अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै
२० कार्तिक, काठमाडौं । अमेरिकामा आज राष्ट्रपति निर्वाचन हुँदै छ । निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति कमला ह्यारिसबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो ।
अमेरिकाको सर्वोच्च नेतृत्वमा ह्यारिसको रूपमा पहिलो महिला र अझ एसिया–अफ्रिकी मूलकी महिलालाई चुन्ने अवसर छ । ह्यारिसले चुनाव जिते अमेरिकी राजनीतिमा एउटा इतिहास नै बन्नेछ । त्यस्तै ट्रम्प विजयी भएमा दोस्रोपटक देशको सर्वोच्च पदमा पुग्ने अवसर पाउनेछन् । अमेरिकी राष्ट्र प्रमुखलाई विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्न र विदेश नीति तय गर्न उल्लेख्य स्वतन्त्रता हुन्छ । मतदाताले देशको राष्ट्रपतिसँगै संसद सदस्यहरू पनि चयन गर्नेछन् ।
आज मतदान हुने भएपछि दुवै उम्मेदवारले सोमवार अन्तिम चुनावी अभियान चलाएका थिए । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए ।
संसारकै महाशक्ति देशको निर्वाचनलाई विश्वभरले उत्सुकतापूर्वक हेरिरहेको छ । राष्ट्रपति निर्वाचनमा निकै कडा प्रतिस्पर्धा हुने र दुवै उम्मेदवारले जित्ने सम्भावना उत्तिकै रहेको चुनाव अगाडि गरिएका केही पछिल्ला सर्वेक्षणले देखाएका छन् । आइतबार सार्वजनिक गरिएको सिबिएस न्युजरयुगोभ सर्वेक्षणले ट्रम्पको सम्भावना ४९ प्रतिशत र ह्यारिसको ५० प्रतिशत रहेको देखाएको छ । राष्ट्रिय सर्वेक्षणमा ह्यारिस ट्रम्पभन्दा एक अंकले अगाडि छिन् । अमेरिकाको एबिसी टेलिभिजनले गरेको अन्तिम सर्वेक्षणअनुसार राष्ट्रिय रूपमा दुवै उम्मेदवारले बराबर (४९/४९ प्रतिशत) प्राप्त गर्ने देखिएको छ ।
अहिलेसम्म साढे सात करोड मानिसले इमेलमार्फत मतदान गरिसकेका छन् ।