काठमाडौँ ०६ भदौ । सनातन संस्कृतिमा चाड–पर्व, व्रत–उत्सवहरूले विशेष महत्व राख्दछन् । यहाँ पर्वहरूको बाहुल्यता त छ नै, प्रत्येक पर्वको विशिष्टता पनि छ । हिन्दू संस्कृति अन्तर्गत मनाइने पर्वहरूका पछाडि सामाजिक, नैतिक एवं जीवन मूल्यको दर्शन पाउन सकिन्छ । जीवनलाई सरस र उल्लासपूर्ण बनाउनका लागि पर्व–उत्सवहरूको व्यवस्था गरिएको हुनुपर्छ । प्रत्येक चाडले दिने सन्देश पनि फरक–फरक रहेको पाइन्छ, जुन हाम्रा पूर्वज ऋषिहरूले विशेष विचार तथा उद्देश्यलाई आत्मसात् गरी निश्चित गरेको हुनुपर्छ । प्राचीन कालदेखि नै यी उत्सव एवं पर्वहरू सामाजिक समरसता एवं सास्कृतिक मूल्य बढाउनका लागि आयोजित हुने गरेका छन् । रक्षाबन्धन पनि यस्तै मूल्यवर्धक पर्व परम्पराको एउटा सशक्त उदाहरण हो ।
रक्षाबन्धनको प्रसङ्गमा एउटा चिरपरिचित श्लोक हामी स्मरण गर्दछौँ—
येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः ।
तेन त्वान् अनुबध्नामि रक्षे माचल–माचलः ।।
रक्षा सूत्र बाँध्दा ब्राह्मण वा पुरोहित आफ्ना यजमानलाई भन्थे– ‘जुन रक्षासूत्रले दानवहरूका महापराक्रमी राजा बलि धर्मको बन्धनमा बाँधिएका थिए अर्थात् धर्ममा प्रयुक्त गराइएका थिए, त्यसै सूत्रले म तिमीलाई बाँध्दैछु– धर्मका लागि प्रतिबद्ध गर्दैछु ।’ यसपछि पुरोहित रक्षा सूत्रसँग भन्छन् ‘हे रक्षे तिमी अचल होऊ, स्थिर भइदेऊ ।’ यस प्रकार रक्षा सूत्रको उद्देश्य ब्राह्मणहरूद्वारा आफ्ना यजमानलाई धर्मका लागि प्रेरित एवं प्रयुक्त गराउनु हुन्थ्यो ।
रक्षाबन्धनको पर्व सनातन कालदेखि नै सामरस्यको पर्व मानिएको छ । यो आपसी विश्वासको पर्व हो । यस पर्वमा जो–जो सक्षम थिए, तिनले अन्यलाई ‘निर्भय रहनुस्, कुनै पनि सङ्कटमा हामी सक्षम र समर्थ व्यक्ति यहाँहरूका साथ उभिनेछौँ ।’ भनी विश्वास दिलाउँथे ।
संघमा रक्षाबन्धन
रक्षासूत्रले दिने प्रेरणा–सूत्र
रक्षा बन्धनको पर्वमा स्वयंसेवक परम् पवित्र भगवा ध्वजलाई रक्षा सूत्र बाँधेर त्यस संकल्पको स्मरण गर्दछन्, जसमा भनिएको छ– ‘धर्मो रक्षति रक्षितः’ । अर्थात् हामी सबै मिलेर धर्मको रक्षा गरौँ । सामाजिक मूल्यहरूको रक्षण गरौँ । आफ्नो श्रेष्ठ परम्पराहरूको रक्षण गरौँ । यही धर्मको व्यावहारिक पक्ष हो । तब मात्र धर्म सम्पूर्ण समाजको रक्षा गर्नमा सक्षम हुन सक्नेछ ।
