देवोत्थानी एकादशी | देवत्व जागरणको प्रेरक पर्व
—विजयप्रसाद मिश्र
हिन्दू धर्ममा कार्तिक महिना ‘तुलसी आराधना’का लागि समर्पित छ । यस महिनाभरि नै तुलसीको बिरुवाको सेवा गर्नु अत्यन्त शुभ फलदायी मानिएको छ । कार्तिक महिनाकै शुक्लपक्षको एकादशी ‘देवोत्थानी एकादशी’ नामले प्रख्यात छ । यस पावन तिथिले देवत्वको जागरणको दिव्य आध्यात्मिक सन्देशसँगै पर्यावरण रक्षाको अमूल्य सूत्र समेत प्रदान गर्दछ ।
मान्यता के छ भने जगत्पालक श्रीहरि विष्णु आषाढ शुक्लपक्षको देवशयनी एकादशीका दिन वर्षाकालको चार महिनाको अवधिका लागि योगनिद्रामा जानु हुन्छ । समाज–जीवनले पनि वर्षायामका चार महिना व्यावहारिक कारणले संयमपूर्वक व्रत–साधना आदि गरेर बिताउने परम्परा छ । हिन्दू धर्ममा प्रत्येक मांगलिक कार्य श्रीहरिको साक्ष्यमा हुने भएकाले चतुर्मासमा विवाह आदि मांगलिक कार्यहरू गरिँदैन । वर्षाऋतु समाप्त भएपछि ऋषिगण देवोत्थानी एकादशीकै शुभ दिन श्रीहरिलाई यस्तो स्तुति गाउँदै जगाउँदछन्—
‘उत्तिष्ठोत्तिष्ठ गोविन्द त्यज निद्रां जगत्पते ।
त्वयि सुप्ते जगन्नाथ जगत्सुप्तं भवेदिदम् ।।’
अर्थात् – हे गोविन्द ! अब तपाईँ जागा हुनुहोस् । निद्रा त्यागेर हजुर उठ्नुहोस् । हे जगन्नाथ ! हजुर सुतिरहे यो सम्पूर्ण जगत् सुतिरहनेछ ।
शास्त्रज्ञ भन्छन्, ऋषिहरूको यो प्रार्थना सुनेर श्रीहरिले योगनिद्रा त्यागी सृष्टि सञ्चालनमा पुनः सक्रिय हुनुहुन्छ । उहाँको जागरणसँगै यसै दिन तुलसी महारानी र शालिग्राम स्वरूप दामोदर भगवानको विवाह गराइन्छ । यस मङ्गलमय परिणयसँगै लोकका लागि पनि रोकिएका माङ्गलिक कार्यहरू पुनः सुचारू गर्ने बाटो खुल्छ ।
पर्वले दिने प्रेरणा सूत्र “देवत्वको जागरण”
श्रेष्ठ आचरणले युक्त हुनु, धर्मनिष्ठ हुनु, संस्कारक्षम वातावरण निर्माण गर्ने हुनु, समाजमा सौहार्दता–सहृदयता र सहअस्तित्व जस्ता गुण विकास गर्ने हुनु ‘देवत्व’ हो ।
भगवान् श्रीकृष्णले भगवद्गीतामा भन्नुभएको छ— समाजले श्रेष्ठ व्यक्तिको आचरणलाई अनुसरण गर्दछ । यही भाव अर्थात् आफू श्रेष्ठ एवं सदाचारी भई विश्वलाई नै सदाचारको शिक्षा दिनसक्ने बनौँ भनी वेदले ‘कृण्वन्तो विश्वमार्यम्’ उद्घोष गरेको छ । यस देशका सन्ततिले आफ्नो श्रेष्ठतम व्यवहारद्वारा विश्वका मानिसको मन जित्नेछन् । सम्पूर्ण मानव जातिका सामु आफ्नो त्याग–तपोमय, पौरुषमय श्रेष्ठ जीवनद्वारा यस्तो आदर्श निर्माण गर्नेछन् जसबाट अरुले शिक्षा लिऊन् र सहजै अनुसरण गर्नसकून् भनी स्मृतिकार मनुमहाराजले पनि भन्नुभएको छ—
एतद्देश प्रसूतस्य सकाशादग्रजन्मनाः ।
स्वं स्वं चरित्रं शिक्षेरन् पृथिव्या सर्व मानवाः ।।
सद्गुणको आर्जन देवत्वको विकास हो
वर्तमान समयमा जे श्रेष्ठ छ, उत्तम छ त्यसलाई हार्दिकताका साथ आत्मसात् गर्दै मूल्यबोधको आधारमा जे नकारात्मक, अभद्र तथा विध्वंशकारी छन् तीबाट बच्नलाई नीर–क्षीर विवेक पनि विकसित गरिनु आवश्यक छ ।
देवत्वले ‘म’ होइन ‘हामी’ भन्न सिकाउँछ । पृथ्वीमा मानव मात्र छैन, यहाँ वृक्ष–वनस्पति, पशु–पंक्षी र अनेकौँ प्रकारका जीवजन्तु छन्, जसका कारण पर्यावरणमा सन्तुलन छ । हिन्दू संस्कृतिले वसुधैव कुटुम्बकम् भनी शिक्षा दिएको छ । वसुधा भनेको पृथ्वी हो र वसुधैव–कुटुम्बकम् भनेको प्रकृति, वन, जल, नदी, वायु, अग्नि आदि हामी मानवसितै सहअस्तित्वमा रहेका सबै तत्त्व हुन् । उनीहरूलाई आफ्नो परिवारको रूपमा संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, यो मन्त्रको मूल भाव हो । यद्यपि, दुष्ट, विधर्मी र आततायीहरूलाई आफ्नो परिवार ठान्ने निर्देशन कुनै धर्मशास्त्रले दिएको छैन । यसमा पनि हामी चनाखो हुन आवश्यक छ ।
