११ साउन, काठमाडौं । कला–संस्कृतिले समृद्ध मिथिलाञ्चलमा सुखद दाम्पत्य जीवनको कामना गर्ने मधुश्रावणी पर्व प्रारम्भ भएको छ । मधुश्रावणी पर्व नवविवाहिताले शिव, पार्वती र नागदेवताको आराधनाका साथ पतिसँगको गाढा प्रेम र अटल सौभाग्यको कामना गर्दै श्रावण कृष्ण पञ्चमीदेखि विशेष विधिका साथ १३ दिनसम्म मनाइन्छ ।
यो पर्वमा वर्तालु र नवविवाहित स्त्रीहरु सुन्दर वस्त्रमा सजिएर सूर्यास्त हुनपूर्व सामूहिक प्रणयगान र ‘फूललोढी’ (फूल खोज्ने) परम्परा रहेको छ । पूजा-अर्चनाका लागि एक दिनअघिको सन्ध्याकालमा सामूहिक रूपमा फूल खोज्न निस्कने विधिलाई ‘फूललोढी’ भनिन्छ । यो पर्वमा भगवान् शंकर र देवी गौरीलाई बासी फूल चढाउने चलन छ । पर्वभर सामूहिक रूपमा गीत गाउँदै ‘फूललोढी’ मा निस्केका मिथिलानीहरूबीच नयाँघरको र पतिसँगको सम्बन्ध आदानप्रदान हुने गर्छ ।
पर्वको प्रारम्भ भने आत्मशुद्धि र व्रत संकल्पबाट हुन्छ । वर्तालु पर्वको एक दिनअघि नै हातगोडाका नङ् काटी नुहाइ–धुवाइ गरेर शुद्ध हुन्छन् । पर्वभर चोखो भोजन गरिन्छ । घरकी जेष्ठ महिला सदस्यले वर्तालुलाई पर्वका विधि सिकाउने गर्छन् । सामान्यतया माइतीघरमा यो पर्व मनाइने प्रचलन भएपनि यस अवधिभरिको वस्त्र र खाद्यान्न भने पतिले नै पुर्याइदिने चलन छ । मधुश्रावणीमा नवदुलहीको जाँघमा तातो दियो वा मैनबत्तीले डाम्ने चलन थियो । यो विवादको विषय बनेपछि अहिले भने चिसो दियोेले मात्र डाम्ने चलन सुरु भएको हो ।
पर्वको अभीष्ट नै पतिसँगको गाढा प्रेम भएकाले सखीहरु एकआपसमा पतिले गर्ने व्यवहार, घरको अनुभव साटासाट गर्छन् । सूर्यास्त हुनपूर्व प्रणयगीत गाउँदै आकर्षक वस्त्रमा सजिएर फूललोढीका लागि निस्केका उनीहरूका गीतले बाटो हिँड्ने जोसुकैको मन खिच्ने गर्छ । यो नै पर्वको मुख्य आकर्षण हो ।
ब्राह्मण, कायस्थ र देव जातिले मधुश्रावणी पर्व मनाउँछन् । पतिघरबाट आएका सामग्री प्रयोग गरेर माइतमा मनाइने यो पर्व मिथिला लोकसंस्कृतिको अभिन्न अंग बनेको मिथिलानी बताउँछन्।
शिव, पार्वती र विषहराको पूजाआराधना गरेपछि बर्तालुलाई जेष्ठ महिलाले कथा सुनाउँछन्। यिनमा पौराणिक गाथामा आधारित मैना पञ्चमी, विषहरी, बिहुला, मनसा, मङ्गला गौरी, पृथ्वीको जन्म, समुद्र मन्थन र सतीका कथा सुनाइन्छ ।
रासस