हिन्दू स्वयंसेवक संघ नेपालद्वारा वर्षभरिमा मनाइने छः महत्त्वपूर्ण पर्वमा रक्षाबन्धन पनि एक हो । संघले आपसी रक्षाको त्यही विश्वासलाई हजारौँ स्वयंसेवकहरूका माध्यमबाट समाजमा पुनर्स्थापित गर्ने श्रेयस्कर कार्यलाई अगाडि बढाइरहेको छ । रक्षा बन्धनको पर्वमा स्वयंसेवक परम् पवित्र भगवा ध्वजलाई रक्षा सूत्र बाँधेर त्यस संकल्पको स्मरण गर्दछन्, जसमा भनिएको छ– ‘धर्मो रक्षति रक्षितः’ । अर्थात् हामी सबै मिलेर धर्मको रक्षा गरौँ । सामाजिक मूल्यहरूको रक्षण गरौँ । आफ्नो श्रेष्ठ परम्पराहरूको रक्षण गरौँ । यही धर्मको व्यावहारिक पक्ष हो । तब मात्र धर्म सम्पूर्ण समाजको रक्षा गर्नमा सक्षम हुन सक्नेछ । धर्म कुनै बाहिरी तत्त्व होइन । हामी सबैमा निहित उदात्त भावनाहरूको नाम धर्म हो । हाम्रो जुन व्यवहार लोकमंगलकारी छ, त्यही धर्म हो । वैदिक संस्कृतिको तेजस्वी प्रतीक परम पवित्र भगवाध्वजलाई रक्षासूत्र बाँध्नुको अर्थ हो— "समग्र चराचरका लागि हितकारी परम्परा बोकेको यस लोकमङ्गलकारी धर्म-संस्कृतिको रक्षाका निम्ति हामी सङ्कल्पित बन्दछौँ" भन्ने भाव-धाराण गर्नु ।
स्वयंसेवक एकआपसमा स्नेह–सूत्र बाँध्छन् । जाति, धर्म, भाषा, धनसम्पत्ति, शिक्षा या सामाजिक उँचनीचको भेद अर्थहीन छ । रक्षाबन्धनको सानो कोमल सूत्रले यी सबै विविधताजनित विषमता र भेदहरूभन्दा माथि उठेर ‘एक अभेद’ को सृष्टि गर्दछ । विविधता आफैमा सौन्दर्यको कारक हो । यसको सम्मान गर्नुपर्छ तर हामीमा निहित एकता, सामरस्यको स्थापना पनि गर्नुपर्दछ । हामी एक हौँ भन्ने भावना दृढ भएमा समाजमा एकता पनि सुदृढ बन्दछ । एकताका सूत्रमा आबद्ध भएर नै समाज संगठित र सबल रहन सक्छ । यही भावलाई स्मरण गर्दै, यसरी आपसमा रक्षासूत्र बाँधेर क्षणभरिमै स्वयंसेवक परस्पर आत्मीय भावले बाँधिन्छन् । परम्पराहरूको भेद र कुरीतिहरूको कलुष हटेर जान्छ । प्रेम र एकअर्काप्रति समर्पण भाव सृजित हुन्छ । ती कोमल धागारूपी सूत्रले समाज जीवनका लागि यो सुन्दर प्रेरणारूपी ‘सूत्र’ दिन्छ ।
समाजलाई संगठित गर्नुछ भने त्यसमा रहेको भेदभावलाई पन्छाउनुपर्छ । समाजका सबै वर्गमा, सबै भाषा–भाषी, सबै प्रकारका संस्कृतिमा आपसी सद्भाव हुनुपर्छ । यहाँ छुवाछुत, उँच–निचको भावना हुनुहुँदैन । जसरी भगवान् श्रीरामले आफू जहाँ जानुभयो त्यहीँको समाजलाई संगठित गर्दै समाजविरुद्ध उभिएका अराजक तत्त्व, विध्वंषक एवं अहितकर शक्तिलाई चुनौती दिएर एकताका बलमा विजयी हुने प्रेरणा दिनुभएको थियो, त्यही कुरा संघले पनि गर्दैछ । यसरी रक्षाबन्धन उत्सव मनाउनुका पछाडिको भाव यही हो कि सम्पूर्ण समाजले, सम्पूर्ण समाजको रक्षाका लागि व्रत लिओस् । मानिस श्रेष्ठ जीवन मूल्यहरूको रक्षाको व्रतमा बाँधिउन् । किनभने सदाचारलेयुक्त सशक्त, समरस एवं संस्कार सम्पन्न समाज नै कुनै पनि देशको शक्तिको आधार हुन सक्छ । यसै प्रयत्नमा संघ लागेको छ । रक्षा बन्धनको यो पर्व यस महाअभियानको एउटा चरण हो ।