SamwadKhabar logo

               

धर्मशास्त्र

देवोत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व

Samwad Khabar

Samwad Khabar

देवोत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व
—विजयप्रसाद मिश्र हिन्दू धर्ममा कार्तिक महिना ‘तुलसी आराधना’का लागि समर्पित छ । यस महिनाभरि नै तुलसीको बिरुवाको सेवा गर्नु अत्यन्त शुभ फलदायी मानिएको छ । कार्तिक महिनाकै शुक्लपक्षको एकादशी ‘देवोत्थानी एकादशी’ नामले प्रख्यात छ । यस पावन तिथिले देवत्वको जागरणको दिव्य आध्यात्मिक सन्देशसँगै पर्यावरण रक्षाको अमूल्य सूत्र समेत प्रदान गर्दछ । मान्यता के छ भने जगत्पालक श्रीहरि विष्णु आषाढ शुक्लपक्षको देवशयनी एकादशीका दिन वर्षाकालको चार महिनाको अवधिका लागि योगनिद्रामा जानु हुन्छ । समाज–जीवनले पनि वर्षायामका चार महिना व्यावहारिक कारणले संयमपूर्वक व्रत–साधना आदि गरेर बिताउने परम्परा छ । हिन्दू धर्ममा प्रत्येक मांगलिक कार्य श्रीहरिको साक्ष्यमा हुने भएकाले चतुर्मासमा विवाह आदि मांगलिक कार्यहरू गरिँदैन । वर्षाऋतु समाप्त भएपछि ऋषिगण देवोत्थानी एकादशीकै शुभ दिन श्रीहरिलाई यस्तो स्तुति गाउँदै जगाउँदछन्— ‘उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते । त्वयि सुप्ते जगन्नाथ जगत्सुप्तं भवेदिदम् ।।’ अर्थात् – हे गोविन्द ! अब तपाईँ जागा हुनुहोस् । निद्रा त्यागेर हजुर उठ्नुहोस् । हे जगन्नाथ ! हजुर सुतिरहे यो सम्पूर्ण जगत् सुतिरहनेछ । शास्त्रज्ञ भन्छन्, ऋषिहरूको यो प्रार्थना सुनेर श्रीहरिले योगनिद्रा त्यागी सृष्टि सञ्चालनमा पुनः सक्रिय हुनुहुन्छ । उहाँको जागरणसँगै यसै दिन तुलसी महारानी र शालिग्राम स्वरूप दामोदर भगवानको विवाह गराइन्छ । यस मङ्गलमय परिणयसँगै लोकका लागि पनि रोकिएका माङ्गलिक कार्यहरू पुनः सुचारू गर्ने बाटो खुल्छ ।  

पर्वले दिने प्रेरणा सूत्र “देवत्वको जागरण”

