वैशाख १७, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम-२ मा भएको उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले मतान्तर ३ हजारभन्दा बढी पुर्याएका छन् । सुहाङ आफूलाई पछ्याइरहेका नेपाली कांग्रेसका डम्बरबहादुर खड्काभन्दा ३०५९ मतले अगाडि छन् ।
सुहाङले १० हजार ३ मत पाएका छन् भने उनलाई नेपाली कांग्रेसका डम्बर खड्काले ६ हजार ९४४ मतसहित पछ्याइरहेका छन् ।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम ५ हजार ५९१ मतसहित तेस्रो स्थानमा छन् ।
रास्वपाका उम्मेदवार मिलन लिम्बुले १ हजार ४४३ मत पाएका छन् ।
यसैगरी, बझाङको प्रदेश सभा १ मा भएको उपनिर्वाचनमा नेकपा एमाले र कांग्रेसका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भएको छ ।
सुरुआति चरणमा एमालेका दमन भण्डारीले अग्रता लिएकोमा पछिल्लो समय कांग्रेसका अभिषेक सिंहले निरन्तर अग्रता लिएका छन् । तर, एमालेका भण्डारीले मतान्तर घटाइरहेका छन् ।
पछिल्लो परिणाम अनुसार सिंहले ९१६७ मतका साथ अग्रता लिइरहेका छन् भने भण्डारीले ९०८४ मतका साथ पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर ८३ मात्रै छ ।
तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनक बुढाले ३५३५ मत पाएका छन् भने एकीकृत समाजवादीका दिलबहादुर सिंहले २३४७ मत पाएका छन् ।