SamwadKhabar logo

               

समाचार

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

प्रमिला भुजेल

प्रमिला भुजेल

पुरानै शैलीमा पुनर्निर्माण हुँदै लमजुङ दरबार

२४ असार, काठमाडौं । चौबिसे राज्यका पालाको लमजुङ दरबार पुनर्निर्माण भइरहेको छ । सोह्रौँ शताब्दीमा बनेको जिकिर गरिएको उक्त दरबार जीर्ण भएपछि पुरातत्त्व विभागले दुई वर्षअघि पुनर्निर्माण थालेको थियो । विभागका इन्जिनियर गोविन्द अधिकारीका अनुसार दरबार पुनर्निर्माणमा झण्डै ७० प्रतिशत भौतिक प्रगति भएको छ ।

“स्रोतको कमी भएन भने आगामी आर्थिक वर्षभित्रमा काम पूरा गर्ने लक्ष्य लिइएको छ”, उनले भने, “यो वर्ष बजेट कम भएकाले सोचे जति काम हुन सकेन ।” गत आवमा रु एक करोड ३३ लाख बजेटबाट पुनर्निर्माण सुरु गरिएकामा चालु आवमा सरकारले जम्मा रु ५० लाख बजेट छुट्टाएको थियो । पहिलो वर्ष भक्तपुरको निर्माण कम्पनी ‘एनपीएस’ र यो वर्ष भक्तपुरकै ‘आरजिएसरविष्णु जेभी’ले दरबार पुनर्निर्माणको जिम्मा पाएको हो ।

इन्जिनियर अधिकारीले पुरानै शैली र स्वरूपमा दरबारको पुनर्निर्माण भइरहेको बताए । दरबारसहित ऐतिहासिक कालिका मन्दिरको पुनर्निर्माण पनि सँगसँगै भइरहेको उनको भनाइ छ । दरबार बुइँगलसहित तीनतले र कालिका मन्दिर प्यागोडा (छाने शैली)को बन्नेछ । दरबार बनाउन चाहिने इँटा, काठ, सुर्कीलगायत निर्माण सामग्री भक्तपुरबाट ल्याइएको इन्जिनियर अधिकारीले जानकारी दिए ।

“परम्परागत वास्तुकला झल्काउने गरी दरबार र मन्दिर पुनर्निर्माणको काम भइरहको छ, पुरातात्त्विक महत्वको संरचना भएकाले निर्माण सामग्री पनि महँगो पर्छ, मेहनत र समय पनि उत्तिकै लाग्छ”, उनले भने, “मौलिक शैली र स्वरूपमा दरबार बन्छ ।” दोस्रो तलाको गारो र झ्याल–ढोका राख्ने काम भइसकेको उनले बताए । 

उक्त ऐतिहासिक दरबारको संरक्षण योजनाअन्तर्गत पुरातत्त्व विभागले पुनर्निर्माणमा अगुवाइ गरेको हो । गाउँसहर कालिका मन्दिर संरक्षण तथा व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र बोहोराले यसै आवभित्र दरबार पुनर्निर्माण गरिसक्ने लक्ष्य लिइए पनि बजेटको सीमितताका कारण कामको प्रगति सुस्त देखिएको बताए । 

“अघिल्लो वर्षको तुलनामा यो वर्ष बजेट झन घटेर आयो, पर्याप्त बजेट आएन भने आउँदो वर्ष पनि दरबार पुनर्निर्माण पूरा हुने देखिन्न”, उनले भने, “पुरातत्त्व विभागले पुनर्निर्माणको काम गरे पनि लमजुङ दरबार कुन सरकारको मातहत रहने भन्ने अन्योल रहँदा ऐतिहासिक महत्वको सम्पदा ओझेलमा परेको छ ।” ऐतिहासिक धरोहरको रूपमा रहेको दरबार पुनर्निर्माण तथा व्यवस्थापनमा सङ्घ, प्रदेश सरकार र स्थानीय तहले लगानी गर्नुपर्ने उनको भनाइ छ । 

लमजुङको बेँसीसहर गाउँपालिका–३ गाउँसहरमा अवस्थित उक्त दरबार तथा कालिका मन्दिरलाई ऐतिहासिक तथा सांस्कृतिक सम्पदास्थलका रूपमा विकास गर्नुपर्ने आवाज जनस्तरबाट उठ्दै आएको छ । जीर्ण भएर अलपत्र अवस्थामा पुगेको दरबार पुनर्निर्माणले नयाँ आशा जगाएको अध्यक्ष बोहोराले बताए । 

“छिटो पुनर्निर्माण पूरा गर्न सकिएमा दरबारलाई पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सकिन्छ, यसबाट सिङ्गै लमजुङ जिल्लाको पहिचान र चिनारी देश विदेशमा फैलिन्छ”, उनले भने । गाउँसहरका भीमबहादुर गुरुङले पहिले झिङ्गटीले छाएको दरबार रहेको सुनाउनुभयो । पछिल्लो समय दरबारको छानो ढुङ्गाले छाइएको थियो । 

