२० कार्तिक, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नुपरेकोले दैनिक १० घण्टा बन्द हुने भएको हो ।
विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा र गर्मी याममा काम गर्न नसकिने, त्यसै बेला मनसुन पनि हुने भएकोले कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्यक्षमता अभिवृद्धिका लागि शुरु गर्न लागिएको सो काम विशुद्ध व्यावसायिक भएकाले यसलाई कुनै पनि खालको रणनीति वा राजनीतिक नभएको, हिउँद महिनामा कम उडान हुने भएकाले पनि विमानस्थलको धावनमार्ग स्तरोन्नतिको कामलाई अघि बढाउन लागिएको पनि प्राधिकरणले जनाएको छ ।
अधिकारीले चालु आर्थिक वर्षको अनुमानित आयमा करिब २ अर्ब नोक्शान पर्ने भए पनि विमानस्थलको कार्य क्षमता अभिवृद्धिका लागि सो काम शुरु गर्नुपरेको उल्लेख गर्नुभयो । समानान्तर ट्याक्सी वे निर्माण भएपछि अहिले जस्तो धावनमार्गबाट नै एप्रोनमा जानुपर्ने बाध्यता हट्ने महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले जानकारी दिनुभयो । साथै उहाँले धावनमार्गको स्तरोन्नतिको काममा सबै क्षेत्रका वायुसेवा प्रदायक संस्थाबाट सहमति लिइएको बताउनुभयो ।
रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे निर्माण गरेर सो विमानस्थलको कार्य क्षमता बढाउने काम गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारीले स्पष्टीकरण दिँदै भन्नुभयो, "जहाज ल्याण्ड भएपछि एप्रोनसम्म आउनका लागि हामीसँग समानान्तर ट्याक्सी वे नभएका कारणले गर्दा हामीले रनवे नै प्रयोग गरेर एप्रोनसम्म आउनुपर्छ । यो रनवेमा जहाजले बढी समय लिन्छ । यो ट्याक्सी वे बनेपछि जहाज चाँडै नै ट्याक्सी वे मा निकालेर एप्रोनमा ल्याउँछौँ । त्यो भएपछि रनवेको अकुपेन्सी टाइम घट्ने भयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गको क्षमता २५ प्रतिशतले बढ्ने हाम्रो फोरकाष्ट छ । अहिले गर्न लागेको ठ्याक्कै के हो भने प्यारालल ट्याक्सी वे बनाउने र त्यसलाई रन वे मा जोड्नु पर्यो । त्यो रनवेमा जोड् ने ठाउँमा अहिले हामीले खनेर टयाक्सी वेसम्म लिएर आउने हो । त्यहाँ हामीले खन्नु पर्यो । भोलिपल्ट फेरि बिहान फ्लाइट हुने बेलासम्म रनवेको दायाँबायाँ ७५ मिटर त फेरि सम्म जमिन नै देखाउनु पर्यो । भनेपछि खन्नुपर्यो । त्यसपछि माटो त्यहाँ फिल गर्नुपर्यो । बेस फिल गर्नुपर्यो । त्यसपछि पिच गर्नुपर्यो । भोलिपल्ट हामीले रनवे पनि क्लियर गर्नुपर्यो । होइन भने आईकाओको स्टान्टर्डभित्र नपर्ने भएकाले भोलिपल्ट हामीले एयरपोर्ट फेरि खोल्न सक्दैनौँ । त्यस कारण हामीलाई मिनिमम १० घण्टा चाहिन्छ भन्ने हाम्रो क्याल्कुलेशन हो । त्यो क्याल्कुलेशनअनुसार हामीले एयरपोर्ट ५ महिनाका लागि बन्द गरेको हो ।"
प्राधिकरणले सो स्तरोन्नतिको कामले बाह्य उडान मात्रै नभएर आन्तरिक उडानमा पनि ३० प्रतिशत कटौती हुने बताएको छ । महानिर्देशक अधिकारीले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि सरकारले सस्तोको टिकटको व्यवस्था गरेको पनि स्मरण गराउनुभयो । उहाँले सो अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि करिब ३ वटा अन्तर्राष्ट्रिय वायु यानले उडान भर्ने प्रतिबद्धता जनाएको पनि जानकारी दिनुभयो ।