झापा । आफ्नो मौलिक स्वधर्म-संस्कृतिको संरक्षण र संवर्द्धन गर्नुपर्छ, आफ्नो मौलिकतालाई बिर्सिएर पथभ्रष्ट हुनुहुँदैन, आफू स्वयं नैतिक र चरित्रवान भइ समाजमा आदर्श स्थापित गर्नुपर्छ भन्ने मान्यताको अलख जगाउने किराँत धर्मका महान् गुरु तथा समाज सुधारक महागुरु फाल्गुनन्दको जन्मजयन्ती उहाँप्रति श्रद्धावनत नेपाली समाजले कार्तिक २५ गते मनाउँदै आएको छ ।
महागुरु फाल्गुनन्दको जन्म विक्रम सम्वत् १९४२ को कार्तिक २५ गते आइतबार इलाम जिल्लाको इभाङ ५, चुक्चिनाम्बामा बाबु लालबाज लिम्बु लिङ्देन र आमा हंसमती बेघा लिम्बुका साँहिला छोराको रूपमा भएको थियो ।
उहाँको न्वारनको नाम भने नरध्वज लिङ्देन थियो । तत्कालीन परम्परा अनुसार बाल्यकालमा सिकिस्त बिरामी भएका फाल्गुनन्दलाई फलामका चुरा बनाएर हातमा रख्खे (रक्षाबन्धन) लाइदिएमा स्वस्थ हुन्छ भनेकाले उहाँका हातमा फलामका चुरा पहिराइएको थियो । त्यही चुराका कारण उहाँको नाम फलामसिंह पनि रहन गएको भनिन्छ ।
फाल्गुनन्द सेनामा रहँदा समेत साँझ–बिहान पूजा पाठमा तल्लिन रहनुहुन्थ्यो । फौजमा उहाँको त्यो चाला देखेर उहाँलाई ‘तपस्वी’, ‘योगी’, ‘ध्यानी’ जस्ता उपनामले समेत पुकारिन्थ्यो । सेनामा छँदै उहाँले युद्धबाट अरूमाथि विजय प्राप्त गर्नसके पनि आफू स्वयंमाथि विजय प्राप्त गर्न नसके मानवताको कल्याण नहुने र शान्ति समेत स्थापना हुन नसक्ने बोध गर्नुभएको थियो ।
आठ वर्षको कलिलो उमेरमै इलामको जीतपुर ८ खत्रक्पा भन्ने ठाउँमा उहाँले ज्ञानप्राप्ति गर्नुभएको थियो । बाल्यकालमै उहाँले हत्या हिंसा गर्न नहुने, असत्य भाषण गर्नु नहुने, नारीजाति सृष्टिकर्ता हुनाले उनीहरूलाई समाजमा उच्च सम्मान दिनुपर्ने, आफ्नो कुलदेवतालाई सधैं बिहान–बेलुकी शुद्ध भइ ‘माङसेवा’ ९पूजा आराधना० गर्नुपर्ने, मांसाहार र मदिरापान गर्न नहुने जस्ता नैतिक आदर्श बोध गर्नुभएको थियो ।
वि.सं. १९६४ मा गाउँका अन्य युवासरह उहाँ पनि बेलायती फौजमा भर्ती हुनुभयो । तत्कालीन भारतको क्वेंट सहर (हाल पाकिस्तान) मा उहाँले रिक्रुट तालीम पनि पाउनुभयो ।
जोसमणि सन्त ज्ञानदिल दासका शिष्य मधुनन्द महाप्रभुसँग उहाँको भेट इरावती नदीको किनार (बर्मा) मा भएको कुरा डा. स्वामी प्रपन्नाचार्यले ‘मिल्केका झिल्का’ पुस्तकमा गर्नुभएको छ- “अवश्यमेव भोक्तव्यं कृतं कर्म शुभाशुभम्ु आफूले गरेको कर्मको फल शुभ होस् अथवा अशुभ होस् अवश्य नै भोग्नुपर्छ। फलामसिंहको पूर्वजन्मको कर्म र संस्कार राम्रो थियो त्यो विकसित हुँदै गयो । आज पुण्यको प्रभावले इरावती नदीको तटमा गुरु मधुनन्दजीसँग भेट भयो । गुरु मधुनन्द महाप्रभु ज्ञानदिल दासका शिष्य थिए। गुरु मधुनन्दजीसँग भेट भएपछि केही अध्यात्म विषयमा चर्चा भयो । ध्यानी फलामसिंह संस्कारी थिए । गुरु मधुनन्दजीसँग केही समय सत्सङ्ग गर्ने इच्छा फलामसिंहले प्रकट गरे । यस तथ्यलाई स्वीकार गरेपछि फलामसिंह मधुनन्दजीकै आश्रममा बसेर शिक्षा र योगको दीक्षा फलामसिंहले लिए। मधुनन्द गुरुबाट केही वेदशास्त्र, योगशास्त्र, योग, वेदान्त आदिको शिक्षा तथा योग प्राप्त गरेर फलामसिंह फलगुनन्द भएपछि जसमनि सम्प्रदायमा पूर्ण दीक्षित भए। माता हंसवती र पिता असुवन्तको सार्थक पुत्र भएर स्वदेश फर्के । फलगुनन्द महाप्रभु सरस्वती सत्यहाङ्मा आदि नामले प्रसिद्ध भए ।”