“बाउबाजेका पालादेखि नै यहाँ दरबार थियो, बडादसैँ र चैतेदसैँमा यहाँ विशेष पूजाआजा हुन्छ, टाढाटाढाबाट मानिस दरबार हेर्न गाउँसहर आउँछन्”, ७० वर्षीय गुरुङले भने, “दरबार पुरानो भएर छानो पनि चुहिने भएको थियो, अब नयाँ बन्न लागेको छ, हामी खुसी छौँ ।” विसं १५५० मा राजा यशोबह्म शाहले शासन सुरु गरेको उक्त दरबारमा पुराना तोप, तरबार, भालालगायत सामग्री सुरक्षित छन् । 

दरबार परिसरमा लमजुङ राज्यका पहिलो राजा यशोबह्मको अर्थकदको सालिकसमेत बनाइएको छ । समुद्री सतहदेखि एक हजार चार सय ४५ मिटर उचाइमा रहेको उक्त दरबारमा सदरमुकाम बेँसीसहरदेखि ३० मिनेटको मोटर यात्रामा पुगिन्छ । पर्यटकीय गाउँ काउलेपानीदेखि नजिकै दरबार अवस्थित छ । दरबारले १६ रोपनी क्षेत्रफल ओगटेको व्यवस्थापन समितिका अध्यक्ष बोहोराले जानकारी दिए । 

यस्तो छ लमजुङ दरबारको इतिहास

चौबिसे राज्य स्थापना हुने सिलसिलामा विसं १५२४ मा कास्की राज्य स्थापना भएको थियो । कास्कीका राजा कुलमण्डन शाहले आफ्ना माइला छोला कालु शाहलाई लमजुङ राज्य स्थापना गर्न भनी पठाएको डा राजाराम सुवेदीद्वारा लिखित ‘लजमुङ राज्य’ शीर्षकको आलेखमा उल्लेख छ । 

राज्य स्थापनाका लागि जाने क्रममा घले राजाका सेनाहरुबाट उनी मारिएपछि लमजुङका खाजे दुरा, नारायण दुरा, कुश्माखर घिमिरेलगायत ठकुरी राजा माग्न कास्कीकोट गएको सन्दर्भ उक्त आलेखमा छ । 

राजा माग्न गएका लमजुङेलाई कास्कीका राजा कुलमण्डनले बेस्सरी हकारेको र आफ्ना कान्छा छोरा यशोबह्मलाई राजा बनाउन लमजुङ खटाएको इतिहासमा उल्लेख छ । कास्कीकोटबाट आएका यशोबह्मले वि.सं १५५० असार १५ गते लमजुङ राज्यको गद्दी सम्हालेका थिए । राजा यशोबह्मको मृत्युपछि उनका जेठा छोरा नरहरि शाह वि.सं १५९८ मा लमजुङ राज्यको राजा भए । नरहरिपछि चुडा शाह, अचित शाह, नरेन्द्र शाह, केहरीनारायण शाह, भीम शाह, रीपुमर्दन शाह, वीमर्दन शाह गरी  नौ पुस्ताले सो दरबारबाट शासन चलाएका थिए । 

वि.सं १८३९ कात्तिकसम्म शाहवंशका राजाले लमजुङ दरबारबाट शासन चलाएको इतिहासमा उल्लेख छ । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउने गर्दथे । प्राचिनकालबाटै लमजुङ क्षेत्र लिच्छवि शासनअन्तर्गत पथ्र्यो । 

पृथ्वीनाराण शाहले बाइसे चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल विस्तारको अभियान थाले । वि.सं १८३९ मा पृथ्वीनारायण शाहकी बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारहरुको भनाइ छ । – रासस

ताजा

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…

लोकप्रिय

सबै

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

आजदेखि इन्द्रजात्रा सुरु

३० भाद्र, काठमाडौं । काठमाडौँ उपत्यकामा आजदेखि इन्द्रजात्रा सुरु भएको छ । हनुमानढोका…

वसन्तपुरमा कुमारीहरूको सामूहिक पूजा

३१ भाद्र, काठमाडौं । काठमाडौँको वसन्तपुर क्षेत्रमा रहेको तलेजु भवानी मन्दिर अगाडि कु…

राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित

३१ भाद्र, काठमाडौं । राष्ट्रियसभाका दुई समितिमा सभापति निर्वाचित भएका छन् । सोमवार र…

यो पनि

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

नेसनल डे कन्सर्टमा बालेनको पक्षमा नारा लगाउनेहरुमाथि हातपात

३ असोज, काठमाडौं । दरबारमार्गमा आयोजना भइरहेको नेसनल डे कन्सर्टमा आज काठमाडौं महान…

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे  छलफल

भक्तपुरमा अत्याधुनिक वीर अस्पताल निर्माणबारे छलफल

३ असोज, काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माणको प्रकृया अघि …

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

माइतीघरमा सर्वोच्च अदालतको फैसलाविरुद्ध प्रदर्शन, नदीको मापदण्ड नबढाउन माग

३ असोज, काठमाडौं । वाग्मती, विष्णुमतीलगायत नदी किनारमा थप २० मिटर खुला क्षेत्र छाड्न…

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

संविधान संशोधनमा सहमतिको अधिकतम प्रयास गरिनेछ: प्रधानमन्त्री

३ असोज, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको राजनीतिक स्थिरताका लागि सकेस…