– भीम लामा
नेपाल बहुभाषा, धर्म र संस्कृतिको बहुआयामिक फूलबारी हो । धर्म, संस्कृतिको विविधताले नेपाल राष्ट्रको चिनारी बनाएको छ । विभिन्न जातजाति, धर्म, सम्प्रदायको सुन्दरता बोकेर नेपाल विश्वभर आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । धार्मिक तथा साँस्कृतिक विविधताकै कारण विश्वको नजर नेपालसामू पर्न सफल भएको छ ।
नेपाली मौलिक धर्म, संस्कृति तथा रितिरिवाजले नेपालीपनको झल्को दिएको छ । जहाँ मौलिक धर्म संस्कृति रहन्छ, त्यहाँ विश्वास र पहिचानको शक्ति स्थापित हुन्छ । धर्म र संस्कृति समाजलाई डो¥याउने एक पवित्र माध्यम पनि हो । विज्ञान र प्रविधिको विकास हुनुअघि मानव सभ्याताको विकासको विभिन्न कालखण्डमा आम्रा पुर्खाहरूले धर्म संस्कृतिका माध्यमबाट सामाजिक मूल्य मान्यता तथा अनुशासनको मागदर्शन गराएका थिए । समाजमा व्यक्तिलाई गलतमार्गबाट अलग रहन धर्म संस्कृतिले मार्ग निर्देशन गर्ने बौद्ध धर्मका विभिन्न ग्रन्थमा भेटिन्छ । विश्वमानव जगतलाई असल चरित्र, इमान्दारिता, सहयोग तथा सही मार्गमा हिडाउन गौतम बुद्धले दिनु भएको दिव्य दर्शन महत्वपूर्ण हुने विश्वभरीका विद्वानहरूले स्विकार्दै धेरै पुस्तकहरु लेखिएका छन् ।
बौद्ध धर्म नेपालको परिवेशमा हिन्दू धर्मपछिको दोस्रो स्थानमा रहेको छ । धार्मिक सहिष्णुता र लोक कल्याणका लागि बौद्ध धर्मले असल आचरणको अभ्यास गराउँदै सम्पूर्ण प्राणी जगतमा शान्तिको मार्गमा लाग्न सन्देश दिन्छ । नेपाल बुद्ध जन्मेको पवित्र थलोको रूपमा विश्वसामु चिनिएको छ । यसरी बुद्ध र बौद्ध धर्मबिचको अन्तर सम्बन्धबाट समाज चलिरहेको बौद्धमार्गीहरुको भनाई छ । आफ्नो मौलिक परम्परा, विधि, संस्कारको संरक्षण र सम्वद्र्धन गर्दै लानुपर्छ भन्ने समुह बढ्दै गए पनि पछिल्लो राष्ट्रिय जनगणना २०७८ को तथ्यांकले भने डर लाग्दो संकेत गरेको छ । यो बौद्ध धर्मावलम्बी र समुदायलाई चिन्ताको विषय हो । दश वर्षको अन्तरालमा हुने राष्ट्रिय जनगणनामा बौद्ध धर्मको संख्यामा ह्वात्तै कमि देखिनु बौद्ध समुदायमाथिको प्रहार र अस्तित्व मेटाउँदै जानु हो ।
राष्ट्रिय तथ्यांक विभागको प्रतिवेदन अनुसार सन् २००१ मा बौद्ध धर्मलम्बीहरुको जनसंख्या झण्डै २४.५ लाख रहेकोमा सन् २०११ मा आईपुग्दा २४ लाखभन्दा कम भएको थियो । सन् २०२१ म बौद्धमार्गीहरुको जनसंख्या २३,९३,५४९ रहेको देखिन्छ । कुल जनसंख्याको अनुपातमा ८.२१ प्रतिशतमा मात्र सिमित रहेको छ । त्यस्तै पहिलो स्थानमा ८१.११ प्रतिशत हिन्दू मान्नेहरुको जनसंख्या रहेको जनगणनाले देखाएको छ ।
यी तथ्यांकअनुसार नेपालमा अन्य धर्मको तुलनामा बौद्ध धर्मलम्बीहरूको जनसंख्या खस्किदै गएको देखिन्छ । बौद्ध धर्म विशेषत तामाङ, शेर्पा, गुरूङ, नेवार समुदायले मान्दै आएका छन् । मानव सभ्याताको विकाससँगै बोन धर्मावलम्बीहरू सांस्कृतिक विकास गर्दै बौद्ध धर्मको विशाल आध्यत्मिक यात्रामा लागि परे पनि आजका सन्तातीहरूले धर्म परिर्वतन गरिरहेका छन् । बौद्ध धर्मलाई सम्पन्न बनाउन यस समुदायका धर्मगुरूहरूको योगदान अतुलनीय छ । तर आज विभिन्न कारणले आफ्नो महान सांस्कृतिक विरासत छोडेर तामाङ, शेर्पा, नेवार गुरूङ समुदायका सदस्यहरू धर्मान्तरणको सिकार भईरहेका छन् । धर्मान्तरणकै कारण बौद्ध धर्म मान्ने समुदायको जनसंख्या घटिरहेको छ । यस तथ्याङले मौलिक परम्परा, पहिचान र अस्तित्वमाथी प्रश्न गरेको छ ।
अन्य अल्पसंख्यकको जनसंख्या बढ्दै जाँदा बौद्ध धर्म मान्नेहरूको जनसंख्या घट्दै जानु धार्मिक र सम्प्रदायिक रूपमा एक्यबद्धता नहुनु पनि हो कि ? अब सम्पूर्ण बौद्धमार्गीहरू आफ्नो धर्म संस्कृतिलाई जोगाउनका लागि सचेत नहुने हो भने अब १० वर्ष पछि हुने जनगणनामा अझ भयाबह स्थिति आउन सक्छ । हाम्रो साँस्कृतिक पहिचान र अस्तित्वको विषयमा गम्भीर रूपमा चासो लिनु आजको टड्कारो आवश्यकता भईसकेको छ भन्ने तथ्य आत्मसाथ गर्न जरुरी भईसकेको छ । अब पनि धर्म संस्कृतिको संरक्षणमा हामीले सामुहिक र संगठित रूपमा केही गर्न सकेनौं भनें भावी पुस्ताले हामीलाई धिक्कार्ने छ ।