आज कार्तिक शुक्ल अष्टमी तिथि । यस दिन ‘
गोपाष्टमी महोत्सव’ मनाउने गरिन्छ ।
भागवतादि शास्त्रमा वर्णन भएअनुसार द्वापर युगमा भगवान् श्रीकृष्ण गोकुल–वृन्दावनमा हुँदा व्रजवासी गोप–गोपीलाई इन्द्र पूजाको साटो गोवर्धन पूजा गर्न लाउनुभएको थियो । गोकुलवासीको त्यो कृत्य देखेर कुपित भएका इन्द्रले घनघोर वर्षा गरेका थिए । यमुनामा बाढी आएको थियो । यस्तो अवस्थामा कार्तिक शुक्ल प्रतिपदादेखि सप्तमीसम्म भगवान् श्रीकृष्णले सात दिनसम्म गोवर्धन पर्वतलाई धारण गरी गाईवस्तु, गोप–गोपी सबैको रक्षा गर्नुभएको थियो । आठौँ दिनमा मात्र वर्षाका देवता इन्द्रको आँखा खुल्यो ।
भागवत् दशम स्कन्ध अध्याय २७ मा लेखिएको छ— “आकाशबाट बादल हट्यो, सूर्य देखिए, भयावह वृष्टि र हुरी–बतास पनि शान्त भयो । भगवान् श्रीकृष्णले गोवर्धन धारण गरेर मुसलधारे वर्षाबाट व्रजधामलाई रक्षा गरेपछि गोलोकबाट कामधेनु गाई र स्वर्गबाट इन्द्र आउँछन् ।” इन्द्रले लज्जित हुँदै श्रीकृष्णको स्तुति गर्छन् । “यसपछि कामधेनु गाईले श्रीकृष्णलाई नजिकै बोलाई आफ्नो दुधले सेचन गरिन् र देवमाताहरुद्वारा प्रेरित इन्द्रले देवर्षिहरु सहित आएर ऐरावतको सुँडले आकाशगङ्गाको पानी ल्याई अभिषेक गरे । अनि भगवान् कृष्णलाई ‘गोविन्द’ भनेर सम्बोधन गरे ।” यसै परिप्रेक्ष्यमा गोपाष्टमी महोत्सव मनाउने गरिएको छ ।
विशेष गरी यो उत्सव व्रजक्षेत्रमा मनाइन्छ । यस महोत्सवसित जोडिएको प्रसङ्गले हिन्दू धर्म–संस्कृतिमा गाईको विशिष्ट स्थान रहेको प्रष्ट पार्दछ ।
गोवंश—उपेक्षाको दुष्परिणाम
मानिस जति नै विकसित भए पनि उसले बाँच्नैपर्छ । जति नै प्रगति गरे पनि उसले खानैपर्छ । उन्नतिका जति नै शिखर चुमे पनि मानिसले आफ्नो शरीरलाई पोषण दिइरहनु पर्छ । यसर्थ अन्नबाली, साग–पात, खेती, कृषिकर्म जस्ता कुरालाई मानिसले उपेक्षा गर्न सक्दैन । यो यथार्थ हो ।
आजको समयमा झनै यथार्थ कुरो के पनि छ भने मानिसले शरीरलाई पोषण दिन भनेर खाने कुरामा अधिकांश खाद्यभन्दा अखाद्य तत्वको मिलावट पाइन्छ । बजार–केन्द्रित उपभोक्ताका लागि उपलब्ध हुने सागपात, फलहरू, तेल, दलहन आदि सबैमा हानिकारक विष मिसाइएकै हुन्छ । यस्ता खाद्य पदार्थमा जीवनको आश त हुन्छ तर तिनलाई खाएमा जीवन–विनाशतिर लाग्छ ।
हामी नेपाललाई कृषिमा आधारित अर्थतन्त्र भन्ने गर्छौँ तर वास्तविकता अलि भिन्न छ । हाम्रो अर्थतन्त्र कृषिमा त आधारित छ तर त्यो यस देशको होइन अरु नै देशको कृषिमा निर्भर छ । कतिसम्म भने तिहारमा लक्ष्मी पूज्नका लागि पनि फूल आयात गर्नुपरेको स्थिति छ, जसबाट यस देशको समृद्धि–लक्ष्मी चाहिँ पलायन भइरहेकी छिन् ।
