२२ असार , काठमाडौं । “सेवा र विकासका लागि युवाको समन्वय” मा गोकर्ण मा.विका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । ओरेगन नेपाली समाज, अमेरिकाको आर्थिक सहयोगमा काठमाडौंको गोकर्ण माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० की छात्रा सुश्री तारादेवी तामाङलाई छात्रवृत्ति वितरण गरिएको हो ।
एक विशेष कार्यक्रमका बीच सम्पन्न छात्रवृत्ति वितरण समारोहले आर्थिक रूपमा कमजोर पृष्ठभूमिका प्रतिभावान विद्यार्थीलाई शिक्षामा निरन्तरता दिन प्रेरणा दिएको छ। छात्रा तारादेवी तामाङ विगतदेखि नै अध्ययनशील, अनुशासित र मेधावी विद्यार्थीका रूपमा चिनिएकी छन्।
कार्यक्रममा विद्यालय प्रशासनले ओरेगन नेपाली समाज तथा कार्यक्रम संयोजक “सेवा र विकासका लागि युवाको समन्वय”लाई हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमले अझ धेरै विद्यार्थीलाई सहयोग पुर्याउने विश्वास व्यक्त गरेको छ ।
विद्यार्थी तारादेवीले छात्रवृत्तिबाट प्राप्त सहयोगले आफूलाई अध्ययनमा अझ प्रेरित बनाएको बताउँदै सबै सहयोगी संस्थाप्रति आभार व्यक्त गरेकी छिन्
यस अभियानले प्रवासी नेपाली समाज र स्वदेशमा रहेका शैक्षिक संस्था तथा विद्यार्थीबीच सकारात्मक सम्बन्धको उदाहरण प्रस्तुत गरेको छ।
कार्यक्रममा समाजसेवी एवम् पूर्व सशस्त्र प्रहरी शम्भु उप्रेती, सेवा र विकासका लागि युवाका कार्यक्रम संयोजक प्रकाश शर्मा विद्यालयका प्राचार्य, शिक्षक र विद्यार्थीहरूको विशेष उपस्थिति रहेको थियोे ।