SamwadKhabar logo

               

धर्मशास्त्र

नारी सशक्तीकरणको पर्व तीज

संवाद खबर

संवाद खबर

नारी सशक्तीकरणको पर्व तीज

– विष्णु प्रसाद पोखरेल

नेपाली नारीहरूको महान् पर्व तीज सुरु भैसकेको छ । देश–विदेश, सुगम र दुर्गम स्थानबाट चेलीहरू आ–आफ्नो जन्मघरमा आउने जाने क्रम बढ्दो छ । नारी शक्तिमा खुसियालीको बहार ल्याउने पर्वले वर्षौंदेखि टाढिएका परिवारलाई एकआपसमा संयोजन गरी पारिवारिक र सामाजिक प्रेम प्रदान गर्दै पुनर्मिलन गराएको छ । सांगीतिक माहोलले वर्षाऋतुलाई पुलकित पार्दै समाज व्यवस्थापन र परिवर्तनलाई शब्द र संगीतका माध्यमबाट आह्वान गरेको छ । “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः” जहाँ नारीशक्तिको सम्मान हुन्छ त्यहाँ देवताहरू पनि प्रसन्न हुन्छन् भन्दै मातृशक्तिप्रति उच्च सम्मान प्रदान गर्ने पर्वका रूपमा तीजलाई लिइन्छ । भाद्रशुक्ल तृतीयाका दिन मनाइने तीजका बारेमा शास्त्रहरूमा विशद रूपमा वर्णन गरिएको छ । प्रतिपदादेखि पञ्चमीका दिनसम्म मनाइने यो पर्व नेपालीहरूको महान् पर्व हो । विशेष गरी पाँच दिनसम्म पवित्र रही बडो हर्षोल्लास र निष्ठाका साथ मनाउने यस पर्वलाई हरितालिकाका नामले चिनिन्छ भने तृतीया तिथिका दिन मनाइने हुनाले यस पर्वलाई आम भाषामा तीज पनि भनिन्छ । पौराणिक आख्यान र संकथनका आधारमा प्राचीन कालदेखि नै यो पर्व मनाउँदै आइएको पाइन्छ । विवाहीता नारीको ब्रह्मचर्यता र शारीरिक पवित्रा कायम होस् भन्नका लागि जन्मघर माइत गई आफ्नू बाबाआमा र दाजुभाइको साथ र काखमा रही व्रत बस्ने परम्परा रहेको छ । पर्व व्यवस्थापनका लागि घरमा रहेका पुरुषहरू सक्रिय हुनुपर्दछ । यो पर्व नारी जातिमा मात्र सीमित रहेको देखिएता पनि पुरुषहरूका लागि पनि त्यति नै महत्त्वपूर्ण र अनिवार्य छ । पतिले आफ्नी अर्धाङ्गिनीको व्रत सफलताका लागि सात्विक आहारका साथ व्रत बस्नु पर्दछ । महिलाले आफू र पतिको दीर्घायुका साथै पारिवारिक सुख शान्ति र समृद्धिका लागि व्रत बस्दछन् भने अविवाहिता नारीहरू असल वर प्राप्तिका साथै शैक्षिक उन्नति र प्रगतिका लागि तीजको व्रत बस्ने गर्दछन् । यो पर्व महिलाहरूको निजी र मौलिक पर्व हो । विश्वभरी जहाँ–जहाँ नेपालीहरू फैलिएर बसोवास गर्दछन्, ती ठाउँहरूमा बडो उमङ्गका साथ यो पर्व मनाइने गरिन्छ । यो पर्व संगीत प्रधान भएकोले नेपालीहरूको रुची बढ्नु स्वभाविक नै हो । यसरी लामो समयसम्म मनाइने पर्वको अन्तिम दिनलाई ऋषिपञ्चमी भनिन्छ । सोही दिन सप्तऋषिहरूको पूजागर्दै यो व्रतानुष्ठान पूराहुन पुग्दछ । परापूर्वकालदेखि प्रचलनमा आएको तीज पार्वतीद्वारा आदिदेव महादेव शिवलाई पतिका रूपमा प्राप्त गर्नका लागि गरिएको त्याग, तपस्या र संघर्षसहित लामो समयको प्रतिफल हो । पार्वती शैशवकालदेखि नै शिवभक्तिमा लीन थिइन् । पूर्वजन्ममा सतीदेवी हुँदा महादेवसँगको वियोगान्त र पुनर्जन्म पछिको पुनर्मीलनका लागि शिवप्रतिको आकर्षण र आशक्ति पार्वतीमा हुनु स्वभाविकै थियो । बढ्दो उमेरसँगै हिमालय र मेनकाले छोरी पार्वतीको विवाह भगवान् विष्णुसँग गरिदिने निश्चय गरे र विवाहको तयारी पुरा भयो । साथी–संगिनीहरूबाट विवाहको खबर सुनी व्याकुल भएकी पार्वतीलाई उनका साथीहरूले “आलिका– साथीहरूबाट, हरित– हरण गरिएकी वा भएकी” घना जङ्गलमा लगी लुकाई राखे । भगवान् विष्णुले शिवको आराधनामा तल्लीन पार्वतीलाई हिमालयले आफूलाई कन्यादान गर्न चाहेको कुरा बताए । विष्णुका कुरा सुनी विचलनमा आएकी पार्वतीले मन, वचन र कर्मले आफू शिवबाट अलग हुन नसक्ने विचार व्यक्त गरिन् । पार्वतीको मनोभाव बुझेका विष्णुले शिव प्राप्तिका लागि शिवलिङ्ग बनाई पूजा गरेमा शिवको साक्षात्कार गर्न सकिने विधि बताए । यसरी पार्वतीले भाद्रशुक्ल तृतीयाका दिन शिवलिङ्ग बनाई विधिपूर्वक अर्चना गरी महादेवलाई साक्षात्कार गरेको आधारमा यो पर्व अविच्छिन्न रूपमा अगाडि बढ्दै लोकप्रिय बन्न पुग्यो । पाँच दिनसम्म मनाइने यो पर्व निर्विघ्नतापूर्वक अगाडि बढोस् भन्नका लागि पूर्वतयारी स्वरूप प्रतिपदाका दिन आवश्यक पर्ने पूजासामग्री र दरका लागि आवश्यक पर्ने भोज्य सामग्री संकलन गर्नुपर्दछ । सात्विक प्रधान पूजा भएकोले सामग्री पनि सत्वप्रधान अन्तर्गतका हुनुपर्दछ । द्वितीयाका दिन मांस–मदिरा रहित गरिष्ठ, अपाच्य खालका खानेकुरा वर्जित गरी पौष्टिकताले युक्त दूग्धजन्य पदार्थ, विषादीरहित फलफूल र तरकारी, मिसावट नभएका मिष्ठान्न आदि गरिएका परिकारहरू तयार गर्नुपर्दछ । मध्यरातको समयमा सुपाच्य, अडिलो र दरीलो दर खाई तीजको व्रत बस्नुपर्ने भएकोले यो दिनलाई दरखाने दिन भनिन्छ । व्रतालुको अवस्था हरेर व्रतविधान गरिएको छ । केही पनि नखाई बसिने व्रतलाई निराहार । जलपान गरिने बसिने व्रतलाई जलाहार । फलफूल ग्रहण गरी बसिने व्रतलाई फलाहार र दिनभरी व्रत बसी रात्रिको समयमा एक छाक मात्र भोजन गर्नेलाई नक्तभोजीको संज्ञा दिइएको छ । शक्ति र सामथ्र्यका आधारमा बसिने व्रतको समय अहोरात्र गरी चौबिस घण्टाको हुनपुग्दछ । तीजका दिन दिनभर व्रत बसी सायंकालीन समयमा आचारनिष्ठ ब्राह्मणद्वारा आराध्यदेव उमामहेश्वरको पूजा र उपासना गरी चतुर्थीका दिन बिहानै तीजव्रतको बिसर्जन गरिन्छ । प्रातःकालीन समयमा प्रत्यक्ष देवताका रूपमा उदीयमान सूर्यलाई पूजा गर्दै गोबरको कुण्ड बनाई अघ्र्य दिने काम गरिन्छ । सप्तर्षि पूजाको सामग्री तयारीका साथ पञ्चमीका दिन सबेरै नजिकको जलाशयमा गई दतिउनका ३६५ वटा टुक्रा प्रयोग गरी दाँत माझ्दै गोबर, तुलसी वा अमलाको फेंदको माटो, खरानी जीउमा लेपन गर्दै चालनामा पानी राखी सहस्रधाराले स्नान गर्दै विभिन्न खालका फूल, दतिउन, कुश र दूबोले आफूलाई अभिषेक गरिन्छ । बिहानीको स्नानपछि मध्यान्हको समयमा शक्तिस्वरूपा अरुन्धतीसहित वशिष्ठ, कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि आदि सप्तऋषिहरूको पूजा सामूहिकताका साथ नदीको किनार, घर अथवा मठमन्दिरमा जम्मा भई विधिपूर्वक गरिन्छ । यससँगै ऋषिपञ्चमीसँग सम्बन्धित कथा श्रवण गरी पाऊ नउचाली सात पटक वा तीन पटक पूजा मण्डपको परिक्रमा गरिन्छ । आफूबाट जान–अन्जानमा वर्षभरी गरिएका राम्रा र नराम्रा कार्यहरूको प्रयाश्चित्तस्वरूप आफूले आफ्नै आत्मशुद्धिका लागि गरिने यस पर्वलाई क्षमापूजा र आत्मपूजाका रूपमा लिइन्छ । सप्तर्षिको पुजनले यस लोकमा सुखानुभूत गर्दै सप्तजन्मसम्मका लागि पुण्य सञ्चित हुनपुग्दछ भन्ने विश्वास रहिआएको छ । साउने संक्रान्तीलाई सानो तीजका रूपमा लिई ऋषिपञ्चमीका दिनसम्म समयानुकूल समयमा घर, मठमन्दिर, चौतारी, चौर आदि सार्वजनिक स्थलमा भेट भई समाज परिवर्तनका खातिर सामाजिक विकृति र विसंगतीको अन्त्यका साथै सामाजिक सद्भावना र राजनैतिक सचेतनाका आवाजहरूलाई समेटी गीत–संगीतका माध्यमबाट नाचगान मार्फत प्रस्तुत गरिन्छ । सबै महिला दिदीबहिनीहरू सामूहिक रूपमा जम्मा भई एकापसमा सुखदुःख साट्ने र रमाउने काम गर्दछन् । विदेशी रसायन युक्त मेहन्दीको प्रयोगले विभिन्न खालका चर्मरोग लाग्नेहुनाले त्यसको विकल्पमा सदियौं देखि प्रयोगमा आएको गाउँघर तथा बजारमा पाइने मकरकाँची, मजेत्रो, हल्दी, तिउरी, दूवो, कपुर, चन्दन आदि द्रव्यको सम्मिश्रणबाट तयार पारिएको मेहन्दीले आफ्ना हातहरूमा स्वेच्छानुसारका पुष्प, लता र पंक्षीका आकृति बनाई राता सारी–चोली, चुरा, पोते, आभूषण पहिरी सोह्रशृङ्गारका साथ आफूलाई स्वयं शक्तिस्वरूपा देवीका रूपमा प्रस्तुत गर्दै देवीदेवताको पूजा गरिने विषयहरू हाम्रा धार्मिक शास्त्रहरूले निर्देशित गरेका छन् । सनातनदेखि मनाउँदै आइएको यो पर्वको प्रभाव नेपाली समाजमा झन बढ्दो क्रममा रहेको छ । यसले राष्ट्रियस्वरूप प्राप्त गर्दै पहिचान र सांस्कृतिक स्वाभिमानलाई स्वदेशमा मात्र नभई विदेशी भूमिमा पनि स्थापित गरेको छ । गीत तथा संगीतसँग सम्बन्धित पर्व भएकोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांगीतिक महोत्सवका रूपमा स्थापित गर्दै मौलिकताको जगेर्नाका साथ आन्तरिक र बाह्य पर्यटकलाई विविधतायुक्त सांस्कृतिक स्वाद पस्कँदै नेपाली अर्थतन्त्रलाई चलायमान गराउन यससँग सम्बन्धित सामग्रीको उत्पादन स्वदेशमै हुनु जरुरी छ । जसले गर्दा स्वदेशी पूँजी बाहिरिन नदिई रोजगारका क्षेत्रहरू पनि यस पर्वसँग जोडिन पुग्दछन् । मन्त्रद्रष्टा ऋषिहरूका कारण प्राप्त भएका जीवनोपयोगी र विज्ञानसम्मत रूपमा निःसृत हाम्रा मौलिक चाडपर्वले समाजमा रहेका प्रत्येक समुदायलाई जोड्दै वसुधैव कुटुम्बकम्–का माध्यमबाट विश्वबन्धुत्वको सम्बन्ध र सद्भाव स्थापित गर्न पुग्दछ । हिन्दु धर्म र यसभित्र रहेका अन्तर्निहित विषयवस्तुहरूलाई समयसापेक्ष तरिकाले अगाडि बढाउँदै आफ्नो मौलिकताको संरक्षण र सान्दर्भिकतालाई विश्वजनीन र सर्वग्राह्य बनाउनु पर्दछ । विशेष उद्देश्य पूर्ति र आत्मिक लाभका लागि गरिने यसप्रकारका उपासना पद्धतिले मानिसमा रहेको नैराश्यता, मानसिक दुर्बलता, एकल अवस्था आदि अवगुणहरूलाई हटाई पवित्रता, एकाग्रता, सिर्जनशीलता, सकारात्मसोच, सामूहिकताका साथ दृढ आत्मविश्वासका माध्यमबाट सामाजिक रूपान्तरणसहित आधा धर्ती र आकाशका संवाहक, आद्यवन्द्या, शक्तिस्वरूपा, मातृशक्तिमा निहित ऊर्जालाई पर्वका माध्यमबाट वार्षिक रूपमा पुनर्ताजगी गर्दै शिक्षित, सुसंस्कृत र सभ्य समाज निर्माणमा नारीशक्तिलाई सशक्तता प्रदान गराउने तीज पर्वको विशेष उद्देश्य रहीआएको छ । (लेखक नेपाल वेदविद्याश्रम, गौशाला, काठमाडौँका आचार्य हुनुहुन्छ)  