समाज जागरणका लागि ‘धर्म’को मर्म बुझ्नुपर्छ
आजभोलि हामी पूजा गर्नुलाई नै धर्म ठान्दछौँ । अनि भ्रमवश मजहब र रिलिजनलाई पनि धर्मको पर्यायवाची ठान्दछौँ । जबकि धर्म भनेको सार्थक पुरुषार्थ हो । सबैको पूजा–आराधना, साधना गर्ने विधि–विधान र अभिरुचि फरक–फरक हुनसक्छ । तर, धर्म सबैका निम्ति समान छ । व्यक्ति तथा समाजका लागि धर्म त्यो पुरुषार्थ हो जसले व्यक्तिलाई अनुशासनमा आबद्ध गर्दछ । सबैले आफ्नो कर्तव्य पूरा गर्नु धर्म हो । समाजमा गुमेको सन्तुलनलाई पुनर्स्थापित गर्नु र ब्रह्माण्डलाई सन्तुलनमा राख्नु धर्म हो । एकान्तमा साधना गर्नु र लोकान्तमा अर्थात् समाज जीवनमा संगठित भई कल्याणकारी काममा प्रवृत्त हुनु हाम्रो धर्म हो ।
समाज अहिले परिवर्तनको आकांक्षी छ । नेतृत्व अथवा नाराले वास्तविक परिवर्तन ल्याउँदैन । परिवर्तन देखिए पनि त्यो क्षणिक हुन्छ । तर, असल संस्कारले ल्याउने परिवर्तन दिगो हुन्छ । समाजको स्वस्थ एवं शान्तिपूर्ण जीवन केवल कानून र दण्डको भयले न त कहिल्यै चलेको थियो न कहिल्यै चल्न सक्छ नै । समाजको सुव्यवस्था धर्ममा आधारित छ—
‘धर्मेणैव प्रजाः सर्व रक्षन्ति स्म परस्परम्’
—समग्र प्रजाजन धर्मानुकूल जीवन जिउँथे अतः त्यही धर्मले सबैको रक्षा गर्दथ्यो । यसरी सबै परस्पर सुख–सौहार्दपूर्वक रहन्थे भनी शास्त्रले उल्लेख गरेको छ । यसो भन्नुको तात्पर्य हो, समाजलाई संस्कार र संस्कृतिले नै सुन्दर र सभ्य बनाउन सक्छ । धर्मनिरपेक्ष हुँदैमा समाज विकसित हुन्छ भनी विधर्मीले छरेको भ्रमबाट समाज मुक्त हुनुपर्छ ।
सामाजिक र पारिवारिक दायित्व बोध
प्रत्येक व्यक्तिमा देवत्वको जागरण भयो भने समग्र समाज असल बन्दछ । समाज असल भयो भने देशको भाग्य बदलिन्छ । हामीले परिवर्तनको आकांक्षा नै गरेका छौँ भने हाम्रो गुणवत्तामा, आचरणमा परिवर्तन हुनुपर्छ । यसका लागि सामाजिक एवं पारिवारिक दायित्वबोध आवश्यक छ । यस गहन दायित्वलाई बुझेर नयाँ पुस्तालाई घरैबाट सुसंस्कार दिइनुपर्छ । घरको वातावरण प्रसन्न, शुचितामय तथा संस्कार दिने बनोस् यो सुनिश्चित् गरिनु वर्तमान समयमा अपरिहार्य भएको छ ।
सामाजिक सञ्जाल र भिडियो गेमहरूले सिर्जित गरेको एकलकाँटे युगमा पारिवारिक एवं सामाजिक मूल्य के हुन् ? तिनको आवश्यकता किन पर्छ ? जस्ता प्रश्नको उत्तरसित आफ्ना सन्ततिलाई परिचित गराउनु पनि देवत्व जागरणकै पाटो हो ।
समग्र समाजको योगदान
भेदभावमुक्त, समतायुक्त, शोषणमुक्त, स्वार्थरहित समाज निर्माण गर्नतर्फ समग्र समाजले आफ्नो योगदान दिनुपर्छ । देवभूमि एवं वेदभूमि यस राष्ट्रलाई गौरवशाली राष्ट्र बनाउन सिङ्गो समाज साझेदार बन्नुपर्दछ ।
नेपाल मेरो मातृभूमि हो र म यसको सन्तान हुँ । यहाँ जति छन् सबै मेरा बन्धु–बान्धव नै हुन् । सबैको उन्नति–प्रगति मेरो कल्याण हो । यो भावको जागरण यस समाजलाई यहाँको मूल दर्शन— हिन्दुत्वले नै दिने गर्दछ । आफूमा देवत्वको जागरण गर्दै धर्मरूपी कर्तव्य निर्वाह गर्ने प्रेरणा तथा यस चिन्तनको रक्षा र विकास गर्ने चेतना सबैमा जागृत होस् । यही हरिबोधनी एकादशीको शिक्षा सूत्र हुनेछ ।