अमेरिकासँग सहकार्य अझ प्रगाढ बनाउन अर्थमन्त्री शर्माको प्रस्ताव
असोज २७, वासिंगटन डिसी। अर्थमन्त्री जनार्दन शर्माले नेपालको आर्थिक विकासमा प्राथमिकताप्राप्त क्षेत्रहरुमा नेपाल र अमेरिकाबीच अझ प्रगाढ सहकार्यको आवश्यकता रहेको बताएका छन्।
आम निर्वाचनका लागि रुकुमबाट उम्मेद्वारी दर्ता गराएलगत्तै अमेरिकाको भ्रमणमा आएका मन्त्री आचार्यले आज अमेरिकाको राजधानी वासिंगटन डिसीमा अमेरिकी सहयोग नियोग युएसएआइडीकी सामन्था पावरसंगको भेटवार्ताका क्रममा सो कुरा बताएका हुन्। र्थसचिव कृष्णहरि पुष्करसहितको छ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका आएका मन्त्री शर्माले आजको भेटमा युएसएआइडीकी प्रशासक सामन्था पावरलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्।
डिसीस्थित नेपाली दूतावासका अनुसार, सो भेटमा प्राथमिकताप्राप्त क्षेत्रहरु भनेर मन्त्री शर्माले आईटी, जलवायु परिवर्तनको असर कम गर्नका लागि क्लाइमेट फाइनान्सिङ, ग्रीन हाइड्रोजन र एमोनियाँजस्ता क्षेत्रमा लगानी हुनुपर्ने उल्लेख गरे। सो बैठकमा अमेरिकाका लागि नेपाली राजदूत प्राध्यापक श्रीधर खत्रीको पनि सहभागिता थियो। विश्व बैंक तथा अन्तराष्ट्रिय मुद्रा कोष (आईएमएफ) को बार्षिक बैठकमा भाग लिन आएका शर्मासहितको टोलीले आजै थाइल्याण्डका अर्थमन्त्रीसँग पनि डिसीमा साइडलाइन वार्ता गरेका थिए।
दुबै मन्त्रीका बीच पर्यटन प्रवर्धन, लुम्बिनीमा धार्मिक पर्यटनको प्रवर्धन, कनेक्टिभिटी बढाउनेजस्ता विषयमा छलफल भएको दूतावासले जनाएको छ। त्यसैगरी आजै मन्त्री शर्माले विश्व बैंक र आईएमएफ ग्रप अफ साउग इष्ट एसियाका गभर्नरहरुको त्रिपन्नौं संयुक्त बैठकको अध्यक्षता गरे भने बार्षिक बैठकको एक्जुकेटिभ डाइलग सेसनको नेतृत्व पनि गरेका थिए।