केही दशकअघिसम्म नेपालमा कृषकहरू प्रशस्त मात्रामा गाई–गोरु पाल्ने गर्थे । गोबरबाट बनेको मल–खादले माटोमा पर्याप्त उर्वरता थियो । खेती लहलहाउँदो हुन्थ्यो र उब्जनी पर्याप्त हुन्थ्यो । खाद्यान्न, फलपmूल, साग–तरकारी स्वतः अमृतमय हुन्थे र परिणामस्वरूप मानिसको स्वास्थ्य पनि सुदृद्ध, रोगव्याधिरहित हुन्थ्यो । बजार किन समृद्ध थियो भने नेपालबाट अन्न, दलहन निर्यात हुन्थ्यो । दुध र दुग्धजन्य पदार्थको प्रशस्तताले पनि जीवन–समृद्धि र श्रीवृद्धि दुबै भइरहेको थियो । खेतबारी जोत्न, सामान ढुवानी गर्न सबल बयल सहज साधन बनेका थिए । प्रदूषणरहित हुनाले प्रकृति पनि मुग्ध थिइन् । समग्रमा धर्म–संस्कृतिको प्रतीक गोवंश राष्ट्र–समृद्धिका साधन थिए । सबै जातजातिका लागि यी उत्तिकै हितकारी थिए जति आज पनि हुनसक्छन् ।
तर, विडम्बनापूर्ण अवस्था आयो । गो–विज्ञान नबुझेका मूढहरूका कारण परिस्थिति उल्टो बनेको छ । नेपालका स्वदेशी नस्लका गोवंशको विनाश तीव्र रूपमा भयो । आजका दिनमा पनि दैनिक हजारौँ गाई–बयल तस्करहरूद्वारा विदेशी कसाईहरूलाई बेचिँदैछ । गाई–बयल आधारित मलखादको उत्पादन प्रायः शून्य छ, जसको परिणामस्वरूप अर्बौँ रुपियाँको रासायनिक मल विदेशबाट आयात गर्नुपरेको छ । कृषकहरू कृषिबाट हुने आम्दनीभन्दा बढी रासायनिक मल र विषादिमा खर्च गर्न बाध्य छन् । त्यति गरेर पनि आवश्यक परेको बेलामा किसनाले मल पाएनन् भन्ने शीर्षक समाचार बन्नु झनै दुर्भाग्यपूर्ण कुरो हो । फेरि रासायनिक मल तथा विषादिबाट माटो, पानी, अन्नबाली तथा मानिसको स्वास्थ समेतमा हुने हानीलाई बेवास्ता गर्न कहाँ सकिन्छ र ?
गोवंश पालनभन्दा पलायनलाई उचित ठान्नेहरूले रेमिट्यान्सद्वारा परिवारको ढुकुटी त भरिरहेका होलान् तर विदेशी भूमिमा आफू स्वस्थ, बलियो र युवा छँदासम्म त हो दुःख गर्न सकिने । पछि स्वदेश फर्किएर चाहिँ परिवारको भोजन, आवाससँगै स्वास्थ्यको जोहो कसरी मिलाउने भन्ने कुराको चिन्ताले गाँज्दैन भन्ने सुनिश्चितता के नै छ र ?
नेपालमा अहिले अलि–अलि भएका गोधनको झनै विनाश भएको छ । गोरु–बयलको सट्टा ट्र्याक्टरले कृषिभूमि जोत्ने लहर चलेको छ पहाडतिर पनि । अनुदानको हाते ट्र्याक्टरको सरकार र मिडिया दुवै मिलेर खूब प्रचार भइरहेको छ । पहाडी भूमिको बनोटका कारण हाते ट्र्याक्टर अभिशाप बन्दैछ । साना–साना सुर्कामा यस यन्त्रको प्रयोग सहज छैन । आयातित तेलको उस्तै विनाश । ढुङ्गामा रड्किएर पुनः त्यस यन्त्रको मर्मतमा पैसा र श्रम खर्च ।
सर अल्बर्ट हार्वडले आफ्नो An Agricultural Testament मा ट्र्याक्टरले खेती गर्दा हुने हानि नोक्शानीको बारेमा तथ्यात्मक विवरण दिएका छन् । उनी लेख्छन्– ‘गोरू–बयलको सट्टा यान्त्रिक इञ्जनद्वारा खेती गर्दा यी मेशिनबाट गोबर–गोमूत्र प्राप्त हुँदैन । फलतः माटोको उर्वरता बनाइ राख्नमा यी मेशिनको प्रयोग कुनै कामको छैन । बरू उल्टै तेल र धुवाँको कारण खेतीबारिको उर्वरा शक्तिको नाश हुन्छ ।’
