२० कार्तिक, काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेसहित चार जनालाई थप १० दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ । कात्तिक २ गते काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई आज मङ्गलवार अदालतले तेस्रो पटक म्याद थपेको हो ।
न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेसहित चार जनालाई थप १० दिन म्याद थप गरेको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिनुभयो । लामिछानेसँगै सूर्यदर्शन सहकारीकै रकम ठगी आरोपमा पक्राउ परी कास्की प्रहरीको हिरासतमा रहनुभएका गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, लीला पछाई र रामबहादुर खनालविरुद्ध पनि थप १० दिन म्याद थपिएको छ ।
पहिलो पटक कात्तिक ४ गते उहाँलाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न अदालतले अनुमति दिएको थियो । दोस्रोपटक सात दिन म्याद थप भएकोमा तिहार बिदा परेकाले मङ्गलवारमात्र लामिछानेलाई अदालत लगिएको थियो ।
पूर्वगृहमन्त्रीसमेत रहनुभएका लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा कास्कीको सूर्यदर्शन सहकारीबाट अवैध रुपमा रकम लगी हिनामिना भएको आरोप छ । सङ्गठित अपराध, सहकारी ठगी र सम्पत्ति शुद्धिकरणमा अनुसन्धान गर्न लामिछानेलाई थप २५ दिन हिरासतमा राख्ने अनमति माग गरिएको थियो । लामिछानेको पक्षबाट अधिवक्ताहरू नारायण घिमिरे, नारायण कँडेल, सुशील पन्त लगायतले बहस गर्दै बयान सकिएकाले रिहा गर्न माग गर्नुभएको थियो । लामिछाने कात्तिक २ गते पक्राउ पर्नुभएको थियो ।
सहकारी पीडितकोतर्फबाट अधिवक्ता युवराज पराजुली र सरकारी वकिल कार्यालयकी सविता काफ्लेले थुनामै राखी अनुसन्धान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।