१५ साउन, काठमाडौं । आज साउन १५ गते अर्थात खीर खाने दिन । ‘असार १५ दही-चिउरा खानू, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा निकै नै लोकप्रिय छ ।
नेपाली समाजमा वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाई आपसमा बाँडेर खाने चलन छ ।
खीर शब्द संस्कृत भाषाको “क्षीर” शब्दबाट आएको मानिन्छ । क्षीर भन्नाले दूध र अन्नबाट बनेको परिकार भन्ने अर्थ लाग्दछ। त्यस अनुसार खीर दूधमा चामल हालेर तयार गरिने खाद्य परिकार हो । दूध र चामल मिश्रित खीरलाई मात्रा अनुसार मिसाइने चिनी, घ्यू, सुख्खा फल आदिले अझ स्वादिलो र पोषिलो बनाउँछ ।
खीर खाने परम्परा वर्षौंदेखि नेपाली समाजमा विद्यमान छ । दही, चामल, दूध, चिनी र घ्यू मिसाएर बनाइने खीर केवल परिकार होइन, स्निग्धता, सद्भाव र आत्मीयताको प्रतिक हो। धेरै घरमा आजका दिन पितृ तर्पण गरिन्छ, देवता र कुलपूजामा खीर चढाइन्छ र सन्तानलाई खीर खुवाइन्छ । त्यसैगरी हाम्रो सनातन परम्परा अनुसार कुनै पनि शुभकार्यका लागि खीरलाई प्रसादका रुपमा लिइन्छ ।
निकै प्रचलित किंवदन्ती अनुसार द्वापर युगमा भगवान् श्री कृष्णले एक दिन साधारण साधुको भेष लिएर एक राजासँग बाघ–चाल खेल्न जानुभएको थियो। र, उनले आफ्नो जितको बदलामा राजाले विभिन्न मठ–मन्दिर हरूमा रहेका गरिब अनि दिनदुखीहरूलाई निःशुल्क खीर खुवाउनु पर्ने सर्त राख्नुभएको थियो। भगवान् श्री कृष्णले उक्त बाघचाल खेलमा राजामाथि विजय प्राप्त गरेको सम्झनामा आजसम्म पनि मठ-मन्दिरहरूमा दीनदुखीहरूलाई प्रसादको रूपमा खीर बाँड्ने चलन रहेको पाइन्छ । यसरी खीरले धार्मिक, सामाजिक र पारिवारिक महत्त्व बोकेको छ।
नेपाल कृषिप्रधान देश र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकोले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीस्वरूप खीर खाने परम्परा विकास भएको अग्रज संस्कृतिविद्हरू बताउछन् ।
विशेषगरी खीर खाने परम्परा कृषि र आत्मनिर्भरतासँग जोडिएको छ । चामल, दूध, घ्यू, चिनी, सख्खरजस्ता सामग्रीहरू प्रायः गाउँघरमै उत्पादन हुने वस्तु हुन् । यस परम्पराले स्थानीय उत्पादन, कृषकको मिहिनेत र ग्रामीण अर्थतन्त्रप्रतिको कदरलाई समेत उजागर गर्छ । यही कारणले खीर खाने परम्परालाई केवल सामाजिक-सांस्कृतिक महत्वको रुपमा मात्र नभएर कृषि सम्मान दिवसको रुपमा लिइन्छ ।
खीरले रोग प्रतिरोधात्मक क्षमता बढाउने भएकोले गर्मी मौसम र बर्खायाममा विभिन्न संक्रमित रोगबाट बच्न यो परम्परा स्थापित गरिएको स्वास्थ्यविद्हरू बताउँछन् । साँच्चै भन्नुपर्दा. खीर स्वास्थ्यको लागि एकदम धेरै लाभकारी छ ।
खीर स्वास्थ्यको लागि फाइदा :
खीरमा चामल र दुध मिश्रित परिकार भएकोले शरीरलाई तत्काल ऊर्जा प्रदान गर्दछ । चामलमा प्रशस्त मात्रामा कार्बोहाइड्रेट पाइन्छ ।
दुध क्याल्सियमको उत्कृष्ट स्रोत हो । दुधले हड्डी बलियो बनाउन मद्दत गर्छ । नियमित खीर खाँदा हड्डीसम्बन्धी समस्याबाट छुटकारा पाउन सकिन्छ । दुधमा प्रशस्त मात्रमा प्रोटिन र क्याल्सियम पाइन्छ । यसरी तयार पारिएको परिकारमा प्रशस्त मात्रमा क्यालोरी पाइन्छ जसले शरीरमा ऊर्जा प्रदान गर्ने गर्छ ।
खीरमा प्रयोग गरिने अलैंची, नरिवल र किसमिसजस्ता सामग्रीले पाचन प्रक्रियालाई सुधार्न मद्दत गर्छ । नरिवलमा फाइबर हुने हुँदा कब्जियतको समस्या कम गर्न मद्दत गर्छ ।
खीर बनाउँदा चामल, दुध, घिउ, सुख्खा नरिवल, छोकडा, अन्य ड्राइ फ्रुट र चिनी वा गुड मिसाएर पकाउँदा थप स्वादिलो हुनुको साथै यसरी पकाएको खानाबाट क्यालोरी, प्रोटिन, मिनरल, आइरन जस्ता शरीरलाई अत्यावश्यक पर्ने तत्व प्राप्त गर्न सकिन्छ ।
समग्रमा यो केवल खानाको परिकार होइन, यो हाम्रो परम्परा, सामाजिक–संस्कृति, कृषि, स्वास्थ्य र सामुदायिक भावनाको मिठो मिश्रण हो ।- संवाद खबर