ताजा

सबै

साफ यू–२० महिला बंगलादेशले, यू–१९ पुरूष च्याम्पियनसिप भारतले आयोजना गर्ने

६ मंसिर, काठमाडौं । साफले यु२० महिला साफ च्याम्पियनसिप र यु१९ पुरुष साफ च्याम्पियनस…

नेपाल–भारत सैन्य सहकार्य वार्ता आज

६ मंसिर, काठमाडौं । लामो समयदेखि सहकार्य गर्दै आएका नेपाल र भारतका सैनिकबीच पारस्प…

माइतीघरमा सहकारी पीडित र प्रहरीबिच झडप

५ मंसिर, काठमाडौं । माइतीघर मण्डलामा सहकारी पीडित र प्रहरीबीच झडप भएको छ। रकम फिर्…

विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मंसिर, काठमाडौं । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्व विजेता खेलाडी अ…

लोकप्रिय

सबै

पूर्वसभामुख दमननाथ ढुंगानाको निधन

२ मंसिर, काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको निधन भएको छ । अस्पतालमा उपचारको …

गुल्मी धुर्कोटका मेघनाथले फलाए चार सय मुरी धान

५ मंसिर, काठमाडौं । गुल्मीजिल्लाको धुर्कोट गाउँपालिका६ रजस्थलका एउटै व्यक्तिले चार सय…

१४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको उपचार सेवा निःशुल्क

४ मंसिर, काठमाडौं । भक्तपुर क्यान्सर अस्पतालले १४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचा…

विश्व बडीबिल्डिङ प्रतियोगिताका विजेता खेलाडी प्रधानमन्त्रीद्वारा सम्मानित

४ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १५ औँ विश्व बडीबिल्डिङ एण्ड फिजिकल …

यो पनि

आज सीता जयन्ती तथा गोरखकाली पूजा

आज सीता जयन्ती तथा गोरखकाली पूजा

जेठ ३, काठमाडौं । राष्ट्रिय विभूति सीता उत्पत्ति दिवस (जयन्ती) आज सीताप्रति श्रद्धा भक्त…

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

आज वैशाख २४ महागुरु फाल्गुनन्दले सत्य धर्म मुचुल्का गराउनु भएको दिन

वैशाख २४, काठमाडौं । महागुरु फाल्गुनन्द लिङदेनले वि.सं. १९८८ वैशाख २४ सत्य धर्म मुच…

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

भित्तेपात्रो प्रकाशकलाई पञ्चाङ्ग निर्णायक समितिले मुहूर्त र साइत दिने

फागुन १७, काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले विसं २०८१ का लागि भित्ते…

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

सुनाकोठीस्थित भीमसेनको छैठौँ स्थापना दिवस मनाइँदै

भदौ २०, ललितपुर । ललितपुरको सुनाकोठी क्षेत्रको बिकास तथा ललितपुरलाई साँस्कृतिक एवं…