फाल्गुनन्द सेनामा रहँदा समेत साँझ–बिहान पूजा पाठमा तल्लिन रहनुहुन्थ्यो । फौजमा उहाँको त्यो चाला देखेर उहाँलाई ‘तपस्वी’, ‘योगी’, ‘ध्यानी’ जस्ता उपनामले समेत पुकारिन्थ्यो । सेनामा छँदै उहाँले युद्धबाट अरूमाथि विजय प्राप्त गर्नसके पनि आफू स्वयंमाथि विजय प्राप्त गर्न नसके मानवताको कल्याण नहुने र शान्ति समेत स्थापना हुन नसक्ने बोध गर्नुभएको थियो । यस कारण उहाँले बेलायती सेनामा लगभग १३ वर्ष व्यतित गरेपछि जागिरबाट राजिनामा दिएर समस्त किराँती जातिहरूका मौलिक धर्म–संस्कृतिको संरक्षण गरिनुपर्ने आवश्यकताबारे सचेत गराउँदै भारतका चारधाम, काशी–मथुरा आदि विभिन्न स्थान लगायत भुटान हुँदै पूर्वी नेपालको इलाम आफ्नो जन्मस्थल आइपुग्नुभयो ।
आफ्नो गाउँ–ठाउँ, आफ्नो जात तथा विशेष गरी किराँती जातिका लिम्बु समुदायमा सामाजिक विसंगति, विकृतिले गाँजेको भयावह स्थितिलाई देखरे उहाँले विक्रम संवत् १९८८ वैसाख २४ गते तत्कालीन किरात याक्थुङ बृहद् चुम्लुङ बोलाएर नित्य इष्टदेव सेवा पूजापाठ गर्ने, माङहिम निर्माण गर्ने, स्वमातृभाषा र लिपिमा आधारित विद्यालय स्थापना गरी पढाउने, पूजाआजामा बलिप्रथा, जीवहिंसा, रक्तपातको सट्टा नैवेद्य, धूपबत्ती आदि प्रयोग गर्ने, छोरा र छोरीलाई समानताको व्यवहार गर्नुपर्ने, मांसाहार, जाँड–रक्सी र अन्य मादक पदार्थ सेवन नगर्ने, धाननाच मङ्सिरमा धान झाँट्ने समयमा मात्र नाच्ने, सूतक, विवाह, मृतक, रजस्वला आदिबारे निश्चित निर्देशनसहितको दशबुँदे सत्यधर्म मुचुल्का पारित गर्नुभएको थियो ।
मदिरा, बली प्रथालगायतलाई निषेध गर्ने र किरातीहरुलाई अति तडकभडकयुक्त बिहे संस्कारबाट जोगाउने लगायतका सामाजिक सुधारका नयाँ नीतिहरु समावेश गरिएको ‘सत्य हाङ्मा (धर्म) मुचुल्का’ लाई फाल्गुनन्दको मुख्य सन्देशको रुपमा लिइने गरिएको छ ।
विसं २००५ चैत २२ गते ६६ वर्षको उमेरमा पाँचथरको इम्बुङमा उहाँले इहलौकिक शरीर त्याग्नुभयो ।
महागुरु फाल्गुनन्दलाई बि.स. २०६६ साल मङ्सिर १६ गते राष्ट्रिय विभूति घोषणा गरियो ।
महागुरुको धार्मिक–आध्यात्मिक शिक्षाबारे डा. स्वामी प्रपन्नाचार्यले लेख्नुभएको छ— “गुरुको उपदेश हुँदा जुन बेला पनि फेवास र युमासाँ अर्थात् महादेव र पार्वतीलाई माने चर्चा धेरै हुन्थ्यो किरातहरूको इष्टदेव शिव र पार्वती नै हो भन्नुहुन्थ्यो अर्थात् किरातहरूको इष्टदेव किरातेश्वर हो भन्ने सिद्धान्तमा विशेष उहाँको जोड थियो। अतः उहाँ गुरुको मान्यता, धारणा र उपदेशले स्पष्ट छ कि गुरु फलगुनन्द शैव सिद्धान्तको हुनुहुन्थ्यो ।”
महागुरु फाल्गुनन्दको उपदेशको सार सनातन
१. स्वधर्म स्वसंस्कृति स्वसंस्कार अवलम्बन गर्नु ।
२. अहिंसावादी हुनु ।
३. भोग बलि प्रथा निषेध गर्नु ।
४. नारी समानता अपनाउनु ।
५. शिक्षा दीक्षामा जोड दिनु ।
६. स्वभाषा लिपि नत्याग्नु ।
७. धुम्रपान मध्यपान सेवन नगर्नु ।
८. देव तुल्य कर्म गर्नु ।
९. वनस्पतिको संरक्षण गर्नु ।
१०. एकतामा जोड दिनु ।
११. परस्त्री गमन नगर्नु ।
१२. सधैँ सत्यवादी हुनु ।
१३. आफूले आफूलाई चिन्नु ।
महागुरु फाल्गुनन्दको १४०औं जन्म जययन्तीको अवसरमा किरात धर्म प्रेमी, सनातन धर्म स्वधर्म अनुरागीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।
(आलेख : विजय प्रसाद मिश्र, बुद्धशान्ति, झापा)