प्रोत्साहनका केही शब्दहरू र सहयोगका लागि बढाइएको हातले मानिसको जीवनलाई खुसीले भर्न सक्छ ।
भ्यागुताको एउटा समूह वन-वनै डुल्दै यात्रा गरिरहेको थियो । यस्तै यात्राको क्रममा एक दिन त्यस समूहका दुईवटा भ्यागुता एउटा खाडलमा खसे । ती दुई भ्यागुता खसेपछि समूहका अरू सबै भ्यागुताले त्यस खाडलको वरिपरि भेला भएर खाडल कति गहिरो रहेछ भनेर विचार गरे। खाडल निकै गहिरो छ भन्ने थाहा पाएपछि उनीहरूले तल खसेका दुईवटा भ्यागुता अब माथि आउन सक्दैनन्, उनीहरूको आश मारे हुन्छ भन्ने प्रतिक्रिया दिन थाले ।
तल, खाडलभित्र भएका ती दुई भ्यागुता चाहिँ उफ्रिएर बाहिर निस्कने प्रयास गर्दैथिए। ती दुईले बाहिर निस्किने प्रयास गरिरहँदा बाहिर भएका भ्यागुताहरू भने प्रयास गर्नु बेकार रहेको र बाँच्ने आशा त्याग्न भनिरहेका थिए। ती दुईमध्ये एउटा भ्यागुतो चाहिँ अरूको कुरा सुनेर हतोत्साहित भयो । उसले प्रयास गर्न छोड्यो र केही समयपछि मर्यो ।
अर्को भ्यागुतोले भने आफ्नो प्रयासलाई झनै तीव्र बनायो । उसले निरन्तर प्रयास गरिरह्यो । माथि रहेका भ्यागुताले उसलाई “दुःख नगर, तिमी आउनै सक्दैनौ” भनिरहेका थिए। तर, उसले कसैको कुरा सुनेन र आफ्नो प्रयासलाई निरन्तरता दिइराख्यो । अन्ततः ऊ बाहिर निस्किन सफल भयो । ऊ बाहिर निस्किएपछि त्यहाँ भएको भ्यागुताको भीड हर्षले रमायो । अरू भ्यागुताले उसलाई सोधे, “के तिमीले हामीले भनेको सुनेनौ रु” उनीहरूको प्रश्नको आशय बुझेर त्यो भ्यागुताले आफ्नो सुन्ने शक्ति गुमेको र आफूले कान सुन्न नसक्ने बतायो । अनि, आफ्ना ती साथीहरूलाई धन्यवाद दिँदै भन्यो( “तिमीहरूले मलाई निरन्तर प्रोत्साहित गरिरहेकोमा धेरै-धेरै धन्यवाद ।”
यो कथाबाट के शिक्षा पाउँछौं भने भीडबाट आउने नकारात्मक प्रतिक्रिया सुनेर हामी कहिल्यै पनि हतोत्साहित हुनुहुँदैन । बरु त्यस्ता प्रतिक्रियाप्रति आफू बहिरो बनिदिनु उचित हुन्छ । आफ्नो निरन्तरको प्रयासले सफलता पक्कै पाउन सकिन्छ। अनि, अरूलाई हतोत्साहित पनि गर्नु हुँदैन बरु राम्रो काममा लागेका मानिसलाई प्रोत्साहन दिनुपर्दछ । बोल्नुअघि विचार गर्नुपर्दछ। सधैं उत्साह दिने सोच र शब्द प्रयोग गर्नुपर्छ किनभने विचार र शब्दमा ठूलो शक्ति हुन्छ । यसले हामी आफ्नो र अरूको जीवनमा पनि ठूलो प्रभाव पार्नसक्छ । – हिमाल दृष्टि (मासिक पत्रिका) २०७९, कार्तिक