श्रेष्ठ आचरणले युक्त हुनु, धर्मनिष्ठ हुनु, संस्कारक्षम वातावरण निर्माण गर्ने हुनु, समाजमा सौहार्दता–सहृदयता र सहअस्तित्व जस्ता गुण विकास गर्ने हुनु ‘देवत्व’ हो । भगवान् श्रीकृष्णले भगवद्गीतामा भन्नुभएको छ— समाजले श्रेष्ठ व्यक्तिको आचरणलाई अनुसरण गर्दछ । यही भाव अर्थात् आफू श्रेष्ठ एवं सदाचारी भई विश्वलाई नै सदाचारको शिक्षा दिनसक्ने बनौँ भनी वेदले ‘कृण्वन्तो विश्वमार्यम्’ उद्घोष गरेको छ । यस देशका सन्ततिले आफ्नो श्रेष्ठतम व्यवहारद्वारा विश्वका मानिसको मन जित्नेछन् । सम्पूर्ण मानव जातिका सामु आफ्नो त्याग–तपोमय, पौरुषमय श्रेष्ठ जीवनद्वारा यस्तो आदर्श निर्माण गर्नेछन् जसबाट अरुले शिक्षा लिऊन् र सहजै अनुसरण गर्नसकून् भनी स्मृतिकार मनुमहाराजले पनि भन्नुभएको छ— एतद्देश प्रसूतस्य सकाशादग्रजन्मनाः । स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्या सर्व मानवाः ।। सद्गुणको आर्जन देवत्वको विकास हो वर्तमान समयमा जे श्रेष्ठ छ, उत्तम छ त्यसलाई हार्दिकताका साथ आत्मसात् गर्दै मूल्यबोधको आधारमा जे नकारात्मक, अभद्र तथा विध्वंशकारी छन् तीबाट बच्नलाई नीर–क्षीर विवेक पनि विकसित गरिनु आवश्यक छ । देवत्वले ‘म’ होइन ‘हामी’ भन्न सिकाउँछ । पृथ्वीमा मानव मात्र छैन, यहाँ वृक्ष–वनस्पति, पशु–पंक्षी र अनेकौँ प्रकारका जीवजन्तु छन्, जसका कारण पर्यावरणमा सन्तुलन छ । हिन्दू संस्कृतिले वसुधैव कुटुम्बकम् भनी शिक्षा दिएको छ । वसुधा भनेको पृथ्वी हो र वसुधैव–कुटुम्बकम् भनेको प्रकृति, वन, जल, नदी, वायु, अग्नि आदि हामी मानवसितै सहअस्तित्वमा रहेका सबै तत्त्व हुन् । उनीहरूलाई आफ्नो परिवारको रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, यो मन्त्रको मूल भाव हो । यद्यपि, दुष्ट, विधर्मी र आततायीहरूलाई आफ्नो परिवार ठान्ने निर्देशन कुनै धर्मशास्त्रले दिएको छैन । यसमा पनि हामी चनाखो हुन आवश्यक छ ।  

समाज जागरणका लागि ‘धर्म’को मर्म बुझ्नुपर्छ

आजभोलि हामी पूजा गर्नुलाई नै धर्म ठान्दछौँ । अनि भ्रमवश मजहब र रिलिजनलाई पनि धर्मको पर्यायवाची ठान्दछौँ । जबकि धर्म भनेको सार्थक पुरुषार्थ हो । सबैको पूजा–आराधना, साधना गर्ने विधि–विधान र अभिरुचि फरक–फरक हुनसक्छ । तर, धर्म सबैका निम्ति समान छ । व्यक्ति तथा समाजका लागि धर्म त्यो पुरुषार्थ हो जसले व्यक्तिलाई अनुशासनमा आबद्ध गर्दछ । सबैले आफ्नो कर्तव्य पूरा गर्नु धर्म हो । समाजमा गुमेको सन्तुलनलाई पुनर्स्थापित गर्नु र ब्रह्माण्डलाई सन्तुलनमा राख्नु धर्म हो । एकान्तमा साधना गर्नु र लोकान्तमा अर्थात् समाज जीवनमा संगठित भई कल्याणकारी काममा प्रवृत्त हुनु हाम्रो धर्म हो । समाज अहिले परिवर्तनको आकांक्षी छ । नेतृत्व अथवा नाराले वास्तविक परिवर्तन ल्याउँदैन । परिवर्तन देखिए पनि त्यो क्षणिक हुन्छ । तर, असल संस्कारले ल्याउने परिवर्तन दिगो हुन्छ । समाजको स्वस्थ एवं शान्तिपूर्ण जीवन केवल कानून र दण्डको भयले न त कहिल्यै चलेको थियो न कहिल्यै चल्न सक्छ नै । समाजको सुव्यवस्था धर्ममा आधारित छ— ‘धर्मेणैव प्रजाः सर्व रक्षन्ति स्म परस्परम्’ —समग्र प्रजाजन धर्मानुकूल जीवन जिउँथे अतः त्यही धर्मले सबैको रक्षा गर्दथ्यो । यसरी सबै परस्पर सुख–सौहार्दपूर्वक रहन्थे भनी शास्त्रले उल्लेख गरेको छ । यसो भन्नुको तात्पर्य हो, समाजलाई संस्कार र संस्कृतिले नै सुन्दर र सभ्य बनाउन सक्छ । धर्मनिरपेक्ष हुँदैमा समाज विकसित हुन्छ भनी विधर्मीले छरेको भ्रमबाट समाज मुक्त हुनुपर्छ ।

