१ असार, काठमाडौं । मगर समुदायको भूमे पर्व आजदेखि सुरु भएको छ । प्राकृतिक विपत्ति नआओस् भूतप्रेत, ग्रहदशा जाउन् बालीनालीमा किरा नलागोस् भनेर मगर समुदायमा हरेक असार १ गतेदेखि भुमे/भूम्या पर्व मनाउने प्रचलन छ ।
मगर समुदायको बाहुल्यता रहेको रोल्पा, रुकुम क्षेत्रमा ‘नाम्क’ अर्थात् भूमे पर्व धुमधामका साथ मनाइन्छ । आजदेखि रोल्पाको थबाङमा साताव्यापीरुपमा भव्य भूमे नाच नाच्ने गरिन्छ ।
हरेक वर्षको जेठ महिनाको अन्तिम दिन लेकबाट फूल टिपी ल्याएपछि भूमे अर्थात् भूम्या पर्व शुरु हुन्छ। शुक्रवर मौलिक पहिरनमा बाजागाजासहित लेकमा पुगी वन देवतालाई पूजा गरेर फूल टिप्ने विधि सम्पन्न भएको छ।
प्रकृतिको पुजा गरी बाढीपहिरो रोकथाम होस् भन्ने आस्था र जनविश्वासका साथ यो पर्व मनाइन्छ ।
भूमे पर्वका अवसरमा लुम्बिनी प्रदेश सरकारले चार जिल्लामा सार्वजनिक बिदा दिएको छ । लुम्बिनी प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद नेपालका अनुसार दाङ, रोल्पा, रुकुमपूर्व र प्यूठानका सम्बन्धित समुदायलाई बिदा दिएको हो ।
विगत वर्षमा पनि प्रदेश सरकारले भूमे पर्वका अवसरमा बिदा दिँदै आएको थियो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मगर समुदायले प्रमुख रूपमा मनाउने मौलिक भूमे (भूम्या) पर्वको अवसरमा प्रदेशवासीमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री आचार्यले जारी गरेको शुभकामना सन्देशमा प्रदेशको विविध संस्कृति, परम्परा र पहिचानलाई समेट्दै यस्ता मौलिक चाडपर्वहरूले सामाजिक सद्भाव र पहिचान संरक्षणमा योगदान पुर्याउने उल्लेख गर्नुहुँदै भन्नुभयो, “हाम्रा मौलिक संस्कार, परम्परा, रीतिरिवाज र चाडपर्वहरू सामाजिक र सांस्कृतिक समृद्धिको बलियो आधार हुन् । भूमे पर्व आदिवासी जनजाति समुदायको सांस्कृतिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको पर्व हो, जसले भूमि, प्रकृति र पूर्वजप्रतिको सम्मान प्रकट गर्छ ।”