१२ मंसिर, काठमाडौं । कृषिलाई पर्यटनसँग जोड्ने लक्ष्यका साथ भोलि पोखरा महानगरपालिका–१९ पुरनचौरको चुरुङ्गामा दोस्रो संस्करणको दाइँ महोत्सव हुने भएको छ ।
महोत्सवले नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने र आन्तरिकरबाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। महोत्सवमा उत्कृष्ट गोरुपालक प्रतियोगिता, उत्कृष्ट धान उत्पादक प्रतियोगिता, धान चुट्ने प्रतियोगिता, परालको भारी बाँध्ने प्रतियोगिता, गुन्द्री बुन्ने प्रतियोगितालगायत प्रतियोगितात्मक गतिविधि हुने छन् ।
पोखरा पर्यटन परिषद्ले स्थानीय चुरुङ्गा टोल विकास विकास संस्थासँगको सहकार्य एवं पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा महोत्सव गर्न लागेको हो ।
परिषद्का अध्यक्ष तारानाथ पहारीका अनुसनर कृषि पर्यटनमार्फत देशको पर्यटन क्षेत्रलाई अझै फराकिलो बनाउन, नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउनुको साथै आन्तरिक तथा बाह्य पर्यटनको प्रवर्द्धनमा टेवा पुर्याउन महोत्सव आयोजना गरिएको हो । कृषिका माध्यमबाट पर्यटन प्रवर्द्धन, कृषकलाई प्रोत्साहन र नयाँ पुस्तालाई परम्परागत कृषि प्रणालीबारे जानकारी गराउने लगायतको उद्देश्य राख्दै महोत्सव आयोजना गरिएको महोत्सव संयोजक हरि भुजेलले जानकारी दिए ।
पर्यटनसँग हरेक क्षेत्र जोडिएको, कृषि पर्यटन पनि पर्यटन प्रवर्द्धनका निम्ति महत्वपूर्ण पक्ष भएकाले महोत्सव आयोजना गरिएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले जानकारी दिए।