नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा देवेन्द्र दोहोरिए
वैशाख २१, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) दोहोरिएका छन् । एनएसजेएफको १७औँ वार्षिक साधारणसभाबाट सुवेदी तीन वर्षको कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
सुवेदीले ५९ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी प्रकाश तिमल्सिनाले ३३ मत पाए । मञ्चको प्रथम उपाध्यक्षमा निरन्जन अधिकारी सर्वसम्मत भए भने उपाध्यक्षमा सन्जिव शिल्पकार र गोविन्द रेग्मी पनि सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै, प्रज्वल ओली महासचिव, अन्जन खड्का सचिव र सुजन श्रेष्ठ कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए । खुला सदस्यमा अनिल मल्ल ठकुरी, कुशल तिमल्सिना र निशाल राई निर्वाचित भए भने महिला सदस्यमा मुना कार्की निर्वाचित भइन् । अनिलले ६८, निशानले ६५ र कुशलले ५३ मत प्राप्त गरे । सदस्यका अर्का प्रत्यासी सन्जिव शाहले २८ मत पाए । महिला सदस्यमा विजयी मुनाले ६२ मत प्राप्त गर्दा उनका प्रत्याशी लक्ष्मी जिसीले ३१ मत पाइन् । मञ्चका कुल सदस्य १०० जना रहेकामा नेपालमा उपलब्ध भएका ९८ सदस्यमध्येबाट ९४ मत खसेको थियो । अध्यक्ष पदमा दुई मत बदर भएको थियो ।
अध्यक्षमा निर्वाचित देवेन्द्र सुवेदीले अघिल्लो कार्यकालमा पूरा गर्न नसकेका काम अबको कार्यकालमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । साथै उनले एनएसजेएफले नयाँ गति लिने बताए ।