२ असार, काठमाडौं । ललितपुरको ग्वार्कोस्थित फ्लाइओभरमा चार दिनपछि सवारीसाधन चल्ने भएका छन् ।
फ्लाइओभरको मुख्य संरचना निर्माण सकिएसँगै अब सवारीसाधन सञ्चालनको तयारी गरिएको सडक विभाग, गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दीप बाराहीले जानकारी दिनुभयो ।
यही असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइओभरको उद्घाटन गर्नुहुने कार्यक्रम तय भएको छ । त्यसपछि यातायात सञ्चालनमा ल्याइने छ ।
गत शनिवार भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालसहित सडक विभागको नेतृत्वले स्थलगत निरीक्षण गरी सवारीसाधन सञ्चालनको तयारी गर्न निर्देशन दिएको थियो । मुख्य संरचनाको निर्माणपछि लेन सेपरेटर राख्ने, लाइनिङ गर्नेलगायतका काम पूरा भएपछि सवारीसाधन सञ्चालन हुने अवस्थामा पुगेको हो ।
यो ओभरपास २०७८ फागुन १२ मा सुरू भएको सम्झौताअनुसार दुई वर्षमा सम्पन्न हुनुपर्ने थियो । सम्झौताको म्याद २०८० फागुन १२ मा सकिए पनि काम पूरा नभएपछि पहिलो पटक २०८१ पुस ८ सम्म म्याद थप गरिएको थियो । तर, उक्त अवधिमा पनि निर्माण सम्पन्न नभएपछि सडक विभागले गत पुस १० देखि निर्माण कम्पनीलाई दैनिक ०.०५ प्रतिशत (करिब ८५ हजार रुपियाँ) हर्जाना तिराएर काम गराइरहेको छ । हर्जाना तिरेर २०० दिनसम्म काम गर्न पाइने व्यवस्था छ । यदि यो अवधिमा पनि काम नसकिएमा ठेक्का रद्द गर्ने चेतावनी सडक विभागले दिएको थियो ।
१७ करोड ६ लाख ८८ हजार रुपियाँ लागत अनुमान गरिएको यो ओभरपासले ग्वार्को चोकको चर्को ट्राफिक जाम हटाउने अपेक्षा गरिएको छ ।
ओभरपास बनेपछि कलंकी–कोटेश्वर सडक खण्डका सवारीसाधन माथिबाट र ग्वार्को–लामाटार तथा ग्वार्को–पाटनतर्फका सवारीसाधन तलबाट गुड्ने छन् । यसले ट्राफिक व्यवस्थापनमा सहजता ल्याउने विश्वास गरिएको छ ।