१९ असार, काठमाडौं । दाङको घोराही उपमहानगरपालिका–१७ चौघरामा अवस्थित गोरक्ष रत्ननाथ मन्दिर (चौघरा मन्दिर) भक्तजनका लागि मुख्य तीर्थस्थल बन्दै गएको छ । पछिल्लो समय यो मन्दिर सबैको आस्थाको केन्द्र बनेको छ ।
मठमा परापूर्वकालदेखि अहोरात्र तान्त्रिक विधिबाट पात्रदेवताको पूजा–आराधना हुँदै आइरहेको छ ।
यहाँ विशेष गरी महाशिवरात्रि, तिज, र माघे सङ्क्रान्तिमा ठूलो मेला लाग्छ । त्यसबेला स्थानीय तथा अन्य ठाउँबाट पनि हजारौं श्रद्धालुहरू मन्दिर दर्शन र पूजा गर्न आउने गर्छन् ।
किंवदन्ती र जनश्रुति
स्थानीय बुढापाकाहरूको भनाइ अनुसार, यो मन्दिर स्थलमा पहिले प्राकृतिक रूपमा शिवलिङ्ग भेटिएको थियो । त्यसपछि स्थानीयले त्यहाँ शिव मन्दिर निर्माण गरी पूजा गर्न थालिएको हो ।
दाङ क्षेत्रमा आबादी (वा अवादी) राजा थिए । उनका छोरा रत्न परीक्षक पनि राजा भए । उनी एकदिन सिकार खेल्न जंगल पसेका बेला गोरखनाथको दर्शन गरे । गोरखनाथको दर्शन भएपछि उनले सांसारिक मोह त्यागे र योगमार्ग समाते । पछि उनी नै सिद्धरत्ननाथ बनेको जनविश्वास छ । त्यसपछि जहाँ गोरखनाथको दर्शन त्यही क्षेत्रमा मठ र मन्दिर स्थापना गरिएको हो भन्ने भनाइ पनि पाइन्छ । यसरी चौघरा क्षेत्रमा शिवसँगै नाथ परम्पराको पनि प्रभाव देखिन्छ ।
त्यही भएर यहाँ गोरखनाथ, सिद्धनाथ, र शिव तीनैको पूजा हुन्छ भन्ने पनि स्थानीय विश्वास छ ।
शिखर शैलीको सिद्धरत्ननाथ मठ ६० फिट अग्लो र करिब २५८ गुणा २५ फिट वर्गाकारमा रहेको छ । यही मठमा ४ वटा पत्थरका सिंह मूर्ति चार कुनामा रहेका छन् । यस मन्दिरको गजुर सुनको रहेको छ ।
यस मठमा गोरखनाथको १.५ फिट अग्लो सिंहासनमा बसेको मूर्ति, मच्छिन्द्रनाथको कालो प्रस्तरको १.५ फिट अग्लो उभिएको ४ बाहु भएको हातमा कमल लिएको निकै नै आकर्षक मूर्ति, सिद्धरत्ननाथको कालो प्रस्तरको १.५ फिट अग्लो सिद्ध आसनमा हातमा अमृत पान लिएको मूर्ति, आदिनाथको कालो प्रस्तरको ३ फिट अग्लो ४ बाहु भएको सिद्धरत्ननाथमा बसेको मूर्ति समेत गरी चार मूर्ति प्रमुख रहेका छन् ।
त्यस्तै भैरवको मूर्ति मन्दिरको चौथो कोठामा बालासुन्दरीदेवीको शस्त्रअस्त्र लिएको मूर्ति समेत रहेको छ । मठ सञ्चालनको लागि गुठी रहेको छ । साधुहरूको भोजन, पूजा आदि हुने गर्दछ । साथै अतिथि भवन र छात्रावास समेत छ । यस मठका मठाधिशले १ वर्षसम्म कम्पाउन्ड बाहिर जान नपाउने परम्परा रहिआएको छ । यस मन्दिरमा तान्त्रिकविधीले पूजा, अर्चना गरिन्छ ।
पहिले भैरव र भगवतीलाई पशु बलि दिने चलन भए पनि अहिले कुभिन्डो, मुला आदीको बलि दिइन्छ । फागुन महिनाको विजया एकादशीमा यहाँ भव्य मेला लाग्ने गर्दछ । हिन्दु, मुसलमान समान रूपमा यस मेलामा भाग लिने गर्दछन् । मुसलमानहरू हाजी रत्ननाथ बाबा भनी श्रद्धा पूर्वक दर्शन गर्दछन् र मेलामा साथ दिन्छन् ।








