अर्थ समितिको सभापतिमा सन्तोष चालिसेको उम्मेदवारी
१० भाद्र, काठमाडौँ । प्रतिनिधि सभा सदस्य सन्तोष चालिसेले अर्थ समितिको सभापतिमा उम्मेदवारी दिएका छन् । काठमाडौँ क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य चालिसे नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत हुन् ।
यसैगरी, नेपाली कांग्रेसबाट आरजु राणा देउवाले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र रामहरि खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिमा उम्मेदवारी दिएका छन् ।
कांग्रेसमा विभिन्न समितिमा उम्मेदवार बनाउने सहमती भए पछि नेताहरुले उम्मेदवारी दर्ता गरेका हुन् । प्रतिनिधिसभाको विभिन्न संसदीय समिति सभापतिमा सांसदहरुले उम्मेदवारी दर्ता गरेका छन् । सत्तारुढ गठबन्धन र नेकपा एमालेबीच संसदीय समितिको सभापतिमा भएको भागवण्डाको सहमति अनुसार आइतबार सांसदहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।
दलहरुले प्रतिनिधिसभाका १० र संघीय संसदको संयुक्त दुई गरी १२ वटा समितिको नेतृत्वमा भागवण्डा गरेका थिए । जसमा नेकपा एमालेले एउटा संयुक्त समिति, सार्वजनिक लेखा समितिसमेत गरी ३ वटाको नेतृत्व पाएको छ ।
लेखा समिति सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् । एमालेकै किरण साहले महिला बालबालिका तथा सामाजिक समितिको सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा माओवादी केन्द्रकी विमला सुवेदीले कानुन, न्याय तथा मानव अधिकार समितिमा उम्मेदवारी दिएकी छन् । दलहरुबीच सहमतिमा माओवादीले पाएको भनिएको पूर्वाधार विकास समितिको सभापतिमा राप्रपाका दीपकबहादुर सिंहले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, जनमत पार्टीका अब्दुल खानले उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा उम्मेदवारी दिएका छन् ।
भागवण्डामा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले पनि एक एक वटा समितिको सभापति पाएका छन् ।