अर्को महत्वपूर्ण तथ्य उजागर भएको छ गाईवस्तुको खुरले खोस्रिएको, हिँडेको जमिन अत्यन्त उर्वर बन्दछ । यस दृष्टिले पनि नेपालको कृषि उत्पादनको लागि गाईको सन्तती गोरू–बयल नै वरदान सिद्ध छन् ।
वृद्ध हुनाले अथवा रोगका कारण दूध नदिए पनि गोवंशले बाँचुन्जेल गोबर–मल दिइरहन्छिन् । डा. बायलर नामक वैज्ञानिक भन्दछन्– ‘गोबरको विश्लेषण गरेर हेर्दा गोबर खाद रासायनिक खादभन्दा कयौँ गुना अमूल्य तत्वले परिपूर्ण छ । सम्पूर्ण मानवजातिको हितकारी छ ।’ दूधबाहेक अर्बौँ रूपियाँको मलखाद गोवंशबाट प्राप्त हुन्छ तर व्यवहारमा यस महत्वपूर्ण तथ्यतर्फ कसैको ध्यान गएकै छैन, न किसानको, न योजनाकारहरूको । अनि ‘कृषकलाई मलको अभाव’ भनेर ठूला अक्षरमा समाचार छापिन्छन् । बञ्चरो त हामी आफैले हानिरहेका छौँ नि आफ्नो खुट्टामा ।
गोबर–गोमूत्रले अरू पातपतिङ्गर, घाँस झारलाई समेत उर्वर मलखादमा परिणत गर्दछ । अतः गोवंशले मलखाद (गोबर–गोमूत्र) मात्र दिँदा पनि आफ्नो उपयोगिता सिद्ध गरिरहेको छ भन्ने कुरा हाम्रो बुद्धिमा सहज रूपमा प्रवेश हुन सकेको छैन ।
सर अलवर्ट हार्वर्डले आफ्नो गहन अनुसन्धानमा गोमहिमालाई आत्मसात गर्दै भनेका छन्– ‘बालि–फसलको रोग भूमिको अस्वस्थता र रोगी हुनाले भएको हो । भूमि रोगी हुनुको कारण हो– भूमिलाई गोबर मल र हरियो मल प्राप्त नहुनाले । गोबर–हरियो मल नै भूमिको प्राकृतिक खाद्य तत्व हो । रासायनिक मलले भूमिलाई जीवांश (ह्युमस) प्रदान गर्दैन । रासायनिक पदार्थले भूमिलाई सन्तुष्ट राख्न सक्दैन । यसको उपयोगले वृद्धि र क्षयको सन्तुलन कहिल्यै हुन सक्तैन । पृथ्वीमाताको प्राकृतिक खाद्य तत्वको अधिकार हनन गर्नाले विद्रोही बन्न बाध्य छिन् उनी । कृषि उत्पादन घटी रहेको छ ।’ अब नेपालले कृषि भूमि रासायनिक मल विषादिको भार बहन गर्न असमर्थ भएको छ । गोवंशमाथिको अत्याचार, उपेक्षाको भूमिमाथि परिरहेको तथ्य छर्लङ्ग छ । हावर्ड जस्ता वैज्ञानिकको मान्यता छ— ‘कृषि अर्थ–व्यवस्थाको उन्नतिको लागि गोवंशको सम्यक् संरक्षण एवं संवर्धन अपरिहार्य छ ।’
गोवंश आधारित खेती अर्थात् गोवंश आधारित जीवनशैली अपनाएर नै समाज र राष्ट्रका सामु देखिएका विकराल समस्याहरू, जस्तै— खाद्य पदार्थमा परनिर्भरता, बेरोजगारी, अस्वस्थ अवस्था, जनशक्ति–पलायन, प्रदूषित पर्यावरण आदिको समाधान सहजताका साथ हुनेछ । यो अक्षरशः सत्य कुरा हो । आज आवश्यकता छ त केवल ग्रामवासी नागरिकहरूलाई गोवंशबाट प्राप्त हुने सबै प्रकारका लौकिक–पारलौकिक लाभहरूसित परिचित गराउन । यसका लागि गाई–गोवंश विज्ञानबारे अनुसन्धान गर्ने, र त्यसबाट प्राप्त तथ्यलाई शिक्षामा समावेश गर्ने साथै गोवंश आधारति कृषि, बजार, स्वास्थ्य र जीवनशैली आदिबारे व्यावहारिक शिक्षा दिने व्यवस्था गरिनु सबैको हितमा हुनेछ ।