धान्य पूर्णिमा ः अन्नको उत्सव र सांस्कृतिक संगम
१८ मंसिर, काठमाडौं । नेपाली संस्कृतिमा हरेक वर्ष मंसिर शुक्ल पूर्णिमाका दिन मनाइने धान्य पूर्णिमा एक महत्वपूर्ण पर्व हो । यो पर्व कृषिमा आधारित हाम्रो जीवनशैली, प्रकृतिको सम्मान र सामाजिक सौहार्दताको अनुपम उदाहरण हो । नयाँ धान भित्र्याएको खुसियालीमा मनाइने यो पूर्णिमालाई विभिन्न समुदायले आ–आफ्नो मौलिक तरिकाले मनाउँछन्, जसले यसलाई सांस्कृतिक संगमको रूप दिएको छ । धानको विधिपूर्वक पूजाआजा एवम् दान गरी धान्य पूर्णिमा पर्व मनाउने गरिन्छ । यस दिन धानको पर्वत दान गर्नु भन्ने शास्त्रोक्त मान्यता रहेको छ । धानलाई लक्ष्मीका रूपमा (धान्यलक्ष्मी) मानेर पूजा गर्ने परम्परा छ । भकारीमा भरेको धान कम नहोस् र धनधान्यले भरिभराउ होस् भन्ने उद्देश्यले मनाइने भएकाले यो पूर्णिमालाई ‘धान्य पूर्णिमा’ भनिएको हो । धान्य दान गर्ने सम्बन्धमा कल्पतन्त्रमा उल्लेख भए अनुसार यो दिनमा कुवेर, सुभद्रा र गणेशका साथै इन्द्रको पनि पूजा गरी धानको रास (पर्वत) दानु गर्नु पर्दछ ।
यस पूर्णिमामा पहाडी क्षेत्रमा कुल पूजा, घरमा दुहुनो गाई भएमा गोठ पूजा र गैडु पूजा गर्ने परम्परा छ, जहाँ किसानले आफ्ना कुलदेवतालाई नयाँ अन्न चढाउँछन् र कृषि कर्ममा सहयोग पु¥याउने गाईवस्तुको सम्मान गर्छन् । नयाँ धान भित्र्याएको खुसीयालीमा यस दिनमा नेवार समुदायले योमरी पूर्णिमा हर्षोल्लासका साथ मनाउँछन् ।
यसैगरी, प्रकृतिपूजक किरात समुदायले यसै दिनलाई उँधौली पर्वको रूपमा मनाउँछन् । उँधौलीको अर्थ ‘तल झर्ने’ हो । यो पर्वमा जाडो छल्नका लागि लेकबाट मानिस, जनावर र चराचुरुङ्गीहरू बेँसीतिर झर्ने संकेत स्वरूप प्रकृतिलाई धन्यवाद दिँदै पूजा गरिन्छ । यो प्रकृति र मानव जीवनबीचको गहिरो सम्बन्धको द्योतक हो । धान्य पूर्णिमाले समाजमा मेलमिलाप, दान र सहकार्यको भावनालाई बलियो बनाउँछ ।
– हिमाल दृष्टि, मासिक पत्रिका, मंसिर २०८२