ट्रान्सक्रिप्ट नदिएको भन्दै त्रिवि कार्यालयमा विद्यार्थीको धर्ना
१० असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले स्नातक तह ट्रान्सकृप्ट नदिएको भन्दै केही विद्यार्थीहरुले रजिष्ट्रार कार्यालयमा विद्यार्थीहरु धर्नामा बसेका छन् । स्नातक तहमा एक वर्षको बीचमा दुई वर्षको परीक्षामा सामेल गराएर पनि ट्रान्सक्रिप्ट भने नदिएको भन्दै त्रिचन्द्र र इटहरी मल्टिपल क्याम्पसका विज्ञान संकायको स्नातक तहका विद्यार्थीहरु धर्नामा बसेका हुन् ।
यो धर्नालाई आफूहरुले पनि साथ दिएको अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति अध्यक्ष प्रदीप भण्डारीले बताउनुभयो । धर्नामा बसेका प्रविण दाहालले आजसम्म इयर ग्याप र इयर ओभरल्यापिङ (एकै वर्षमा दुई वर्षको परीक्षा) का कारण ट्रान्स्कृप्ट नपाएका सम्पूर्ण विद्यार्थीहरुको ३ दिनभित्र ट्रान्स्कृप्ट उपलब्ध गराउनुपर्ने आफूहरुको मुख्य माग भएको जानकारी दिनुभयो।
दाहालले भन्नुभयो, “०७७ सालमा भने दोस्रो वर्षको आंशिकको रुपमा र तेस्रो वर्षको नियमितको रुपमा परीक्षामा सहभागी गराइयो । ०७८ सालमा चौथो वर्ष परीक्षा पास भइसके । तर त्रिविका पदाधिकारीले ओभरल्यापिङ भएकालाई ट्रान्सकृप्ट दिने नियम छैन भन्छन् ।” नियम छैन भने परीक्षामा सहभागी किन गराइयो भन्दै दाहालले प्रश्न गर्नुभयो । थप उहाँले भन्नुभयो, “त्यसैले ट्रान्स्कृप्ट नपाएका सबै विद्यार्थीहरुलाई ३ दिनभित्र ट्रान्स्कृप्ट उपलध गराउनुपर्छ भनेर हामीले माग राखेका छौं ।
उहाँले त्रिभुवन विश्वविद्यालयले सुधारर्न सक्ने कामहरु समेत नगरेर विद्यार्थीहरुको भविष्य धरापमा पारेको आरोप लगाउनुभयो ।
धर्नामा बसेका विद्यार्थीहरुलाई अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्ष प्रदिप भण्डारीले ऐक्यबद्धता जनाउँदै उहाँले विद्यार्थीको माग जायज भएकाले त्रिविले माग पूरा गर्नुपर्ने बताउनुभयो ।