आरुबारीमा बुद्धधर्म चक्रदीप गुम्बाको उद्घाटन
भीम लामा,
चैत २७, काठमाडौँ । बौद्ध स्थित आरुबारीमा नवनिर्मित बुद्धधर्म चक्रदीप गुम्बाको उद्घाटन भएको छ । शुक्रबार नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङको प्रमुख आतिथ्यतामा एक विशेष कार्यक्रम गरी सो गुम्बाको उद्घाटन गरिएको हो ।
उद्घाटन कार्यक्रममा भारतबाट बौद्ध धर्मगुरु रिम्पोछे साङ्गे लोड्रो र सिंगापुरबाट खेन्पो लिम्सेपन आउनुभएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहनुभएका घिसिङले गुम्बाले असल आचारणयुक्त व्यक्ति निर्माणमा सहयोग पु¥याउने बताउनुभयो । बौद्ध धर्मलम्वीहरुको आस्थाको रुपमा गुम्बालाई लिने गरेको हुँदा धर्म संस्कृति, रितिरिवाजसंगै असल मानव निर्माणमा महत्वपूर्ण भूमिका खेल्नेमा विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै भारतबाट आउनुभएका गुरु रिम्पोछे साङ्गे लोड्रोले बौद्धधर्म शिक्षालाई संरक्षण र प्रर्वद्धन गर्न गुम्बाले अग्रणी भूमिका खेल्ने बताउनुभयो ।मानव जगतलाई सकारात्मक सोँचको प्रर्वद्धन एवम् संस्कारयुक्त शिक्षा प्रवाह गर्न गुम्बाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
बुद्धधर्म चक्रदीप गुम्बाको प्रमुख धर्मगुरु खेन रिम्पोछे फूर्वादोर्जे लामा तामाङले बौद्ध शिक्षाले मानव प्राणीलाई समाजमा जिउनका लागि शारिरिक तथा मानसिक रुपमा तयार पार्ने र व्यक्तित्व निर्माणमा सहयोग गर्ने बताउनुभयो । धर्म अनुशासनको मार्गदर्शन गर्ने पाटो भएको बताउनुहुदै समाजको हीतका निम्ती काम गर्न सबैलाई सकारात्मक सन्देश प्रवाह गरिने बताउनुभयो । सो गुम्बाबाट मोर्डन शिक्षाको समेत पढाई हुने बताउनुभयो ।
उद्घाटन समारोहमा सिंगापुरबाट खेन्पो लिम्सेपनको टोलीसहित ४० भन्दा बढि बौद्ध भिक्षुहरु आउनुभएको थियो । समारोहसंगै वाङ तथा प्रवचनको कार्यक्रम समेत रहेको थियो । प्रवचन सुन्न र वाङ ग्रहणका लागि भक्तजनहरुको बाग्लो उपस्थिति रहेको थियो ।