SamwadKhabar logo

               

धर्मशास्त्र

रामनवमी महापर्व : सामाजिक समरसताको सन्देश दिने श्रीरामको पावन स्मरण

Samwad Khabar

Samwad Khabar

रामनवमी महापर्व : सामाजिक समरसताको सन्देश दिने श्रीरामको पावन स्मरण
चैत्रशुक्लप्रतिपदा तिथिबाट नयाँ संवत्सर (वर्ष आरम्भ हुन्छ । नयाँ वर्षको आरम्भ भगवती दुर्गाको आराधना गर्दै यसै दिनदेखि वसन्त ऋतु–अन्तर्गत नवरात्र पर्व मनाउने हाम्रो परम्परा छ । महाअष्टमीका दिन विशेष गरी नेपाली समाजमा चैते दसैँ मनाइन्छ । त्यसको भोलिपल्ट, नवमी तिथिमा भगवान् श्रीरामको पावन जन्मोत्सव श्रीरामनवमी पर्व मनाउँदै हामी नवीन वर्षभरिका लागि श्रीरामका अनुकरणीय जीवनबाट प्रेरणा लिन सङ्कल्पित हुने गर्दछौँ । सदाचारपूर्ण जीवनचर्यासँगै हामी व्यक्तित्व, परिवार र समाजमा धर्म–स्थापनाका निम्ति अभिमुख हुन्छौँ । विश्वका प्रथम महाकवि हुन् ऋषि वाल्मीकि र विश्वकै पहिलो महाकाव्य हो वाल्मीकीय रामायण । यसमा वर्णित श्रीरामकथालाई उपजीव्य बनाएर प्राचीन पौराणिक कालदेखि आजपर्यन्त अनेकौँ साहित्य सृजना भएका छन् । कतिपय रामायण नामले नै प्रकाशित पठित र विख्यात भएका छन् भने कतिपय ग्रन्थको नाम भिन्न रहे पनि मूलकथा श्रीरामकथा नै रहेको छ । रामकथा वाचन, गायन, श्रवणसँगै लीला मञ्चनको आयोजना हिन्दू जनमानसका निम्ति अतिप्रिय कार्य हो । सहस्रौँ वर्षदेखि भारतवर्षका निवासीले र पछिल्लो समयमा विश्व मानव समुदायले नै पनि श्रीरामको जीवन गाथा पढ्दै, सुन्दै र गाउँदै आएका छन् किनकि कर्तव्यको पथप्रदर्शन गराउनमा र मानव जीवनका लागि प्रेरणा दिनमा उहाँको पावन गाथा सर्वोपरि छ । यदि रामायणलाई हामीले हिन्दू जीवनको कर्तव्य–शास्त्र भन्ने हो भने यसमा थोरै पनि अतिशयोक्ति हुने छैन, किनभने भगवान् श्रीरामको जीवनमा पाइला–पाइलामा हामी कर्तव्य पालनको दिग्दर्शन गर्दछौँ । उहाँ जन–जनका लागि यस्ता प्रेरणा पुरुष हुनुहुन्छ जसले कर्तव्य निर्वहनको एउटा यस्तो उदाहरण प्रस्तुत गर्नुभयो जुन सारा विश्व र समस्त मानवताका लागि अनुकरणीय छ । श्रीरामावतारको प्रत्येक लीला अनुकरणीय छ । धर्मको प्रतिष्ठा, अधर्मको नाशका साथै उहाँको जीवन उपेक्षितहरूलाई स–सम्मान प्रतिष्ठित गराउनमा समर्पित थियो । हेरौँ केही गुण— मानवीय मर्यादा–पालन— स्वयं ईश्वरावतार हुँदा–हुँदै पनि मानवधर्म र व्यवस्थाको आदर्श स्थापित गर्दै गुरुकुलमा सामान्य छात्रका रूपमा शिक्षा लिन पुग्नुभयो । गुरुलाई सेवाद्वारा सधैं सन्तुष्ट राख्न उँहालाई कहिल्यै राजकुमार हुनुको विशिष्टताले छेकेन । गुरुआज्ञाको शब्दशः पालन गर्नुभयो । उपेक्षितको उद्धार— परिवार एवं समाजको उपेक्षाका कारण पीडाले ढुङ्गा झैं कठोर बनेर बसेकी थिइन् ऋषिपत्नी अहिल्या । तिनको चरणश्पर्श गरी उहाँलाई समाजमा पुनः प्रतिष्ठा दिलाउनुभयो । कुशल नेतृत्व— राक्षसी आतङ्कले आक्रान्त थियो ऋषिसमुदाय । मानव मात्र नभएर जगत्–कल्याणका लागि यज्ञ सञ्चालन गर्ने ऋषि विश्वामित्रको अभीप्सा घरिघरि राक्षसी उत्पातका सामु पराजित हुँदैथियो । यस्तो समयमा युवा अवस्थाका श्रीराम एवं लक्ष्मणले नै कुशल नेतृत्वका साथ अराजक हिंस्रक तइभ्वलाई विनाश गरी यज्ञरक्षाका गरी त्यसलाई पूर्ण गराउनमा सहयोग गर्नुभएको थियो । मानसिक समता र पारिवारिक समरसता— विपरीत परिस्थितिमा जीवनबाट हार मानेर निराश–हताश भएका व्यक्तिहरूका लागि भगवान् श्रीरामको जीवन एउटा प्रेरणाको स्रोत हो । उहाँको जीवन त विपरीत परिस्थितिहरूको शृङ्खला नै थियो जसमा सामान्य व्यक्ति कि त निराशा–हताशाको गर्तमा खसेर आफ्नो जीवन नै नष्ट गरिदिन्छन् । अथवा ईष्र्या–क्रोधको वशिभूत भएर पारिवारिक तथा सामाजिक सदाचार एवं नैतिक मर्यादाहरूको उल्लङ्घन गरिबस्दछन् । तर भगवान् श्रीरामले जीवनमा आइपरेका ती सबै संकटहरूको सामना अति नै शिष्टतापूर्वक गर्नुभयो । आफ्नो सबैभन्दा पीडादायक क्षणहरूमा पनि उहाँले आफूलाई अत्यन्त गरिमापूर्ण राख्नुभयो । सदैव सदाचार एवं नैतिक मर्यादाहरूको प्रतिष्ठा गर्नुभयो । यही मानव जीवनको सबैभन्दा ठूलो सम्पत्ति हो । न त उहाँ युवराजका रूपमा अभिषेक हुने कुरामा प्रफुल्लित हुनुहुन्थ्यो न पिताले चौध वर्षको वनवासको आज्ञा दिँदा निराश नै । सहजता र असहता दुबैप्रति मनमा समताको भाव राखेर उहाँले दुबै आज्ञा शिरोधार्य गर्नुभयो । राज्याभिषेकको समयमा विमाता कैकेयीद्वारा चौध वर्षको वनवासको आदेशलाई सहर्ष स्वीकार गर्दा उहाँको मनमा कैकेयीप्रति थोरै पनि क्रोध, द्वेष या प्रतिकारको भावना उत्पन्न भएन । उहाँ माता कौशल्या झैँ कैकेयीप्रति पनि आदर, स्न्ोहको भाव राख्नुहुन्थ्यो जुन सधैँ एकसमान रह्यो । भाइ लक्ष्मणले जब माता कैकेयीको निन्दा गर्दछन् तब तुरुन्त लक्ष्मणलाई रोक्नुहुन्छ । साथै उनको मनमा भाइहरू भरत र शत्रुघ्नप्रति जागेको संशय दूर गर्नुभयो । अनुज भरत र शत्रुघ्न जब वनवासका लागि मन्थरा दासी र माता कैकेयीप्रति आफ्नो क्रोध प्रकट गर्दछन् तब पनि श्रीरामले उनीहरूलाई शान्त तुल्याउनुभयो । परिवारमा समरसता स्थापित गर्ने यस्तो अर्को कुनै उदाहरण छैन । संगठन कौशल्य— वनवासका क्रममा श्रीराम माता जानकी एवं भाइ लक्ष्मणसहित गोदावरी तटमा पुग्नुभयो । त्यहाँ राक्षसको आतङ्क चरममा थियो । जनसामान्य भयभीत थिए । त्यस बेला अगस्त्य ऋषिले श्रीरामलाई त्यस्तो ठाउँमा पुगेर बस्न आग्रह गर्नुभयो । यसको उद्देश्य थियो त्यहाँको जनसामान्यलाई संगठित गरेर उनीहरूमाथि भइरहेको राक्षसी आतङ्कविरुद्ध आफै युद्ध गर्न शिक्षा दिनु । मूलतः यहाँ संगठित भएर अन्यायको विरुद्ध उभिने शिक्षा श्रीरामले जनस्थानका वासीलाई दिनुभयो । यही संगठन कौशल्य उहाँले वानर तथा ऋक्ष समुदायका मानिसबीच पनि प्रस्तुत गर्नुभयो । सामाजिक समरसता— वनवासका क्रममा उत्तरदेखि दक्षिणसम्म उहाँले विभिन्न जातजातिका वनवासीहरूलाई आदर पूर्वक आत्मीय प्रेम दिँदै जानुभयो । गङ्गा किनारमा निषाद जातिका मुखिया गुहसँग मित्रता गाँस्दै उनीहरूलाई आदर प्रदान गर्नुभयो । भिल जातिकी बूढी शबरी आमाको आतिथ्य स्वीकार गर्दै उनले प्रेमपूर्वक दिएको ‘जूठो बयर’ खाएर सामाजिक समरसताको अझ एउटा दह्रिलो उदाहरण श्रीरामले प्रस्तुत गर्नुभयो । समाजिक समरसता स्थापनाका लागि भगवान श्रीरामले सदा न्यायको साथ दिनुभयो र अन्याय एवं अत्याचारका विरूद्ध उभिनुभयो । यसको सुन्दर उदाहरण सुग्रीवसँगको मित्रता र बालिवधको प्रसङ्ग हो । शरणागतको रक्षा— यद्यपि आफै समस्यामा हुनुहुन्थ्यो, तर लङ्काबाट निस्कासित भएर आएका धर्मात्मा विभीषणलाई दयापूर्वक आफ्नो छत्रछायामा शरणमा दिनुभयो । पछि, उनको गुमेको प्रतिष्ठा उनलाई दिलाउनुभयो । शौर्य— साधारण जन समुदायमा विशाल समुद्र पार गरेर जाने साहस जगाउँदै त्यसबेलाको परम पराक्रमी तर आततायी रावणको दिग्विजयी सेनालाई परास्त गरेर श्रीरामले के स्थापित गर्नुभयो भने केवल सैन्यबल शौर्यको परिचायक हुँदैन । यसबारे एउटा सुन्दर प्रेरक सुभाषित नै प्रचलित छ— विजेतव्या लङ्का चरणतरणीयो जलनिधिः । विपक्षः पौलस्त्यो रणभुवि सहायाश्च कपयः।। तथाप्येको रामःसकलमवधीद्राक्षसकुलम् क्रियासिद्धिः सत्वे भवति महतां नोपकरणे ।। यस श्लोकको भावार्थ हो— शक्तिशाली लङ्कामाथि विजय प्राप्त गर्नका लागि भगवान् श्रीरामले खुट्टैले हिँडेर समुद्र पार गर्नुपर्ने स्थिति थियो । विपक्षमा पुलस्त्य ऋषिको नाति, शक्ति र साधनसम्पन्न रावण थियो तर उहाँसँग न त साधन थिए न प्रशिक्षित सैनिक नै । सहयोगीका रूपमा वानर मात्र थिए । अर्थात् समग्रमा परिस्थिति विपरीत थियो तथापि प्रभु श्रीरामने असुरहरूको संहार गर्नुभयो । यसले के सिद्ध गर्दछ भने व्यक्तिले सिद्धि वा सफलता प्राप्त गर्नका लागि उपकरणभन्दा पनि सत्व अधिक महत्त्वपूर्ण हुन्छ । यस्ता अनुकरणीय श्रीरामको जन्मजयन्ती श्रीरामनवमी मनाइरहँदा हामीले पनि आफूमा सङ्कल्पपूर्वक श्रीरामका गुण धारण गर्नुपर्दछ । यही नै श्रीरामपूजनको सार्थक स्वरूप हुनेछ ।

