै स्नान गरी लक्ष्मीनारायणको पूजा गर्ने परम्परा छ । माटो, तामा वा पित्तलको घडामा सर्वत राखेर दान गरिन्छ । सर्वत र सातु दान गर्नेले यो लोकमा सुख र परलोकमा सद्गति पाउने धार्मिक विश्वास छ । यसरी दान गर्नेका पितृ पनि प्रसन्न हुने वैदिक ग्रन्थमा व्याख्या गरिएको छ । गर्मी महिनाको यस दिन भगवानको पूजा, आराधना, दान गर्ने र सातुसर्वत खुवाउने, खानेपानीको व्यवस्था गर्ने जस्ता काम सुस्वास्थ्य र परोपकारका दृष्टिबाट उपयोगी र महŒवपूर्ण मानिन्छ । हिन्दू धर्ममा अक्षय तृतीयाको महत्व धेरै रहेको छ । यस दिन मानिसहरूले धन, समृद्धि, स्वास्थ्य र सुख प्राप्त गर्न विभिन्न उपायहरू अपनाउँछन् ।
ऋषि जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले यस दिनलाई परशुराम जयन्ती भनी मनाउने चलन पनि छ ।
परशुराम जयन्ती
पौराणिक प्रसंगअनुसार आजकै दिनमा भगवान् विष्णुले परशुराम अवतार लिनुभएकाले परशुराम जयन्तीका रूपमा पनि आजको दिनलाई लिइन्छ । भगवान् विष्णुको सातौँ अवतारका रूपमा परशुरामको जन्म ऋषि जमदग्नि र रेणुकाको सुपुत्रका रुपमा भएको थियो ।
ऋषि जमदग्निको चार भाइ छोरामध्ये कान्छा छोराका रूपमा परशुरामको जन्म भएको थियो । परशुराम हिन्दु धर्मको एक महान् योद्धा हुनुहुन्छ । ऋषि पुत्र भएता पनि उहाँमा क्षत्रीय गुण थियो । अन्यायविरुद्ध उहाँले दुष्ट क्षत्रिय वंशलाई राज्यविहीन बनाउनुभएको थियो । उहाँ भगवान् विष्णुको सातौं अवतार भए पनि उहाँ भगवान् शिवको परम भक्त हुनुहुन्थ्यो । भगवान् शिवबाट प्राप्त भएको उहाँको मुख्य हतियार परशु(बन्चरो)सधैं साथ हुने भएकोले उहाँको नाम परशुराम हुन गएको हो ।
उहाँ एक सच्चा पितृ वचन पालक हुनुहुन्छ ।
एक पटकको घटना हो, पूजा गर्ने जल लिन गङ्गामा जानुभएको परशुरामकी माता रेणुका गन्धर्व र अप्सराहरूको क्रीडा देखेर केहीबेर ढिलो घर फर्किनुभयो । पत्नी आएपछि ध्यानदृष्टिले विचार गर्दा गन्धर्व र अप्सराको क्रीडामा भुलेर ढिलो घर फर्केको बुझेपछि यो व्यभिचरिणी हो, यसलाई काट ,भनी छोराहरूलाई ऋषि जमदग्नि(परशुरामका पिता)ले आदेश दिनुभयो । जेठादेखि नै पालैपालो गरी आमालाई काटभन्दा परशुरामका दाजुहरू तीनै भाइले काट्न मानेन् । अन्त्यमा कान्छा छोरा परशुरामलाई दाजुहरू समेत आमालाई काट्न आदेश दिँदा परशुरामले बाबुको प्रभाव जानेको हुँदा आज्ञा पाउनासाथै आमा समेत तीनै दाजुहरूलाई काटिदिनुभयो । अनि ऋषि जमदग्नि प्रसन्न भएर परशुरामलाई “के वरदान माग्दछौ ?” भन्नुभयो । परशुरामले वरदानमा आमासमेत सबै दाजुहरू जीवित होऊन्, साथै आफ्नो मृत्यु भएको कुरा उहाँहरूलाई ज्ञात नहोस् भनी वरदान माग्दा ऋषि जमदग्निले “तथास्तु” भनी सबैलाई जिउँदोपारिदिनुभयो ।
हैहयवंशी राजा अर्जुनले दत्तात्रेयका प्रसादबाट एक हजार हात पाएका हुँदा उनको नाम नै सहस्रार्जुन नामले प्रसिद्ध थियो । एक दिन सहस्रार्जुन राजा सेना आदिका साथमा जमदग्नि ऋषिका आश्रममा जाँदा जमदग्निले सबैको ठुलो स्वागत सत्कार गर्नुभयो । यो सत्कार कामधेनु गाईका कारणबाट भएको भन्ने बुझेपछि राजाले ती गाई मागे, तर जमदग्निले नदिँदा जबर्जस्ती हडपेर लगे । त्यसवेला परशुराम त्यहाँ हुनुहुन्नथ्यो । परशुराम आएर सबै अवस्था बुझेपछि हातमा बन्चरो लिएर राजाका तिर गएर युद्ध गर्न लाग्नुभयो ।त्यहाँ सहस्रार्जुनको र परशुरामको ठुलो युद्ध भयो । परशुरामले राजाका सबै सेनाका साथमा राजाका हजारै हात काटी अन्त्यमा उनको शिर समेत काटेर गाई लिएर आउनुभयो । त्यस वेला राजाका छोराहरूले भागेर ज्यान बचाएका थिए ।
त्यसपछि पिता जमदग्निको आदेशअनुसार राजा मारेको पाप पखाल्न परशुराम तीर्थयात्रा गर्नुभयो । एक वर्ष सम्म विभिन्न तीर्थ यात्रा गरी घर फर्कने बेला भएपछि परशुराम नभएको मौकामा बाबु मारेको बदला लिनु पर्दछ भनी सहस्रार्जुनका छोराहरू जमदग्निका आश्रममा गई जमदग्निलाई काटेर शिर लिएर गए । त्यसै वेला परशुराम घर आइपुग्दा बाबुको शिर काटी राजकुमारहरूले लगेको र आमाले एक्काइसौं पटकसम्म छाती पिट्दै रोएको खबरले मर्माहत भएका परशुराम बाबुको देहको सुरक्षा गर्ने काम दाजुहरूलाई जिम्मा लगाएर हातमा बन्चरो लिएर सहस्रार्जुनका छोराहरूसँग युद्ध गर्न जानुभयो र सहस्रार्जुनका छोराका साथै सम्पूर्ण क्षत्रियहरूको संहार गर्नुभयो । उहाँले एक्काईस पटक पृथिवी घुमेर क्षत्रियहरूको संहार गरी पृथिवीको भार हरण गर्नुभयो । ती क्षत्रियहरूका रगतले कुरुक्षेत्रमा नवोटा ( ९ )कुण्डहरू बनाउनुभयो । ती कुण्डहरूलाई परशुराम कुण्ड भनिन्छ । ती कुण्ड अहिले पनि परशुराम तीर्थका रूपमा पवित्र र प्रसिद्ध छन् ।जसमा स्नानदानादि गर्नाले समस्त पाप नाश भई पितृहरूको उद्धार हुन्छ भन्ने मान्यता छ ।
त्यस पछि पिता जमदग्निको शिर ल्याएर शरीरमा जोडी जमदग्नि ऋषिलाई बचाउनुभयो । जमदग्नि ऋषि अहिले पनि जीवितै हुनुन्छ । उहाँ सप्तर्षिमध्ये एक हुनुहुन्छ भने परशुराम अष्ट चिरञ्जीवी मध्ये एक हुनुहुन्छ ।