पशुपतिनाथको भेटी गणना सार्वजनिक रुपमा गर्ने तयारी
१५ साउन, काठमाडौं । पशुपति विकास कोषका निमित्त सदस्य सचिव सुवासचन्द्र जोशीका अनुसार पशुपतिनाथको भेटी गणना सार्वजनिक रूपमा गर्ने तयारी गरिएको छ ।
बिहीवार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका राष्ट्रिय गौरवको आयोजनाको प्रगतिबारे छलफलमा पशुपति विकास कोषका सदस्य सचिव जोशीले उक्त विषयबारे जानकारी गराउनुभएको हो ।
छलफलमा सांसदहरूले भेटी (दान दक्षिणा) को पारदर्शितामाथि चासो र जिज्ञासा राख्नुभएको थियो । त्यही जिज्ञासालाई मेटाउनको लागि कोषका निमित्त सदस्य सचिव जोशीले भन्नुभयो, “हामीले अहिले सबै भेटीलाई एउटै कोठामा ल्याएर सीसीटिभीको निगरानीमा गणना गर्ने व्यवस्था गरेका छौँ । निकट भविष्यमा भेटी गणना गर्ने प्रक्रिया आम भक्तजनले पनि देख्न सक्ने गरी थप पारदर्शी बनाउने योजना छ ।”
हाल मन्दिर परिसरभित्रै एउटा कोठामा भेटी गणना हुँदै आएकामा त्यसलाई बाहिर ल्याएर भक्तजनले समेत देख्ने व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभएको छ ।