वैशाख २४, काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिकाले गाउँपालिका कार्यालयमा ‘कोल्डड्रिङ्स’ निषेध गरेको छ । स्थानीय किसानको उत्पादन दही र मोहीलाई प्रोत्साहन गर्न गाउँपालिकाले ‘कोल्डड्रिङ्स’ निषेध गर्ने निर्णय गरेको हो ।
इच्छाकामानाको गाउँपालिका कार्यालयमा आउने अतिथिलाई गर्मीको समयमा मोही र दहीले स्वागत गर्नुको साथै गाउँपालिकामा हुने विभिन्न कार्यक्रममा पनि दही र मोहीको नै प्रयोग गरिएको छ ।
इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले गाउँपालिकाका किसानलाई फाइदा पुगोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको बताउँदै उनले भने, ‘गर्मीमा प्रयोग गरिने ‘कोल्डड्रिङ्सभन्दा दही र मोही प्रयोग गर्नसके स्थानीय उत्पादनको प्रवर्द्धन गर्न सकिन्छ भनेर हामीले सो काम गरेका हौँ, स्वास्थ्यको दृष्टिकोणले पनि दही र मोही नै राम्रो हुन्छ ।’
अध्यक्ष गुरुङले गाउँपालिकाअन्तर्गतका वडा कार्यालयमा पनि सोही प्रकारको सर्कुलर गर्ने तयारी गरेको जानकारी दिए । गाउँपालिकाले जाडो मौसममा भने चियाको प्रयोग गर्ने जनाएको छ ।
गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले नै निर्णय गरेर पालिकाभित्र कोक, स्प्राइटलगायतका कोल्डड्रिङ्स निषेध गरेको हो ।
किसानलाई पशुपालन व्यवसायमा आकर्षण गर्न र दूधको उत्पादन बढाउन गाउँपालिकाले पशु सुत्केरी सुधार र बीमा कार्यक्रमसमेत सञ्चालन गरेको छ । आन्तरिक स्रोतमार्फत गाईभैँसीको नश्ल सुधारका लागि पशु सुत्केरी स्याहार भत्ता कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष गुरुङले जानकारी दिए ।
कृत्रिम गर्भधारण कार्यक्रमबाट सुत्केरी भएका गाइभैंसीको सुत्केरी भत्ताबापत गाउँपालिकाले रु एक हजार पाँच सय उपलब्ध गराउनुको साथै बढी दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप पुरस्कार उपलब्ध गराउने तयारी रहेको अध्यक्ष गुरुङले बताए ।