११ कार्तिक, काठमाडौं । गुल्मीको रेसुङ्गामा पहिलोपटक ‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञको सञ्चालन भएको छ । रेसुङ्गा संरक्षण समितिको आयोजनामा रेसुङ्गा क्षेत्रमा रहेको गौशालामा सञ्चालनमा भएको महोत्सव कात्तिक १६ गते गाई तिहारका दिनसम्म सञ्चालन हुनेछ ।
‘गो’ महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञमा दैनिक पण्डित रमेश सुवेदीले प्रवचन दिने कार्यक्रम रहेको छ ।
रेसुङ्गा संरक्षण समितिका सह–सचिव यज्ञप्रसाद पन्थीका अनुसार महोत्सव तथा श्रीमद्भावगत ज्ञानमहायज्ञमा गाईको महत्वलगायतका विभिन्न विषयमा ज्ञानवद्र्धक जानकारीहरु प्रस्तुत गरिने छ ।
हिन्दु धार्मिक परम्परा अनुसार गाईको महत्व थप टेवा पुर्याउने उदेश्यले ‘गो’ महोत्सव आयोजना गरिएको समितिका सह–सचिव पन्थीले बताउनुभयो । गाईको सेवा तथा गाईदान गर्नाले मृत्युपछि वैतरणी तरिन्छ भन्ने धार्मिक शास्त्रहरुमा उल्लेख रहेको छ ।
महोत्सवमा संकलित हुने रकमबाट गाईहरुको दीर्घकालीन संरक्षण र सम्वद्र्धनका लागि अक्षय कोष स्थापना गर्ने प्रमुख उद्देश्यसमेत राखिएको आयोजकले जनाएको छ ।
२०४२ सालदेखि व्यवस्थित रुपमा रेसुङ्गा गोशाला चौतारामा स्थानीय जातका गाईहरु संरक्षण गरिदैं आएको छ । अहिले १५० भन्दा बढी स्थानीय जातका गाईहरु संरक्षित रहेका छन् । गाईको दूध, गहुँत, गोबर समेत हिन्दु परम्परा अनुसार पवित्र मानेर पुज्ने गरिन्छ ।
गाउँमा गाईहरु पाल्ने प्रचलन घट्दै गए पनि रेसुङ्गागामा रहेको गौशालमा व्यवस्थित रुपमा गाईहरु पालिदै आएको छ ।
वनमा चर्ने गाईको गहुतबाट विभिन्न रोगहरुको निम्ति औषधि हुने मान्यता रहेको छ । प्रायः सबै ठाउँमा स्थानीय जातका गाईहरु पाल्न छोडेकाले लोप हुने अवस्था गाईलाई बचाउनको लागि पनि गौशालामा गाईहरु पालिंदै आएको छ ।