४ भदौ, काठमाडौँ । उपत्यकासहित देशका विभिन्न स्थानमा गाईजात्रा (सापारु) पर्व धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ नेपाली समाजको एक महत्त्वपूर्ण सांस्कृतिक पर्व हो ।
नेवार संस्कृतिबाट सुरू भएको गाईजात्रा पर्व नेपाली समाजमा व्यङ्ग्य गर्ने अवसरको रूपमा समेत परिचित छ ।
यस पर्वमा नेवार समुदायमा पितृगणको सम्झनामा गाईको रूप धारण गरी टोल-टोल घुम्ने गर्दछन् । अर्थात् एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन छ । यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।
विसं १५१२ मा काठमाडौँका राजा प्रताप मल्लका छोरा चक्रवर्तेन्द्र मल्लको विफरको महामारीमा परेर मृत्यु भएपछि शोकाकुल रानीलाई हाम्रा मात्र होइन, दुनियाँका सन्तान पनि मरेका छन् भनी सान्त्वना दिलाउन जात्रा सुरु गरिएको थियो ।
त्यस बेला विफरले मरेकाको घरबाट आफ्नो दरबार हनुमानढोकासम्म गाईजात्रा गराउन लगाए अनुसार यो यात्रा सुरु भएको इतिहासमा वर्णन गरिएको पाइन्छ । समयक्रममा गाई नहुनेले हसाउँदो भेषभूषामा बालबालिकालाई नै गाईको स्वरुपमा प्रदर्शन गराउँदा यसले हँसाउने जात्राको रुप धारण गरेको भनिन्छ । रासस