नेपाल र अमेरिकाबीचको खेल बराबरीमा
२९ जेष्ठ, काठमाडौँ ।
आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा नेपाल र अमेरिकाबीचको खेल बराबरीमा टुंगिएको छ । क्रिकेट मैदानमा नेपालले २ सय ७४ रन बनाएको, अमेरिकाले ५० ओभरमा ६ विकेट गुमाएर २ सय ७४ रन जोडेपछि खेल बराबरीमा सकिएको हो ।
अमेरिकालाई जितको लागि अन्तिम ६ बलमा ६ रन चाहिँएको अवस्थामा आदिल अन्सारीले पाँच रन खर्चिदै खेललाई बराबर गराए । दुबै टोलीले खेलमा एक एक अंक बाँडेका छन् । अमेरिकाका स्टिभन टेलरले १ सय २३ बलमा ११ चौका र ३ छक्कासहित १ सय १४ रनको शतकीय इनिङ खेले ।
कप्तान मोनांक पटेल १ सय १५ बलमा ४ चौका र २ छक्कासहित ८५ रनमा आउट भए । सुशान्त मोदानी १७ तथा राहुल जरिवाला १० रनमा आउट भए ।
कप्तान सन्दीप लामिछानेले पटेललाई विकेटकिपर विनोद भण्डारीबाट क्याच गराउँदै दोहोरो शतकीय साझेदारी तोडेका थिए । आदिल अन्सारीको ४४ औं ओभरको पाँचौ। बलमा ठूलो सट खेल्ने धुनमा टेलर सन्दीपबाट क्याच आउट भएका थिए । आदिल अन्सारीले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । सन्दीप लामिछाने र सोमपाल कामीले १–१ विकेट लिए ।
नेपालका रोहित पौडेलले ७२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ६२ रनको इनिङ खेले । मुसा क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ४९.२ ओभरमा २ सय ७४ रनमा अल आउट भयो ।
लिग टु मा नेपाल १४ खेलमा १३ अंक जोडेर छैटौं स्थानमा रहेको छ । अमेरिका २२ खेलमा २१ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।