चैत्र–महाअष्टमी ‘चैते दसैँ’को महत्त्व
नेपाल सांस्कृतिक रूपले सम्पन्न मुलुक मानिन्छ । यहाँ विभिन्न समयमा विभिन्न जाति तथा संस्कृतिका मानिसहरू आ–आफ्नै मौलिक विशेषता बोकेका चाडपर्वहरू मनाउने गर्दछन् । ती चाडपर्वहरूमा पनि दसैँले विशेष महत्त्व बोकेको छ । दसैँ अधिकांश नेपालीहरूको महान् चाड हो । दसैँ वर्षमा दुईपटक मनाउने गरिन्छ । असोज महिनामा मनाइने दसैँलाई बडा दसैँ भनिन्छ भने चैतमा मनाइने दसैँलाई चैते दसैँ भनिन्छ ।
वर्षका चार नवरात्रमध्ये असोज र चैतको नवरात्रलाई जाग्रत दसैँका रूपमा लिने परम्परा छ । दुवै दसैँ दुर्गा भवानीको पूजा गरेर नै मनाउने गरिन्छ ।
चैते दसैँलाई वासन्ती नवरात्रका रूपमा लिने गरिन्छ । चैते दसैँको मुख्य दिनका रूपमा अष्टमीलाई लिइन्छ । दुष्ट दैत्यको संहार गरी पृथ्वीलोकलाई राक्षसहरूबाट देवीले बचाएको उत्सवका रूपमा दसैँको महत्त्व रहेको छ । नैष्ठिक व्यक्तिहरू यस नवरात्रलाई देवीको पूजाआराधना गरेर बिताउँछन् । अष्टमीका दिन अष्टमातृकाको पूजा गर्ने चलन पनि रहिआएको छ । प्राचीन कालमा यही दसैँ नै मुख्य रहेको तर जाडो याम सकिएर गर्मी याम आउने भएकाले गरिष्ठ भोजनका कारण मानिसहरू बिरामी हुने कुरालाई मध्यनजर गर्दै यसलाई असोजमा सारिएको जनविश्वास रहेको छ । यसको लगत्तै रामनवमी पर्व रामको जन्मोत्सवका रूपमा नेपालीहरू मनाउने गर्दछन् । रावणमाथि विजय प्राप्त गर्नुपूर्व त्रेतायुगमा रामले पनि देवीको पूजाअर्चना गरेको प्रसङ्गको चर्चा भएको पाइन्छ ।
यतिखेर शक्तिकी देवीका रूपमा दुर्गा, काली आदिका मन्दिर तथा शक्तिपीठहरूमा श्रद्धालुहरू दर्शनार्थ जाने गर्दछन् । अष्टमीलाई विशेष दिन मानिने भएकाले यस दिन देशभरका प्रायः देवीमन्दिरहरू सजिएका र भक्तहरूले भरिएका हुन्छन् । मानिसहरू घरमै स्थापना गरेर देवीको आराधना पनि गर्दछन् । चण्डी (दुर्गासप्तशती) को पाठपारायण गर्नाका साथै देवीका स्तोत्रहरूले मन्दिर र श्रद्धालुहरूका आवास क्षेत्र गुञ्जित हुन्छन् । सक्नेहरू आफैँ पाठ गर्छन् भने कतिपय आस्थावान्हरू गुरूपुरोहितमार्फत् पाठ गराउँछन् । मन्दिरमा दर्शन गर्न सहज होस् भनेर समितिहरूले विशेष व्यवस्था गरेका हुन्छन् ।
देवीको आराधना गरे घरमा अनिष्ट नहुने विश्वास गरिन्छ । देवीले सङ्कटबाट बचाउने र शक्ति प्रदान गर्ने भएकाले शक्तिस्वरूपिणी र सङ्कटनाशिनीका रूपमा देवीको पूजा हुने गरेको हो । चैते दसैँमा पनि अष्टमीका दिन नेपालका शक्तिपीठहरूमा बलि दिने गरिन्छ । दसैँलाई रमाइलो पर्वका रूपमा मनाउने गरिन्छ । देवीको प्रसाद ग्रहण गर्दा रोगव्याधिको पनि नाश हुने विश्वास गरिन्छ ।
आजकल दसैँको नाममा मांसमदिराको प्रयोग बढ्न गएको देखिन्छ । आफन्त भेटघाट गर्नु, खुसी आदानप्रदान गर्नु, भेला हुनु आदिले आपसी सम्बन्धलाई बढावा दिएको हुन्छ तर पर्वको नाममा विकृतिले प्रश्रय पाउनु सरासर गलत हो । यस पर्वमा देखापरेका विकृतिहरूलाई घटाएर यसको महत्त्वलाई जोगाइराख्नु पूर्वीय संस्कृतिका अनुयायी हामी सबैको कर्तव्य हो । भावी पिँढीको धार्मिक आस्थालाई यथावत् राख्न पनि अभिभावकहरू सजग हुने बेला आएको छ । हाम्रो चिनारीलाई गलत ढङ्गले हामीले प्रयोग गर्न दिनुहुन्न । दुर्गा भवानीले सबैलाई सद्बुद्धि प्रदान गरून् ।
शरणागतदीनार्तपरित्राणपरायणे ।
सर्वस्यार्तिहरे देवि नारायणि नमोऽस्तु ते ।।
(शरणमा आएका दुःखी, रोगीहरूको रक्षाका लागि सदैव तयार रहने र सबैको दुःखपीडालाई हरण गरिदिने हे नारायणी देवी ! हजुरलाई नमस्कार छ ।)
— गणेश तिमल्सिना