चैत्र १३, काठमाडौं । शिक्षामन्त्री सुमना श्रेष्ठले महाराजगञ्ज नर्सिङ क्याम्पसमा बीएमएस (बेचुलर मिडवाइफ्री साइन्स) का विद्यार्थीहरूले लगाएको ताला खुल्न निर्देशन दिँदा पनि खुलेको छैन । शिक्षामन्त्री श्रेष्ठले विद्यार्थीहरूले उठान गरेका मागका विषयसम्बन्धी छलफलको क्रममा विवाद समाधान गरेर कलेजको पठन–पाठन सुचारु गर्न निर्देशन दिएपनि ताला भने अझै खुल्न नसकेको हो।
पाठ्यक्रम र शैक्षिक कार्यक्रमका विषयमा आपत्ति जनाउँदै विद्यार्थीहरूले चैत ५ गतेदेखि क्याम्पसमा तालाबन्दी गरेका थिए ।
बैठकमा मन्त्री श्रेष्ठ, चिकित्सा शिक्षा आयोग अध्यक्ष, प्राडा अञ्जनीकुमार झा, त्रिभुवन विश्वविद्यालयका उपकुलपति, प्राडा केशरजङ्ग बराल, शिक्षा सचिव सुरेश अधिकारी, चिकित्सा शास्त्र अध्ययन संस्थान, डिन डा।दिव्यासिंह शाह, नेपाल नर्सिङ परिषद्की अध्यक्ष सरला केसीको सहभागिता रहेको थियो ।
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष झाले पीसीएल नर्सिङ पढेका विद्यार्थीको हकमा बीएमएस अध्ययनको लागि आयोगले सिफारिस गरेको बताएका थिए । त्यस्तै त्रिविका उपकुलपति प्राडा बरालले बिएस्सी मिडवाईफ्रिकै पाठ्यक्रम बीएमएसको लागि समेत लागू हुने बताएका थिए। उक्त पाठ्यक्रम त्रिभुवन विश्वविद्यालयबाट आधिकारिक रूपमा स्वीकृत समेत भइसकेको बताएका थिए ।
विद्यार्थीहरूले सरोकारवालाबीच छलफल भएपनि उक्त विषयमा आफूहरूलाई कुनै जानकारी नआएको बताएका छन् । महाराजगन्ज नर्सिङ क्याम्पस स्ववियु सभापति नोविना बस्नेतले उक्त छलफलपछि डीन कार्यालयबाट आफूहरूलाई आधिकारिक जानकारी नआएको बताइन् ।