जेठ ७, काठमाडौं । सिन्धुली जिल्लाको प्रसिद्ध मन्दिरमध्ये कमलामाई नगरपालिकामा अवस्थित कमलामाई मन्दिर पनि एक हो । कमलामाई नगरपालिका –८, माईखोला कमलामाई मन्दिरको उद्गम स्थल हो । जुन सिन्धुलीमाढीबाट पश्चिमतर्फ करिब १२–१५ किलोमिटरको दुरीमा पर्दछ । हाल बि.पी. राजमार्ग नजिकै देखिने कमलामाई मन्दिर पछि सारिएको हो ।
यस मन्दिरमा विशेषगरी माघ १ गते माघेसंक्रान्तिको दिन मेला लाग्ने र भक्तजनहरुको भिड हुने गर्दछ ।
यो मन्दिर धार्मिक ऐतिहासिक दृष्टिकोणले अत्यन्तै महत्वपूर्ण मानिन्छ । कमलामाई मन्दिर देवीलाई मनोकामना पुरा गर्ने देवीको रूपमा भक्त जनहरूले पुज्ने गर्दछन् ।
परम्पराअनुसार कुनै विघन बाधा निवारण गर्नका लागि र कुनै कामको सफलता प्राप्ति होस भनी पुकार गर्दा कमलामाई देवीलाई पाठी चढाउने भाकल गर्ने भक्त जनहरूमा जन विश्वास रहेको छ । भक्त जनहरू कामना सिद्धि भएमा मकरसंक्रान्तीका दिन मन्दिरमा जाग्राम बसी पाठी बली पनि चढाउने गर्दछन् । यस मन्दिरमा माछाको समेत बली दिइन्छ।
किमदन्ती अनुसार परापूर्वकालमा गंगा र कमला दिदिबहिनी हिँड्दै डुल्दै माईखोला मन्दिरमा आइपुगेछन् । त्यहाँ ब्राम्हणका दम्पती तिल खेति गरेर बसेका थिए । कमला हिँड्ने क्रममा तिलको बोट कान्छि औँलामा अड्केर एउटा बोट उखेलियो । तिल पूजापाठमा चढाउने पवित्र वस्तु भएकाले तिलको बोट उखेलिएपछि कमलाले दिदि गंगासँग आफुले तिलको बोट उखेलेर गरेको गल्तिको क्षमा कसरी हुन्छ भनि सोधखोज गर्दा दिदि गंगाले कमलाले गरेको पापको माफिको लागी ब्राम्हणको घरमा कमारी रुपमा बस्नुपर्छ भन्नुभयो । दिदि गंगाले ब्राम्हणको दम्पतिलाई मेरो बहिनी तपाईको घरमा तपाईहरुको सेवा गरेर बस्छिन् भनेर कारण नबताई कमलालाई त्यही छोडेर फर्किनुहुन्छ। केही समय पछि ब्राम्हणको दम्पति कमलालाई घर जिम्मा लगाएर एकदिन काँसी जाने भनेर हिड्न लाग्दा कमलाले दिदि गंगालाई के पठाइदिउँ भनेर सोच्दा बिहानी पख चामल केलाउँदै गरेकाले चामलको कनिका टालोमा पोका पारेर गंगामा लगेर चढाइदिन अनुरोध गर्नुहुन्छ। गंगाजीमा पुगेर वृद्धवृद्धाले स्नान गरे। ब्राम्हणका दम्पतिले कमलाले गंगाजी मा चढाउनु भनेको चामलको कनिका चढाउन बिर्सिए। स्नान गरेर घर फर्किदा बाटोमा बासबस्दा फेरी गंगाकै किनारमा पुग्छन् । बारम्बार घर आउँन खोज्दा गंगाकै किनारमा पुगेपछि दुई दम्पतिले हामीले केही बिराएर पो यस्तो भएको हो कि भनेर डोकोका सामग्रीहरू खानतलासी गर्दा कनिकाको पोको खसेको थाहा हुन्छ । कमलाले पठाएको कनिका हामीले गंगामा चढाउन पो छुटेर हो कि भनेर दम्पतिले कनिका गंगामा चढाउँदै हामीलाई घर जाने बाटो देखाइदिनु भन्दा गंगाको नदिबाट गंगाजी साक्षत प्रकट भई हात थाप्नुभयो । त्यो देखेर ब्राम्हणका दम्पति पनि चकित भए । गंगाजीले आफुले बहिनी कमलालाई त्यहाँ सेवा गर्ने राख्नुको कारण बताउँदै पाप मोक्षको लागी राखिएको बताउनु भयो । गंगाले अब बहिनी कमलाको पाप मोक्ष भएकाले घर गएर आजात गर्दिनुहुन अनुरोध गर्नुभयो । त्यति सुनेपछि ब्राम्हणका दम्पति घर आएर आफुहरुले गरेको गल्तिको माफि माग्दै पाउँमा पर्छन् । दम्पतिले भगवानलाई कमारीको रुपमा राखेको प्रति पछुताएर पाउँमा परेपछि त्यस बखत कमला साँझमा गाग्रिमा पानी लिएर घरभित्र छिर्न लागेकी हुन्छिन् । कमलाले ब्राम्हणको दम्पतिलाई नआत्तिनु म तपाईहरुलाई पनि लिएर जान्छु भन्दै पानी ढोकामै ढलाएर त्यही ठाउँमा अन्तरध्यान हुनुभयो ।
कमलाको शिरमा तामाको गाग्रीबाटै पानी निस्किएको पुर्खाहरुले बताएको कमलामाई मन्दिर व्यवस्थापन समितीका अध्यक्ष चित्रनारायण श्रेष्ठले जानकारी दिनुभयो ।
वि.सं. १९९० सालको भुकम्पमा चुरे भत्किएर आएर उक्त ठाउँ पुरिएको श्रेष्ठले बताउनु भयो । साथै उहाँले हालसम्म पनि उक्त वस्तिमा तिलको खेति गरिँदैन । अहिले पनि उक्त स्थानमा १०० मिटर वरपर जसरी गाग्रीबाट पानी खन्याउँदा छताछुल्ल हुन्छ, त्यस्तै देखिन्छ । त्यसबेलादेखि कमलाको पूजा आज गर्ने गरिँदै आएको श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार श्री ३ चन्द्र समशेरको पालामा वि.सं. १९६४ मा फौदसिंहले कमलामाई ८ मा माइस्थान मन्दिर स्थापना गरेका थिए । सन् १९७४ मा फौदसिंहका छोरा किर्तीमान कर्णेलले आवतजावतमा समस्या भएकाले हाल मन्दिर रहेको स्थान माइस्थानमा मन्दिर निर्माण गर्न लगाएका थिए । वि.सं. २०७६ सालको वडा दशैको फुलपातिको दिन हात्ति आएर कमलामा स्नान गरेर फर्किएको पनि श्रेष्ठको भनाई छ ।
मन्दिरको गर्भ गृहमा कमलामाई लगायत विभिन्न देवताहरूका मूर्तिहरू रहेका छन् भने माथि थुप्रै घण्टाहरू झुन्डिएका छन् । यस मन्दिर परिसरमा अन्य विभिन्न देव, देवताहरूको साना मन्दिर र मूर्तिहरू लगायत विभिन्न सिला लेख समेत रहेका छन् । मन्दिर व्यवस्थापन र संचालानार्थ श्री कमलामाई मन्दिर व्यवस्थापन समितिको पनि गठन गरिएको छ ।