पूनरागमन जित निकाल्दै रियल म्याड्रिड, च्याम्पियन्स लिगको फाइनलमा
२२ बैशाख काठमाडौँ ।
बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगमा म्यानचेस्टर सिटीलाई ३–१ ले हराउँदै रियल फाइनल पुगेको हो । स्पेनिस क्लब रियल म्याड्रिडले शानदार पूनरागमन जित निकाल्दै युइएफए च्याम्पियन्स लिगको फाइनलमा स्थान बनाएको छ ।
पहिलो लेगमा ३–४ ले पछि रहेको रियल दोस्रो लेगको खेलको अन्त्यतिर ३–५ को स्थितिमा रहँदा च्याम्पियन्स लिगबाट बाहिरिने संघारमा पुगेको थियो ।
सान्टियागो बर्नबेउमा गए राति भएको प्रतिस्पर्धात्मक खेलको ७३औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीलाई दोस्रो लेगमा १–० को अग्रता दिलाएका थिए । त्यसपछि जिततर्फ अग्रसर बनेको सिटीविरुद्ध रोड्रिगोलको दुई मिनेटमा अन्तरमा दुई गोल गर्दै रियलको सम्भावना जीवित राखे ।
६८औं मिनेटमा टोनी क्रुसको स्थानमा मैदान छिरेका रोड्रिगोले ९०औं मिनेटमा करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । लगत्तै रोड्रिगोले मार्को एसेन्सियोको पासमा गोल गर्दै खेलमा २–१ को अग्रता लिदा खेल समग्रमा ५–५ गोलको बराबरीमा पुग्यो ।
त्यसपछि अतिरिक्त समयको पाँचौ मिनेटमा कप्तान बेन्जेमाले पेनाल्टीमा गोल गर्दै खेललाई ३–१ को स्थितिमा ल्याए । करिम बेन्जेमाले ९५औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै रियलाई ३–१ को जित दिलाए ।
अब रियलले उपाधिका लागि २९ मे मा इंग्लिस क्लब लिभरपुलको सामना गर्नेछ ।