सामाजिक र पारिवारिक दायित्व बोध

प्रत्येक व्यक्तिमा देवत्वको जागरण भयो भने समग्र समाज असल बन्दछ । समाज असल भयो भने देशको भाग्य बदलिन्छ । हामीले परिवर्तनको आकांक्षा नै गरेका छौँ भने हाम्रो गुणवत्तामा, आचरणमा परिवर्तन हुनुपर्छ । यसका लागि सामाजिक एवं पारिवारिक दायित्वबोध आवश्यक छ । यस गहन दायित्वलाई बुझेर नयाँ पुस्तालाई घरैबाट सुसंस्कार दिइनुपर्छ । घरको वातावरण प्रसन्न, शुचितामय तथा संस्कार दिने बनोस् यो सुनिश्चित् गरिनु वर्तमान समयमा अपरिहार्य भएको छ । सामाजिक सञ्जाल र भिडियो गेमहरूले सिर्जित गरेको एकलकाँटे युगमा पारिवारिक एवं सामाजिक मूल्य के हुन् ? तिनको आवश्यकता किन पर्छ ? जस्ता प्रश्नको उत्तरसित आफ्ना सन्ततिलाई परिचित गराउनु पनि देवत्व जागरणकै पाटो हो ।

समग्र समाजको योगदान

भेदभावमुक्त, समतायुक्त, शोषणमुक्त, स्वार्थरहित समाज निर्माण गर्नतर्फ समग्र समाजले आफ्नो योगदान दिनुपर्छ । देवभूमि एवं वेदभूमि यस राष्ट्रलाई गौरवशाली राष्ट्र बनाउन सिङ्गो समाज साझेदार बन्नुपर्दछ । नेपाल मेरो मातृभूमि हो र म यसको सन्तान हुँ । यहाँ जति छन् सबै मेरा बन्धु–बान्धव नै हुन् । सबैको उन्नति–प्रगति मेरो कल्याण हो । यो भावको जागरण यस समाजलाई यहाँको मूल दर्शन— हिन्दुत्वले नै दिने गर्दछ । आफूमा देवत्वको जागरण गर्दै धर्मरूपी कर्तव्य निर्वाह गर्ने प्रेरणा तथा यस चिन्तनको रक्षा र विकास गर्ने चेतना सबैमा जागृत होस् । यही हरिबोधनी एकादशीको शिक्षा सूत्र हुनेछ ।  

ताजा

सबै

कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगलागी

जेठ ३, काठमाडौं । ललितपुरको कुपण्डोलस्थित हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीमा आगला…

अपाङ्गता भएका व्‍यक्तिको प्रदर्शनमा दमन नगर : मानव अधिकार आयोग

जेठ ३, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले अपाङ्गता भएका व्यक्तिहरूको भृकुटीमण्डप…

प्रतिनिधिसभाको बैठक बस्दै, कांग्रेसले संसद् अवरोध जारी राख्ने

जेठ ३, काठमाडौं । नेपाली कांग्रेसले बिहीवारको प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने जन…

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

लोकप्रिय

सबै

इतिहासकार ज्ञानमणि नेपालको निधन

जेठ १, काठमाडौं । इतिहासकार ज्ञानमणि नेपालको ९१ वर्ष उमेरमा निधन भएको छ । आज मंगल…

जिबी राईको पासपोर्ट रद्द गर्न प्रहरीको पत्राचार

जेठ १, काठमाडौं । सहकारी गठी प्रकरणमा फरार रहेका जीबी राईको पासपोर्ट रोक्का गर्न प्र…

उच्च अदालतबाट सन्दीप लामिछानेले पाए सफाइ

जेठ २, काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप …

३२ वर्षदेखि डोकोमा तरकारी बेच्दै स्याङ्जाकी लक्ष्मी खनाल

जेठ ३, काठमाडौं । स्याङ्जाको चापाकोट९ सेराकी लक्ष्मी खनाल डोकोमा तरकारी बोकेर घरखर्च…

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…