ताजा

सबै

बाटोमा ठोक्किएको निहुँमा चक्कु हानेर हत्या, पक्राउ पर्नेमा सबै नाबालक

वैशाख ३०, काठमाडौं । काठमाडौँ महानगरपालिका९ बत्तिसपुतलीस्थित कुमारी टोलमा गए राति…

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

रातो मत्स्येन्द्रनाथको रथ तान्न सुरु

वैशाख ३०, काठमाडौं । वर्षा र सहकालका देवता मानिने रातो मत्स्येन्द्रनाथको रथ तान्न सुर…

नर्सको सुविधामा एकरूपता ल्याउन सरकारले पहल गर्छः प्रधानमन्त्री पुष्पकमल दाहाल

वैशाख ३०, काठमाडौं । आज नर्सिङ् दिवसको अवसरमा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्डले नर्स…

लोकप्रिय

सबै

कोशीको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्कीलाई ५२ सांसदको समर्थन

वैशाख २७, काठमाडौं । कोशीको नयाँ मुख्यमन्त्रीमा दाबी पेश गरेका एमाले प्रदेश संसदीय …

कामीरिताको कीर्तिमान, २९औं पटक सगरमाथाको सफल आरोहण

वैशाख ३०, काठमाडौं । कामीरिता शेर्पाले सगरमाथाको २९औं पटक सफल आरोहण गरेर आफ्नै की…

बझाङबाट निर्वाचित प्रदेशसभा सदस्य भण्डारीले लिए शपथ

वैशाख २७, काठमाडौं । गत वैशाख १५ गते भएको बझाङ क्षेत्र नं. १ उपनिर्वाचनबाट निर्वाचि…

कपिलवस्तुमा ‘बुद्धभूमि’ महीको व्यावसायिक उत्पादन

वैशाख २७, काठमाडौं । कपिलवस्तुको ग्लोबल डेरी उद्योगले महीको व्यावसायिक उत्पादन सुरु …

यो पनि

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

आज नागपञ्चमी पर्व, नागको पूजा अर्चना गरिंदै

भदौ ४, काठमाडौं । सोमबार नागपञ्चमी । चन्द्रमास अनुसार हरेक वर्ष श्रावण शुक्लपक्षको पञ्च…