५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाले सिप मेलाबाट तालिम लिएका ३० जना प्रशिक्षार्थीहरुलाई मासिक न्युनतम १८ हजार रुपैयाँ पारिश्रमिकसहित विद्युतीय र अन्य सवारी साधन मर्मतको ‘अन द जब’ का लागि पठाउने भएको छ ।
यसका लागि महानगरपालिका र चाँगुनारायण फाउन्डेसन बिच सम्झौता भएको छ । महानगरपालिकाका तर्फबाट सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौला र फाउन्डेसनका तर्फबाट अध्यक्ष मनिराज खत्रीले हस्ताक्षर गर्नुभएको सम्झौता मंगलवार उपप्रमुख सुनिता डंगोल र सामाजिक विकास समितिका संयोजक रामकुमार के. सी. को उपस्थितिमा आदान–प्रदान भयो ।
सबैको भूमिका जोडेर साझा लक्ष्य पूरा गर्न सकिने बताउनुहुँदै उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, “हामी वहुसाझेदार कार्यक्रममा पनि खुला छौँ । यसबाट दिगो नतिजा निकाल्न सकिनेमा विश्वास राखेका छौँ ।"
गएको वर्ष महानगरपालिकाले सिप मेलाबाट प्रदान गरेको अटो इलेक्ट्रिकमा ४० जना इलेक्ट्रिकल भेहिकल (इभी) मा ६० जना गरी १ सय जनाले १ महिने तालिम लिनुभएको थियो । उहाँहरुमध्ये सबैलाई सम्पर्क गर्दा ५० जनाले रोजगारीमा जान इच्छा देखाउनुभयो । अरुबाट रोजगार र स्वरोजगारमा भएको सूचना प्राप्त भयो । सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झाका अनुसार इच्छुक ५० जनामध्ये ३० जना छनोट गरेर ‘अन द जब ट्रेनिङ्’ मा पठाइनेछ । यसरी पारिश्रमिकसहितको तालिम र रोजगारीका लागि निजी तथा उद्योग वाणिज्य क्षेत्रका प्रतिनिधिहरुले प्रतिवद्धता जनाउनुभएको छ । सम्झौता गरेर प्रतिवद्धतालाई कार्यान्वयनमा लगिनेछ ।
फाउन्डेसनसँग २०८३ असार मसान्तसम्मका लागि सम्झौता भएको हो । यसबमोजिम प्रशिक्षार्थीलाई आधारभूत तालिम दिएर महानगरपालिकाले ‘अन द जव ट्रेनिङ्’ का लागि सिफारिस गर्नेछ । यसपछि कार्यस्थलमा सिप सिक्ने प्रबन्धको संयोजन फाउन्डेसनले गर्नेछ । कार्यस्थल रहेको उद्योगबाट ९ हजार रुपैयाँ र फाउन्डेसनले ९ हजार रुपैयाँ प्रदान गर्नेछन् ।
सिपमूलक तालिमबाट पेशा र व्यापार सिकाउन ‘अन द जब ट्रेनिङ्’ कार्यक्रम सञ्चालनमा निजी, उद्योग वाणिज्य तथा साझेदार संघ संस्थाको सहकार्यका विषयमा परामर्श बैठक सम्पन्न भएको छ । यस कार्यक्रममा सिपमूलक तालिमको २० प्रतिशत भार कक्षा कोठामा सैद्धान्तिक र ८० प्रतिशत भार विषयसँग सम्बन्धित उद्योग र पेशाको कार्यस्थलमा गएर व्यवहारिक सिप सिक्नुपर्छ । कार्यस्थलमा सिप सिक्दा पारिश्रमिक पनि उपलब्ध गराइन्छ । गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत अप्रेन्टिसिप कार्यक्रम सञ्चालन हुनेछ ।
बैठकमा उद्योग, वाणिज्य तथा निजी क्षेत्र र साझेदार संघसंस्थाका प्रतिनिधिहरुबाट प्राप्त गुनासा र सुझावहरुको सम्बोधन गर्दै उपप्रमुख सुनिता डंगोलले भन्नुभयो, ‘सबैको प्रयत्न र सहभागिताबाट मात्र कार्यक्रममा नतिजा प्राप्त गर्न सकिन्छ । यसका लागि हामी सम्बद्ध क्षेत्रका कुरा सुन्न खुला छौँ । यसरी आउने प्रतिक्रियाको निचोडबाट तर्जुमा गरिने कार्यक्रम दिगो र लाभदायी हुन्छ । यसमा सहकार्य गर्न पनि हामी खुला छौँ ।” विद्यालयको औपचारिक शिक्षामा सिपमूलक तालिमलाई स्थापित गर्दै लगेको बताउँदै उहाँले सिपमूलक तालिमबाट वेरोजगारी घटाउने र आर्थिक क्रियाकलाप बढाउने लक्ष्य हासिल गर्ने कार्यक्रमलाई विभिन्न कोणबाट कार्यान्वयनमा ल्याएको जानकारी दिनुभयो ।
विगतका भोगाइ र सिकाइ तथा वर्तमानको माग र आवश्यकताका आधारमा कार्यक्रम कार्यान्वयन गर्दै जाने बताउनुहुँदै सामाजिक समितिका संयोजक रामकुमार के. सी. ले भन्नुभयो, “सिपमूलक तालिम कार्यक्रम सम्पन्न गर्न मात्र होइन । यहाँबाट उत्पादन भएका जनशक्ति उद्योगको आवश्यकता पूरा गर्न सक्ने बन्न सकुन् भन्नेमा सचेत छौँ ।”
बैठकमा उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिहरुले आफूहरुलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्नमा शैक्षिक प्रतिष्ठानहरुबाट ध्यान नपुगेको गुनासो गर्नुभयो । “तालिम नलिएका व्यक्तिलाई काममा राखेर सिप प्रदान गर्छौँ । सिप प्राप्त गरिसकेपछि ऊ वैदेशिक रोजगारीको सपना बनाउँछ ।” समस्या सुनाउँदै उहाँहरुले भन्नुभयो, ‘सिपमूलक तालिम पाएका व्यक्तिलाई रोजगारी दिन, तालिमसँगै रोजगारी दिन आफूहरु प्रतिवद्ध रहेको बताउनुभयो ।’
महानगरपालिकाले उत्पादन गरेका दक्ष जनशक्तिलाई उचित रोजगारीको सम्भावनाका लागि साझेदारहरुसँग नियमित छलफल भइरहेको कार्यक्रमका फोकल पर्सन शान्ता पहाडीले जानकारी दिनुभयो ।
अप्रमाणित दक्ष, प्रमाणित दक्ष, अप्रमाणित अर्धदक्ष तथा अदक्ष र प्रमाणित अर्धदक्ष तथा अदक्ष जनशक्तिको व्यावसायिक सिप परीक्षण, स्तर र योग्यताका लागि महानगरपालिकाले नियमित काम गरिरहेको छ ।