२२ कार्तिक, काठमाडौं । बागलुङको निरयघाटस्थित कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको हरिबोधिनी एकादशी मेला यस वर्षदेखि पुनस् सुरु गर्ने तयारी गरिएको छ । हरिबोधनी एकादशी मेला संरक्षण समितिका अध्यक्ष रमेश राजभण्डारीले औपचारिक रूपमा करिब २४ वर्षसम्म रोकिएको मेला यस वर्ष यही कात्तिक २७ गते कालीगण्डकी किनार निरयघाटमा हरिबोधनी एकादशी मेला पुनः सञ्चालन गर्न थालिएको हो ।
यस वर्षको हरिबोधनी एकादशी मेला सञ्चालन गर्नका लागि हरि बोधनी एकादशी मेला संरक्षण समिति गठन गरिएको छ ।लामा बाबियो र कुशबाट बनाइने १०८ मिटर लामो तोरण तारिने छ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ । मेलाका लागि तोरण संयोजक, भजन संयोजक, आर्थिक व्यवस्थापन संयोजक, दीप संकलन, गङ्गा पूजन र सरसफाइलगायत कार्यक्रमका लागि उपसमितिसमेत गठन गरिएका छन् ।
मेला, धार्मिक पूजा, तोरण तान्नेलगायतका क्रियाकलाप सञ्चालन गर्न यस वर्षबाट सुरुआत गरिएको उद्योग वाणिज्य सङ्घ बागलुङका अध्यक्ष नरेश कँडेलले जानकारी दिनुभयो । आफ्नो धर्म, संस्कृति र परम्परालाई आगामी दिनमा पर्यटनसँग जोड्नका लागि मेलालाई २४ वर्षपछि निरन्तरता दिन थालिएको उहाँले बताउनुभयो।
विसं २०५७ सालमा जिल्ला प्रशासनलेनै मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न नसकेको बताउनुहुँदै अध्यक्ष राजभण्डारीले भन्नुभयो, “२०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको छैन । एकादशीको दिन कालीगण्डकीमा नुहाउन जाने परम्परा रहे पनि संस्थागत रूपमा मेला सञ्चालन हुननसकेपछि पहिलेकै अवस्थामा मेला आयोजना गर्ने हाम्रो योजना छ । त्यसका लागि बुधबारबाटै कालीगण्डीमा तान्ने तोरण बाट्न सुरु गरिएको छ, उक्त दिन व्यक्तिगत रूपमा समेत तोरण लिएर आउन आग्रह गरिएको छ । बाबियो र कुशबाट बनाइने तोरण एक सय ८ मिटरभन्दा बढी लामो हुनेछ । तोरणलाई वैदिक रूपमा निर्माण गरिनेछ ।”